
एजेन्सी । सन् २०२५ मा सुन र चाँदीको मूल्यलाई ऐतिहासिक उचाइमा पुर्याएको वृद्धिको लहर अमेरिका–इरान शान्ति सम्झौता भएमा पुनः सुरु हुन सक्ने बजार विश्लेषकहरूले बताएका छन् । बिहीबार बजारमा यी धातुहरूको मूल्य बढ्दो क्रममा देखिएपछि उनीहरूले यस्तो टिप्पणी गरेका हुन् ।
बिहीबार बिहान ६९ दिन लामो युद्ध अन्त्यका लागि अमेरिका र इरान सम्झौताको नजिक पुगेको आशाका बीच स्पट गोल्डको मूल्य १.२ प्रतिशतले बढेर प्रति औंस ४७ सय ५० डलर पुगेको छ । अमेरिकी सुनको फ्युचर्स पनि १.२ प्रतिशतले बढेर करिब ४७ सय ५० डलरमा स्थिर भएको छ ।
यसैबीच स्पट सिल्भर ३ प्रतिशतले बढेर ७९.६२ डलर प्रति औंसमा कारोबार भएको छ भने जुलाईका लागि चाँदीको फ्युचर्स ३.९ प्रतिशतले बढेको छ ।
सुन र चाँदी दुवैका लागि सन् २०२५ ऐतिहासिक वृद्धिको वर्ष रह्यो जसमा सुन ६६ प्रतिशत र चाँदी १३५ प्रतिशतले बढेका थिए । यद्यपि, सन् २०२६ मा यी धातुहरूको कारोबारमा निकै उतारचढाव देखिएको छ ।
जनवरीको अन्त्यमा चाँदीको फ्युचर्सले सन् १९८० को दशकयताकै सबैभन्दा ठूलो एकल दिने गिरावट बेहोरेको थियो भने सुनको मूल्य पनि जनवरीको उच्च विन्दुबाट १० प्रतिशतभन्दा बढीले घटेको थियो ।
फेब्रुअरी २८ मा अमेरिका–इरान युद्ध सुरु भएयता संकटको समयमा सुनलाई मानिने सुरक्षित लगानीको छविमा दबाब परेको छ । ब्याजदर बढ्न सक्ने सम्भावना, तेलको मूल्यवृद्धिका कारण बलियो बनेको अमेरिकी डलर र व्यापारीहरूले आफ्नो पोजिसनबाट बाहिरिने निर्णयले सुनको मूल्य घटाउन भूमिका खेलेको मेटल्स डेलीका सीईओ रोस नर्मनले बताए ।
उनका अनुसार, सुन युद्धमा प्रवेश गर्दा नै ओभरबट (अत्यधिक खरिद गरिएको) अवस्थामा थियो । त्यसले गर्दा व्यापारीहरूलाई नाफा सुरक्षित गर्न र सेयर बजारको घाटा पूर्ति गर्न सुन बेच्ने बहाना मिल्यो ।
इन्डोसुएज वेल्थ म्यानेजमेन्टका फ्रान्सिस ट्यानले पनि मार्चको बजार अस्थिरताका बेला लगानीकर्ताहरूले सेयर बजारको घाटा कम गर्न सुनको नाफा प्रयोग गरेको बताए ।
युद्धका क्रममा सुनको मूल्य तेलको मूल्य र अमेरिकी डलरको विपरीत दिशामा चलिरहेको थियो । नर्मनका अनुसार, शान्ति सम्झौता भएमा यी अवरोधहरू हट्नेछन् र सुन तथा चाँदीको मूल्यमा लागेको ह्यान्डब्रेक खुले जस्तै हुनेछ ।
बीएनपी परिबास फोर्टिसका मुख्य रणनीति अधिकारी फिलिप गिजसेल्स सुन र चाँदीको भविष्यप्रति अझै पनि सकारात्मक छन् । उनले हालको मूल्य गिरावटलाई केवल मजबुतीकरणको चरण मानेका छन् ।
‘यसपटक बहुमूल्य धातुहरू र सेयर बजारबीच बलियो सम्बन्ध देखिएको छ । दुवै मुद्रास्फीतिले ब्याजदर बढाउने डरबाट प्रभावित भएका थिए,’ गिजसेल्सले भने, ‘हाम्रो संसारमा ब्याजदर गुरुत्वाकर्षण जस्तै हो । जब ब्याजदर बढ्छ, गुरुत्वाकर्षण बढ्छ र बहुमूल्य धातुहरू लगायत सबै सम्पत्तिहरूलाई तल तान्छ ।’
इरान युद्ध लम्बिएपछि धेरै केन्द्रीय बैंकहरूले महँगो ऊर्जाको प्रभाव रोक्न ब्याजदर बढाउने अपेक्षा गरिएको थियो । तर, बुधबार अमेरिका र इरान शान्ति सम्झौताको नजिक रहेको खबर आएपछि बजारमा उत्साह फर्किएको छ । गिजसेल्सले अब सुन र चाँदीको मूल्यले निकट भविष्यमै, सम्भवतः यसै वर्ष, नयाँ ऐतिहासिक रेकर्ड कायम गर्ने अपेक्षा गरेका छन् ।
उनका अनुसार, केन्द्रीय बैंकहरू र सरकारहरूले अमेरिकी डलरबाट टाढा रहेर सुनमा लगानी विविधीकरण गरिरहनेछन् । ‘जब युद्धको बादल हट्नेछ, लगानीकर्ताहरू फेरि सुन र चाँदीको बजारमा फर्किनेछन्,’ उनले थपे ।
सोलोमन ग्लोबलका प्रबन्ध निर्देशक पल विलियम्सले पनि चाँदीको मूल्यका आधारभूत पक्षहरू अझै बलियो रहेको बताए । ‘भौतिक चाँदीको आपूर्ति अझै कम छ जबकि हरित प्रविधिबाट यसको माग उच्च छ । अमेरिका–इरान द्वन्द्वले सौर्य ऊर्जाको रणनीतिक महत्त्वलाई अझ प्रस्ट पारेको छ । एआईसँग सम्बन्धित माग पनि बढ्दो छ जसले आपूर्ति र मागको सन्तुलनमा दबाब थपेको छ ।’
चाँदीको प्रयोग कम्प्युटर, मोबाइल फोनदेखि सौर्य प्यानल र कारसम्मका धेरै औद्योगिक क्षेत्रमा हुन्छ । विलियम्सका अनुसार, शान्ति सम्झौता भएमा औद्योगिक माग र लगानीकर्ताको उत्साहले चाँदीलाई फाइदा पुग्नेछ । वार्ता असफल भएमा सुनले सुरक्षित लगानीका रूपमा नेतृत्व गर्नेछ तर चाँदीको सीमित आपूर्तिका कारण यसको मूल्य पनि छिट्टै बढ्नेछ ।
लगानीकर्ताहरूले परम्परागत वित्तीय प्रणालीभन्दा बाहिरको भौतिक सम्पत्ति खोज्ने क्रम जारी राख्दा यी धातुहरूको मूल्यलाई दीर्घकालीन समर्थन मिल्ने देखिन्छ ।









प्रतिक्रिया