
एजेन्सी । एप्पलले मे ७ मा भारतमा नयाँ स्वच्छ ऊर्जा क्षमता निर्माण गर्न १०० करोड भारु लगानी गर्दै आफ्नो नवीकरणीय ऊर्जा पूर्वाधार विस्तार गर्ने घोषणा गरेको छ ।
यो प्रविधि दिग्गजले १५० मेगावाटभन्दा बढी हरित ऊर्जा क्षमता विकास गर्ने योजना बनाएको छ । यसले प्रदूषण घटाउन र देशमा हरित उद्यमशीलतालाई प्रोत्साहन गर्न मद्दत गर्नेछ ।
यस पहल अन्तर्गत एप्पलले देशभर नयाँ नवीकरणीय ऊर्जा क्षमता विकास गर्न नवीकरणीय ऊर्जा विकासकर्ता क्लिनम्याक्ससँग साझेदारी गरिरहेको छ । यसले सन् २०३० सम्ममा आफ्नो सम्पूर्ण कार्यक्षेत्रमा कार्बन तटस्थता हासिल गर्ने कम्पनीको लक्ष्यलाई पनि सहयोग गर्छ ।
एप्पलकी वातावरण र आपूर्ति श्रृंखला नवप्रवर्तन उपाध्यक्ष सारा चन्डलरले भनिन्, ‘एप्पलमा वातावरणप्रतिको हाम्रो प्रतिबद्धता कम्पनीभरि र विश्वभरि नै नवप्रवर्तनका लागि एक प्रेरक शक्ति हो । भारतको स्वच्छ ऊर्जा अर्थतन्त्रमा लगानी गर्न र देशको बहुमूल्य प्राकृतिक स्रोतहरूको संरक्षण गर्ने हाम्रा प्रयासहरूलाई विस्तार गर्न पाउँदा हामी गर्व गर्छौं ।’
एप्पलको प्रेस नोट अनुसार, उक्त लगानी १५० मेगावाटभन्दा बढी नयाँ नवीकरणीय ऊर्जा क्षमताको विकासका लागि प्रयोग गरिनेछ । यसले प्रतिवर्ष १ लाख ५० हजारभन्दा बढी औसत भारतीय घरधुरीलाई बिजुली उपलब्ध गराउन सक्छ ।
कम्पनीले भारतमा आफ्नो आपूर्ति श्रृंखलामा नवीकरणीय ऊर्जा विस्तार गर्ने प्रयासहरूलाई बढाउने योजना पनि बनाएको छ । यसअघि यसले भारतमा आफ्ना कार्यालय र रिटेल स्टोरहरूलाई १०० प्रतिशत नवीकरणीय ऊर्जाबाट सञ्चालन गर्न रुफटप सोलर (छतमा राखिने सौर्य ऊर्जा) आयोजनाहरू ल्याउन क्लिनम्याक्ससँग सहकार्य गरेको थियो ।
एप्पलले पुनःप्राप्तिमा केन्द्रित पुनर्चक्रण र फोहोर व्यवस्थापन पहलहरूलाई सहयोग गर्न डब्लुडब्लुएफ–इन्डिया नामक संरक्षण संस्थासँग सहकार्य गरेको छ । यसले गोवामा फोहोर व्यवस्थापनको अग्रणी संस्था साहस जिरो वेस्टसँगको डब्लुडब्लुएफ–इन्डियाको सहकार्यको मोडललाई पनि लागू गरेको छ ।
यसको उद्देश्य पूर्ण रूपमा पछ्याउन सकिने विधिबाट पुनर्चक्रण गर्न मिल्ने सामग्रीहरू संकलन, वर्गीकरण र पुनःप्राप्ति गर्ने सुविधाहरू स्थापना गर्नु हो । यसले वरपरको पारिस्थितिक प्रणालीमा प्लास्टिक चुहावट हुनबाट रोक्नेछ ।
एप्पलले डब्लुडब्लुएफ–इन्डियाले स्थानीय समुदाय र अधिकारीहरूको सहयोगमा कोयम्बटूर लगायतका क्षेत्रहरूमा आफ्नो फोहोर व्यवस्थापन पहलहरू विस्तार गरिरहेको बताएको छ । कम्पनीले फोहोर व्यवस्थापन, चक्रीय अर्थतन्त्र (सर्कुलर इकोनोमी) र पुनरुत्पादक कृषि (रिजेनरेटिभ एग्रिकल्चर) मा काम गर्ने ६ वटा हरित स्टार्टअपहरूलाई सहयोग गर्न एक्युमेनसँग पनि साझेदारी गरेको छ ।









प्रतिक्रिया