
काठमाडौँ । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई बैंकिङ नियमन र एकीकृत निर्देशनहरूको उल्लंघन भएको भन्दै कारबाही गरेको छ ।
बैंकको जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणका क्रममा बैंकिङ नियमन र एकीकृत निर्देशनहरूको उल्लंघन भएको पाइएपछि राष्ट्र बैंकले बैंकको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शमशेर जबरालाई सचेत गराउँदै सुधारात्मक कदमका लागि कबुलियतनामा समेत गराएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उनीहरूलाई पहिलोपटक कारबाही गरिएको हो ।
निरीक्षणका क्रममा बैंकले सिमित ऋणीहरूलाई निर्धारित प्रिमियम दरमा ‘ब्याक डेट’ (पछाडिको मिति) देखि लागू हुने गरी छुट प्रदान गरेको र सो रकमलाई बक्यौता ब्याज र साँवा भुक्तानीमा प्रयोग गरेको भेटिएको छ ।
यस्तै, तोकिएको समयसीमापश्चात मात्र ब्याजको १० प्रतिशत रकम प्राप्त गरी कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गरिएको पाइएको छ ।
राष्ट्र बैंकका अनुसार, बैंकले पुनरतालिकीकरण गरिएको कर्जामध्ये भाखा नाघेको किस्ताको साँवालाई मात्र सो वर्गमा राखेर बाँकी साँवा रकमलाई ‘असल कर्जा’ मै वर्गीकरण गरी पर्याप्त ‘कर्जा नोक्सानी व्यवस्था’ (लोन लस प्रोभिजन) कायम नगरेको देखिएको छ ।
यसका अतिरिक्त, केही कर्जाहरूलाई भाखा नाघेको अवधिका आधारमा वर्गीकरण नगरेको, ऋणीहरूको भुक्तानी अवधि अस्थायी रूपमा लामो समयसम्म बढाइएको र ९० दिनभन्दा बढी बक्यौता रहेका ‘फोर्स लोन’लाई समेत खराब कर्जाका रूपमा वर्गीकरण नगरेको राष्ट्र बैंकले जनाएको छ । यी कार्यहरू नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८१ को बर्खिलाप रहेको केन्द्रीय बैंकले जनाएको छ ।
यस प्रकारका नीतिगत उल्लंघन र कमजोरीहरू देखिएपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम बैंकको सञ्चालक समिति र सीईओलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
साथै, ऐनको दफा १०० को उपदफा १ (ख) बमोजिम निर्देशनहरूको उल्लंघन गरेबापत सञ्चालक समितिलाई आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता सहितको ‘कबुलियतनामा’ गराइएको राष्ट्र बैंकले जनाएको छ ।





प्रतिक्रिया