
एजेन्सी । दी एक्सप्रेस ट्रिब्युनका अनुसार, पाकिस्तानको ग्वादर फ्री जोनमा सञ्चालित एक चिनियाँ कम्पनीले काम गर्न नसकिने व्यावसायिक वातावरण र बढ्दो आर्थिक घाटाको कारण देखाउँदै शुक्रबार आफ्नो कारखाना बन्द गरेको छ र सबै कर्मचारीहरूलाई बर्खास्त गरेको छ ।
हानगेङ ट्रेड कम्पनीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बन्दको घोषणा गर्दै एक आधिकारिक विज्ञप्तिमा गैर–व्यावसायिक कारकहरू र सञ्चालनमा आएका कठिनाइहरूले गर्दा निरन्तर व्यावसायिक सञ्चालन असम्भव भएको बताएको छ ।
अन्तर्राष्ट्रिय निर्यात मापदण्डहरू पूरा गरे पनि आफ्ना सामानका खेपहरू रोकिएको र यसले गर्दा व्यवसाय निरन्तर घाटामा गएको कम्पनीले जनाएको छ । समस्या समाधानका लागि विगत तीन महिनादेखि अधिकारीहरूसँग सम्पर्कमा रहे पनि कुनै समाधान ननिस्किएको कम्पनीले थप स्पष्ट पारेको छ ।
फलस्वरूप, सञ्चालन बन्द गर्न बाध्य भएको कम्पनीको दाबी छ । हानगेङ ट्रेड कम्पनीले बन्द गर्नुअघि कर्मचारीहरूको तीन महिनाको तलब, जरिवाना, बिजुलीको बिल र कन्टेनर विलम्ब शुल्क सहित सबै बक्यौता दायित्वहरू भुक्तानी गरेको जनाएको छ ।
कम्पनीले पाकिस्तान र चीन निकट साझेदार रहेको कुरामा जोड दिँदै ग्वादर चीन–पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) पहल अन्तर्गतको एक प्रमुख आयोजना भएको उल्लेख गरेको छ । आफ्नो लगानी द्विपक्षीय सहयोगको भावना अनुरूप गरिएको भए पनि व्यवसाय टिकाउनका लागि स्पष्ट र काम गर्न सकिने नीतिगत वातावरण आवश्यक रहेकोमा उसले जोड दिएको छ ।
कम्पनीले पाक–चीन आर्थिक सहयोगलाई समर्थन गरेकोमा पाकिस्तान सरकार र योजना मन्त्रालयलाई धन्यवाद दिँदै सम्भावित लगानीकर्ताहरूलाई ग्वादरका आयोजनाहरूसँग सम्बन्धित अनिश्चितताहरूको सावधानीपूर्वक मूल्यांकन गर्न सचेत गराएको छ ।
समाचारमा उल्लेख भएअनुसार, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफको यसै महिनाको अन्त्यमा हुने चीन भ्रमण र बिजनेस–टु–बिजनेस लगानी मञ्चको पूर्वसन्ध्यामा भएको यो घटनाले लगानीकर्ताको मनोबल र यस क्षेत्रमा विदेशी लगानीमा सञ्चालित उद्यमहरूको भविष्यप्रति नयाँ चिन्ता जगाएको छ ।
अहिलेको परिस्थितिमा रोजगारीलाई निरन्तरता दिन नसकिने भन्दै कम्पनीले कर्मचारी कटौतीप्रति खेद व्यक्त गरेको छ ।









प्रतिक्रिया