दोस्रो चरणको आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धनमा अध्यक्ष ढकालको जोड

0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको मनोबल उच्च राख्न दोस्रो चरणको आर्थिक सुधारको प्रक्रिया तत्काल अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

महासङ्घको ६०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट मात्रै वर्तमान आर्थिक चुनौतीहरू सामना गर्न सकिने बताए ।

सम्बोधनका क्रममा अध्यक्ष ढकालले मन्त्रिपरिषद्को पहिलो बैठकले महासङ्घकै अग्रसरतामा तयार पारिएको ‘निजी क्षेत्र प्रवर्द्धन एवं संरक्षण रणनीति पारित गरी लागू गर्ने निर्णय गरेकोमा सरकारप्रति आभार व्यक्त गरे ।

यसले निजी उद्यमीहरूलाई नीतिगत सुरक्षाको प्रत्याभूति दिने र लगानीको वातावरण सुधार गर्न मद्दत पुग्ने उनको विश्वास छ ।

अध्यक्ष ढकालले २०४८ सालपछि सुरु भएको आर्थिक सुधारको जगमा अहिलेसम्मको अर्थतन्त्र टिकेको भन्दै अब समयसापेक्ष नयाँ सुधारको आवश्यकता रहेको औँल्याए । महासङ्घकै सुझावमा सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने प्रक्रिया अघि बढाएकोमा खुसी व्यक्त गर्दै उनले कानुनको संशोधन, परिमार्जन र खारेजीमार्फत लगानीमैत्री वातावरण बनाउन आग्रह गरे ।

नेपालमै पुँजी संकलन गरी ठूला आयोजना सञ्चालन गर्ने उद्देश्यले महासङ्घको अगुवाइमा १० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ कम्पनी स्थापना भई काम सुरु भइसकेको जानकारी ढकालले दिए ।

‘नेपालमा केही हुँदैन भन्ने नकारात्मक भाष्य चिर्न र स्वदेशी पुँजी परिचालन गरी ठूला आयोजनाहरू अघि बढाउन यो कम्पनी कोसेढुङ्गा सावित हुनेछ,’ उनले भने ।

अध्यक्ष ढकालले मुलुकबाट वार्षिक ७ लाख युवा कामको खोजीमा बिदेसिने गरेको तथ्य प्रस्तुत गर्दै निजी क्षेत्रले ८६ प्रतिशत रोजगारी प्रदान गरिरहेको अवस्थामा सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने बताए ।

उनले दक्षिण कोरिया र नेपालको ६० वर्षअघिको प्रतिव्यक्ति आय तुलना गर्दै नेपालले विकासको गतिमा छिमेकी मुलुकहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती रहेको उल्लेख गरे । विश्व परिस्थिति र मध्यपूर्वमा देखिएको संकटले पर्यटन क्षेत्र र रेमिट्यान्समा पार्न सक्ने प्रभावप्रति उनले सचेत गराए ।

इन्धनको मूल्य वृद्धि र बढ्दो लागतले उद्योग व्यवसाय संकटमा पर्न सक्ने भन्दै उहाँले आन्तरिक अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सरकारको ध्यानाकर्षण गराए ।

महासङ्घले यस वर्ष ‘सुशासन’ लाई मुख्य थिम बनाएको जानकारी दिँदै ढकालले प्रविधिको उच्चतम प्रयोग (आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल प्लेटफर्म) मार्फत व्यावसायिक दर्तादेखि अन्य प्रक्रियाहरू सहज बनाउनुपर्ने माग गरे ।

नागरिक एपबाटै व्यवसाय दर्ता र नवीकरण हुने वातावरण मिलाउन उनले सरकारलाई आग्रह गरे । अध्यक्ष ढकालले महासङ्घ स्थापना भएको वर्ष र आफ्नो जन्म वर्ष एउटै भएको संयोग सुनाउँदै एक ग्रामीण क्षेत्रको सामान्य पृष्ठभूमिबाट आएको व्यक्ति महासङ्घको नेतृत्वमा पुग्नुले नेपालमा सम्भावना छ भन्ने पुष्टि गरेको बताए ।

महासङ्घको यस साधारणसभाले आगामी दिनमा निजी क्षेत्रको सम्मान र समृद्धिको आधार तयार पार्ने विश्वास व्यक्त गर्दै उनले सबै उद्यमीहरूलाई सकारात्मक सोचका साथ अघि बढ्न आह्वान गरे ।