५६ लाख बराबरको भन्सार छलेर ल्याएको भेपसहित ८ जना पक्राउ


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३, गंजेखोलाबाट प्रहरीले ठुलो परिमाणमा अवैध विद्युतीय चुरोट (भेप) सहित आठ जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय कोदारीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा चीनतर्फबाट भन्सार छली लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा ५६ लाख ७० हजार रुपैयाँ बराबरको १ हजार ६२० थान भेप बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जेसी साहले जानकारी दिए ।

उक्त अवैध सामान ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले भोटेकोशी गाउँपालिका-४ का ३५ वर्षीय गणेश खड्का, ४६ वर्षीय हिमाल खड्का, २४ वर्षीय विकाश बिक, ४८ वर्षीय राम बहादुर बिक, १७ वर्षीय विशाल रम्पाल र ३७ वर्षीय मंगल बहादुर थामीलाई नियन्त्रणमा लिएको छ। त्यसैगरी, बाह्रबिसे नगरपालिका-५ बस्ने ४२ वर्षीय कान्छा तामाङ र ३३ वर्षीय कैलाश तामाङलाई पनि प्रहरीले सोही अवैध कार्यमा संलग्न रहेको भन्दै पक्राउ गरेको छ।

बरामद गरिएको सामान र पक्राउ परेका आठै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि तातोपानी भन्सार कार्यालयमा बुझाइएको प्रहरीको भनाइ छ ।