विद्युत नियमन आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन आह्वान, यस्तो हुनेछ नियुक्ति प्रक्रिया

168
Shares

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत नियमन आयोगको रिक्त रहेको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालय अन्तर्गतको नियुक्ति सिफारिस समितिले बिहीबार एक सूचना प्रकाशित गर्दै आयोगको नेतृत्व र पदाधिकारी चयनको प्रक्रिया अगाडि बढाएको हो ।

सूचना अनुसार आयोगको एक रिक्त अध्यक्ष र चार जना सदस्य पदका लागि आवेदन माग गरिएको छ ।

सदस्य पदका लागि आवेदन दिने चार जनामध्ये कम्तीमा एक जना महिला हुनुपर्ने प्रावधान राखिएको छ ।

विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ५ मा उल्लेख भएबमोजिम आवश्यक न्यूनतम योग्यता र कार्य अनुभव भएका इच्छुक उम्मेदवारहरूले यस पदका लागि प्रतिस्पर्धा गर्न सक्नेछन् ।

इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् आगामी जेठ २१ गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदनका साथमा आवश्यक पर्ने विवरण र कागजातहरू मन्त्रालयको विकास सहायता तथा प्रादेशिक समन्वय महाशाखामा पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

सिफारिस समितिको मिति जेठ ६ को निर्णयअनुसार यो सार्वजनिक सूचना जारी गरिएको सूचनामा उल्लेख छ ।