अमेरिका–इरानबीच हर्मुज जलडमरूमध्यमा तनाव बढेपछि तेलको मूल्य फेरी उकालो लाग्यो

154
Shares

काठमाडौं । अमेरिका र इरानबीच रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य क्षेत्रमा गोली हानाहान भएपछि अन्तर्राष्ट्रिय बजारमा शुक्रबारदेखि तेलको मूल्य बढेको छ।

अमेरिकाले आफ्ना जहाजहरू खाडी क्षेत्रबाट बाहिरिने क्रममा इरानले ‘उक्साहटरहित हमला’ गरेको भन्दै आत्मरक्षाका लागि प्रतिकारात्मक आक्रमण गरेको जनाएको छ। यता, इरानले भने अप्रिलमा भएको युद्धविराम अमेरिकाले उल्लंघन गरेको आरोप लगाएको छ।

विश्व बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य एक समय झण्डै ३ प्रतिशतले बढेर प्रतिव्यारेल १०३ डलरसम्म पुगेको थियो। पछि केही घटेर करिब १०० डलरमा झरेको छ। युद्ध सुरु हुनुअघि तेलको मूल्य करिब ७० डलर प्रतिव्यारेल थियो।

यद्यपि तनाव बढे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरानबीचको युद्धविराम अझै कायम रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत तीन अमेरिकी विनाशकारी युद्धपोत घटनामा संलग्न रहेको जानकारी दिएका छन्। ट्रम्पका अनुसार इरानका केही साना डुंगाहरू पूर्ण रूपमा ध्वस्त पारिएका छन् भने अमेरिकी जहाजतर्फ प्रहार गरिएका मिसाइल सजिलै निष्क्रिय बनाइएको थियो।

तर, उनले इरानमाथिको कारबाहीलाई “सामान्य चेतावनी मात्र” भएको टिप्पणी गरेका छन्।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अहिले अवस्था ‘सामान्यतर्फ फर्किएको’ छ। इरानको सैन्य पक्षले अमेरिकाले आफ्ना जहाज तथा तेल ट्यांकरहरूलाई निशाना बनाएर युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ। जलडमरूमध्य नजिकैको तटीय क्षेत्रमा हवाई आक्रमण भएपछि जवाफी कारबाहीस्वरूप अमेरिकी सैन्य जहाजमाथि आक्रमण गरिएको र ‘ठूलो क्षति’ पुर्‍याइएको दाबी इरानले गरेको छ।

तर अमेरिकी सेनाले आफ्ना जहाजमा कुनै क्षति नभएको जनाएको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले पनि द्वन्द्व थप चर्काउने उद्देश्य नरहेको स्पष्ट पारेको छ।

विश्वको करिब पाँचौं भाग तेल तथा ग्यास आपूर्ति हुने हर्मुज जलडमरूमध्य अमेरिका–इजरायल र इरानबीचको युद्ध सुरु भएयता प्रभावकारी रूपमा अवरुद्ध हुँदै आएको छ। उक्त युद्ध फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि सुरु भएको थियो।

यसैबीच, ट्रम्पले इरानसँग वार्ता जारी रहेको र तेहरानले कहिल्यै परमाणु हतियार राख्न नपाउने अमेरिकी अडान दोहोर्‍याएका छन्।

‘वार्ता निकै राम्रो भइरहेको छ, तर सम्झौता नभए उनीहरूले धेरै पीडा भोग्नुपर्नेछ,’ ट्रम्पले पत्रकारहरूसँग भनेका छन्। मलाई लाग्छ उनीहरूलाई सम्झौता मभन्दा बढी चाहिएको छ।’

तनावका कारण तेल मात्रै होइन, जेट इन्धनको मूल्य पनि तीव्र रूपमा बढेको छ। जेट इन्धनको मूल्य करिब ५० प्रतिशतले बढेको बताइएको छ।

इन्टरनेशनल एयरलाइन्स ग्रुपले यस वर्ष इन्धन खर्च ९ अर्ब युरोसम्म पुग्ने अनुमान गरेको छ, जुन गत वर्षको तुलनामा करिब २ अर्ब युरो बढी हो। कम्पनीले वर्षको बाँकी अवधिका लागि करिब ७० प्रतिशत इन्धनको मूल्य पहिल्यै तय गरिसकेको र मुख्य बजारहरूमा इन्धन आपूर्तिमा कुनै समस्या नरहेको जनाएको छ।

तर लण्डन बजारमा कम्पनीको शेयर मूल्य शुक्रबार प्रारम्भिक कारोबारमै ५ प्रतिशतभन्दा बढीले घटेको थियो।

लगानी प्लेटफर्म आईजीका प्रमुख बजार विश्लेषक क्रिस ब्युच्याम्पका अनुसार युद्धविराम अझै ‘कमजोर’ अवस्थामै रहेको भन्दै बजारले सतर्क प्रतिक्रिया जनाएको छ। उनले वार्ता सुरु भए पनि पूर्ण समाधान अझै टाढा रहेको टिप्पणी गरेका छन्।