ट्रम्प र सीबीच कुन कुन विषयमा हुनेछ वार्ता ?

84
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनपिङबीच यसै हप्ता हुने भेटवार्तामा इरान, ताइवान, कृत्रिम बुद्धिमत्ता (एआई) र आणविक हतियारका विषयमा गम्भीर छलफल हुने भएको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्पको दुई दिने चीन भ्रमणका क्रममा दुर्लभ खनिज पदार्थ सम्बन्धी सम्झौतालाई निरन्तरता दिनेबारे पनि कुराकानी हुनेछ ।

विश्वका यी दुई ठूला अर्थतन्त्रका नेताहरू ६ महिनाभन्दा बढी समयपछि पहिलोपटक आमनेसामने हुन लागेका हुन् । व्यापार, इरानसँग अमेरिका र इजरायलको युद्ध र अन्य असमझदारीका कारण चिसिएको सम्बन्धलाई सुधार्ने उनीहरूको प्रयास रहनेछ ।

ट्रम्प बुधबार बेइजिङ पुग्ने कार्यक्रम छ भने मुख्य वार्ता बिहीबार र शुक्रबार हुनेछ । सन् २०१७ पछि उनी पहिलोपटक चीन भ्रमणमा जान लागेका हुन् ।

यस भेटमा अमेरिका र चीनबीच आपसी व्यापार र लगानी सहज बनाउन विभिन्न मञ्चहरू स्थापना गर्ने सहमति हुन सक्ने अपेक्षा गरिएको छ । त्यस्तै, चीनले अमेरिकी बोइङ विमान, कृषि उत्पादन र ऊर्जा खरिद गर्ने घोषणा गर्न सक्ने अधिकारीहरूले बताएका छन् ।

बोर्ड अफ ट्रेड र बोर्ड अफ इन्भेस्टमेन्ट जस्ता संयन्त्रहरूको औपचारिक घोषणा हुन सक्ने भए पनि तिनलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन अझै केही समय लाग्न सक्ने एक अधिकारीले जानकारी दिए ।

दुवै देशबीच भइरहेको व्यापार युद्धको युद्धविरामलाई लम्ब्याउने विषयमा पनि छलफल हुनेछ जसले चीनबाट अमेरिकामा दुर्लभ खनिजहरूको आपूर्ति सहज बनाउँछ । यो हप्ता नै सम्झौता थपिने निश्चित नभए पनि छलफल भने अघि बढ्नेछ ।

गत शरद ऋतुमा भएको यो सम्झौता अहिले पनि लागू छ र यसलाई पछि भए पनि विस्तार गरिनेमा अमेरिकी अधिकारीहरू ढुक्क छन् । एक अधिकारीले पत्रकारहरूलाई भने, ‘यसको म्याद अहिल्यै सकिहाल्ने होइन । उपयुक्त समयमा हामी यसबारे घोषणा गर्नेछौं ।’

वाशिङटनस्थित चिनियाँ दूतावासले भने यसबारे कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेको छ ।

ट्रम्प र सीबीचको वार्तामा लामो समयदेखि तनावको विषय बनेका ताइवान, आणविक हतियार र इरान जस्ता जटिल मुद्दाहरू पनि उठ्नेछन् ।

चीनको इरानसँग पुरानो सम्बन्ध छ र ऊ इरानी तेलको ठूलो उपभोक्ता पनि हो । फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको यो द्वन्द्व अन्त्य गर्न र तेहरानलाई अमेरिकासँग सम्झौता गराउन चीनले आफ्नो प्रभाव प्रयोग गरोस् भन्ने ट्रम्पको चाहना छ ।

ट्रम्प प्रशासनले रुससँगको व्यापारिक सम्बन्धलाई लिएर पनि चीनमाथि दबाब दिइरहेको छ ।

एक अधिकारीले भने, ‘राष्ट्रपतिले महासचिव सी जिनपिङसँग इरान र रुसको विषयमा पटकपटक कुरा गर्नुभएको छ । चीनले यी दुई देशलाई दिने राजस्व र सैन्य उपयोगमा आउन सक्ने पार्टपुर्जाका विषयमा हाम्रो चासो छ । यो छलफल आगामी भ्रमणमा पनि जारी रहनेछ ।’

उता ताइवानको विषयलाई लिएर सी जिनपिङ वाशिङटनसँग रुष्ट छन् । अमेरिका ताइवानको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय समर्थक र हतियार आपूर्तिकर्ता हो जबकि चीनले ताइवानलाई आफ्नै भूभाग दाबी गर्दै आएको छ ।

चीनले ताइवान वरपर आफ्नो सैन्य उपस्थिति बढाए पनि अमेरिकाको ताइवान नीतिमा कुनै परिवर्तन नहुने अधिकारीले स्पष्ट पारेका छन् ।

ट्रम्पका सल्लाहकारहरूले चीनमा विकसित भइरहेका अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स मोडलहरूबारे पनि चिन्ता व्यक्त गरेका छन् । यसको प्रयोगबाट उत्पन्न हुन सक्ने विवाद कम गर्न दुवै देशबीच सञ्चारको एउटा माध्यम हुनुपर्ने उनीहरूको ठम्याइ छ ।

‘त्यो माध्यम कस्तो हुन्छ भन्ने अझै टुंगो लागेको छैन तर नेताहरूको भेटको अवसर पारेर हामी एआईका विषयमा छलफल गर्ने एउटा बाटो खोल्न चाहन्छौं,’ एक अधिकारीले भने ।

अमेरिकाले लामो समयदेखि आणविक हतियारका बारेमा चीनसँग वार्ता गर्न खोजिरहेको छ तर चीन यसबारे कुरा गर्न इच्छुक देखिएको छैन । चिनियाँ सरकारले निजी रूपमा अमेरिकासँग अहिले आणविक हतियार नियन्त्रणका विषयमा कुनै पनि छलफल गर्न आफूहरूको रुचि नरहेको बताएको छ ।

ट्रम्प र सीबीचको अन्तिम भेट गत अक्टोबरमा दक्षिण कोरियामा भएको थियो । त्यतिबेला उनीहरू व्यापार युद्धलाई केही समयका लागि रोक्न सहमत भएका थिए जसमा अमेरिकाले चिनियाँ सामानमा भारी भन्सार लगाएको थियो र चीनले दुर्लभ खनिजको आपूर्ति रोक्ने धम्की दिएको थियो ।

गत फेब्रुअरीमा अमेरिकी सर्वोच्च अदालतले विश्वभरबाट हुने आयातमा भन्सार लगाउने ट्रम्पको अधिकारलाई सीमित गरिदिएको थियो । यद्यपि, ट्रम्पले अन्य कानुनी बाटो प्रयोग गरेर केही उत्पादनहरूमा पुनः भन्सार लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।