
एजेन्सी । इरान विरुद्धको आफ्नो हवाई अभियानलाई सहयोग पुर्याउन इजरायलले इराकी मरुभूमिमा एउटा गुप्त सैन्य चौकी स्थापना गरेको र त्यसलाई पत्ता लगाउनै लागेका इराकी सैनिकहरूमाथि हवाई हमला गरेको वाल स्ट्रिट जर्नलले शनिबार अमेरिकी अधिकारीहरू सहित यस मामिलाका जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।
इरानविरुद्ध अमेरिका–इजरायल युद्ध सुरु हुनुभन्दा ठीक अघि इजरायलले अमेरिकाको जानकारीमा उक्त संरचना निर्माण गरेको थियो जसमा विशेष बल राखिएको थियो । यसले इजरायली वायुसेनाको लागि बन्दोबस्ती केन्द्रको रूपमा काम गरेको समाचारपत्रले उल्लेख गरेको छ । यसमा इजरायली विमान खसालिएको अवस्थामा पाइलटहरूलाई सहयोग गर्न खोज तथा उद्धार टोलीहरू पनि राखिएको जर्नलले बताएको छ ।
स्थानीय गोठालाले उक्त क्षेत्रमा हेलिकप्टरको चालचुलसहित असामान्य सैन्य गतिविधिको रिपोर्ट गरेको इराकी सरकारी सञ्चारमाध्यमले बताएपछि मार्चको सुरुमा उक्त सैन्य अखडा लगभग पत्ता लाग्नै लागेको थियो ।
छानबिनका लागि इराकी सैनिकहरू पठाइएको थियो तर इजरायली सेनाले उनीहरूलाई टाढै राख्न र उक्त स्थान पत्ता लाग्नबाट जोगाउन हवाई हमला गरेको स्रोतलाई उद्धृत गर्दै पत्रिकाले जनाएको छ ।
जर्नलले मार्चको अन्त्यतिर संयुक्त राष्ट्रसंघमा दर्ता गरिएको एउटा उजुरीलाई उद्धृत गरेको छ जसमा इराकले उक्त आक्रमणमा विदेशी सेना र हवाई हमला संलग्न रहेको र यसको जिम्मेवार अमेरिका रहेको बताएको थियो । वाल स्ट्रिट जर्नलले यस मामिलाका एक जानकार व्यक्तिलाई उद्धृत गर्दै उक्त आक्रमणमा अमेरिका संलग्न नभएको बताएको छ ।









प्रतिक्रिया