चीन भ्रमणमा ट्रम्पले अर्बपति व्यापारीहरूलाई पनि लग्ने

315
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यसै साता गर्न लागेको चीन भ्रमणमा टेस्लाका इलोन मस्क र एप्पलका टिम कुक लगायत अमेरिकाका ठूला कम्पनीका कार्यकारी प्रमुखहरू सहभागी हुने भएका छन् ।

ह्वाइट हाउसका एक अधिकारीले नाम नबताउने शर्तमा दिएको जानकारी अनुसार, राष्ट्रपति ट्रम्पले आफ्नो प्रतिनिधिमण्डलमा व्यावसायिक जगतका दिग्गजहरूलाई समावेश गरेका छन् ।

यस उच्चस्तरीय भ्रमणमा मस्क र कुकका साथै ब्ल्याकरकका सीईओ ल्यारी फिंक र बोइङका सीईओ केली ओर्टबर्ग पनि सहभागी हुनेछन् । चीनका राष्ट्रपति सी चिनपिङसँगको भेटवार्ताका लागि ट्रम्पको टोलीमा ब्ल्याकस्टोनका स्टिफन श्वार्जम्यान, कारगिलका ब्रायन साइक्स, सिटीग्रुपकी जेन फ्रेजर, कोहेरन्टका जिम एन्डरसन, जीई एरोस्पेसका एच. लरेन्स कल्प जुनियर र गोल्डम्यान स्याक्सका डेभिड सोलोमन रहेका छन् ।

त्यसैगरी, इलुमिनाका ज्याकब थेसेन, मास्टरकार्डका माइकल मिबाच, मेटा प्लेटफर्मकी कार्यकारी दिना पावेल म्याककोर्मिक, माइक्रोन टेक्नोलोजीका सञ्जय मेहरोत्रा, क्वालकमका क्रिस्टियानो अमोन र भिसाका रायन म्याकइनर्नी पनि प्रतिनिधिमण्डलमा समावेश हुने अपेक्षा गरिएको छ ।

यद्यपि, सिस्कोका सीईओ चक रबिन्सलाई ह्वाइट हाउसले निम्तो दिएको भए पनि कम्पनीको आम्दानी प्रतिवेदन सार्वजनिक गर्ने कार्यतालिकाका कारण उनी जान असमर्थ भएको सिस्कोका प्रवक्ताले जानकारी दिएका छन् ।

बेइजिङसँग विभिन्न व्यावसायिक सम्झौता र खरिद सम्झौताहरू गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको बताइएको छ । शिखर सम्मेलनको एजेन्डामा व्यापार, कृत्रिम बुद्धिमत्ता (एआई), निर्यात नियन्त्रण, ताइवान र इरान युद्ध जस्ता महत्त्वपूर्ण र संवेदनशील विषयहरू समावेश हुनेछन् । दुई देशबीच पछिल्ला केही हप्ताहरूमा बढ्दो तनावका बीच यो वार्ता हुन लागेको हो ।

विशेष कुरा के छ भने एनभिडियाका सीईओ जेन्सेन ह्वाङ यसपटकको भ्रमण टोलीमा परेका छैनन् । गत साता सीएनबीसीसँगको अन्तर्वार्तामा ह्वाङले भनेका थिए, ‘राष्ट्रपतिले जे निर्णय गर्नुहुन्छ, हामीले त्यसलाई स्वीकार गर्नुपर्छ । आमन्त्रित गरियो भने अमेरिकाको प्रतिनिधित्व गर्नु मेरो लागि ठूलो सम्मान र सौभाग्यको कुरा हुनेछ ।’

यस्तै, चीनमा ठूलो व्यावसायिक स्वार्थ रहेका जनरल मोटर्स, डिज्नी र अल्फाबेट जस्ता कम्पनीका प्रमुखहरू पनि ह्वाइट हाउसले सार्वजनिक गर्न बाँकी रहेको यस सूचीमा देखिएका छैनन् ।

सिटीग्रुपकी सीईओ जेन फ्रेजरले शुक्रबार सीएनबीसीसँग कुरा गर्दै दुई आर्थिक महाशक्तिहरूबीचको यो संवाद र संलग्नता निकै महत्त्वपूर्ण रहेको बताएकी छन् । उनले भनिन्, ‘मलाई लाग्छ, दुई देशबीचको संलग्नता देखिनु धेरै महत्त्वपूर्ण छ । हामी सबैलाई यसको आवश्यकता छ ।’