ट्रम्पले इरानको प्रस्ताव नकारेपछि कच्चा तेलको मूल्यमा वृद्धि

154
Shares

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानसँगको द्वन्द्व अझै नसकिएको चेतावनी दिएपछि सोमबार कच्चा तेलको मूल्यमा उछाल आएको छ । यसले पह्चिम एसियामा तनाव पुनः चर्किन सक्ने र ऊर्जा आपूर्तिमा थप संकट आउन सक्ने त्रास बढाएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इजरायलसँगको युद्ध अन्त्यका लागि इरानले राखेको जवाफी प्रस्तावलाई अस्वीकार गरिदिएका छन् । उनले भनेका छन्, ‘मैले भर्खरै इरानका कथित प्रतिनिधिहरूको जवाफ पढें । मलाई यो मन परेन । यो पूर्णतया अस्वीकार्य छ !’

सोमबार बिहानसम्मको तथ्यांक अनुसार, जुन महिनाका लागि डेलिभरी हुने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएटको मूल्य ४.८ प्रतिशतले बढेर प्रति ब्यारल १००.०४ डलर पुगेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय मानक मानिने ब्रेन्ट क्रुडको जुलाई डेलिभरी मूल्य पनि ४.२ प्रतिशतले वृद्धि भई १०५.४९ डलर पुगेको छ ।

फेब्रुअरी २८ मा इरानविरुद्ध अमेरिका र इजरायलको नेतृत्वमा युद्ध सुरु भएयता डब्ल्यूटीआई र ब्रेन्ट दुवैको मूल्य करिब ४० प्रतिशतले बढिसकेको छ ।

आइतबार राति प्रसारित हुने ६० मिनेट्स कार्यक्रमका लागि दिइएको अन्तर्वार्तामा नेतन्याहूले भने, ‘इरानबाट अझै आणविक सामग्री र संवर्धित युरेनियम बाहिर निकाल्न बाँकी नै छ । त्यहाँका आणविक केन्द्रहरू भत्काउनुछ, इरानले समर्थन गर्ने लडाकु समूहहरूलाई ठेगान लगाउनुछ र उनीहरूको ब्यालिस्टिक मिसाइल निर्माण गर्ने चाहनालाई रोक्नुछ । अझै धेरै काम गर्न बाँकी छ ।’

उनलाई सोधियो– अमेरिका र इजरायलले ती आणविक सामग्री कसरी बाहिर निकाल्छन् ? नेतन्याहूले छोटो जवाफ दिए, ‘हामी भित्र पस्छौं र ती सामग्री बाहिर निकाल्छौं ।’

सिटी बैंकका विश्लेषकहरूले आफ्नो पछिल्लो प्रतिवेदनमा इरान र अमेरिकाबीच कुनै सम्झौता हुन सकेन भने तेलको मूल्य अझै बढ्न सक्ने उल्लेख गरेका छन् । यद्यपि, हाल बजारमा रहेको तेलको मौज्दात, रणनीतिक भण्डारबाट गरिएको आपूर्ति र विकासोन्मुख देशहरूमा घटेको मागले मूल्यलाई केही हदसम्म थामेर राखेको उनीहरूको भनाइ छ ।

सिटीका अनुसार, तेलको मूल्य बढ्ने जोखिम अझै उच्च छ किनकि व्यापारका लागि निकै महत्त्वपूर्ण मानिने हर्मुज जलयोजक खोल्ने समय र शर्तहरूमा इरानकै पकड बलियो छ । उनीहरूले मे महिनाको अन्त्यसम्ममा यो मार्ग खुल्ने सम्झौता हुन सक्ने अनुमान गरे पनि यो समय अझै लम्बिन सक्ने जोखिम कायमै रहेको बताएका छन् ।

स्पार्टा कमोडिटिजका प्रमुख कार्यकारी फेलिप एलिंक शूरम्यानले अहिलेको बजारको अवस्थालाई कोरोना महामारीको समयसँग तुलना गरेका छन् ।

उनले भने, ‘सन् २०२० मा हामीले औसतमा दैनिक ९० लाख ब्यारल तेलको माग गुमाएका थियौं । अहिले आपूर्तिमा पनि ठ्याक्कै त्यति नै परिमाणको अभाव देखिएको छ । त्यसैले अब बजारले माग घटाएरै यसलाई सन्तुलनमा ल्याउनुपर्नेछ ।’

उनले थपे, ‘अब प्रश्न यो हो कि यो माग कहाँ घट्छ ? दुर्भाग्यवश, धनी देशहरूले महँगो मूल्य तिर्नेछन् । कच्चा तेलको मूल्य प्रति ब्यारल २०० डलर नपुगे पनि उपभोक्ताले प्रयोग गर्ने इन्धनको मूल्य भने त्यही स्तरमा पुग्न सक्छ । यसको परिणामस्वरूप, गरिब देशहरूमा मानवीय संकट, युरोपमा आर्थिक संकट र अमेरिकामा राजनीतिक संकट निम्तिने देखिन्छ ।’