
एजेन्सी । अहिले विश्व बजारमा अमेरिकी डलरको मृत्यु सम्बन्धी बहसले प्राथमिकता पाइरहेको छ ।
हर्मुज जलयोजकमा जारी युद्ध, इरान–इजरायल द्वन्द्व, ब्रिक्स राष्ट्रहरूले चिनियाँ युआनमा तेलको व्यापार गर्ने चर्चा र बिटकोइनको बढ्दो उपयोगले धेरैलाई एउटै निष्कर्षमा पुर्याएको छः ‘अमेरिकी डलरको दिन अब सकियो ।’
तर, तथ्यांक र बैंकिङ संयन्त्रको गहिरो विश्लेषण गर्ने हो भने यो निष्कर्ष अधुरो मात्र होइन, गलत दिशातिर मोडिएको देखिन्छ ।
डलरको वर्चस्व ढल्दैछ भन्नेहरूले केवल पेट्रोडलर र अमेरिकी जलसेनाको शक्तिको ठूलो स्वर मात्र सुनिरहेका छन् ।
उनीहरूले डलरको मेरुदण्डका रूपमा रहेको युरोडलरको शान्त शक्तिलाई नजरअन्दाज गरिरहेका छन् ।
लोकप्रिय धारणा के छ भने अमेरिकाको जलसेनाले खाडी क्षेत्रको सुरक्षा गर्छ, साउदी अरबले डलरमा तेल बेच्छ र त्यो नाफा अमेरिकी ट्रेजरीमा लगानी गर्छ । अमेरिकाले खाडीबाट सेना हटायो वा साउदीले अन्य मुद्रामा तेल बेच्न थाल्यो भने डलरको मृत्यु हुनेछ ।
यो कथा सुन्नमा निकै स्पष्ट र तार्किक लाग्छ तर इतिहासले अर्कै कुरा भन्छ । सन् १९७० को दशकमा साउदी अरबले डलरमा तेलको मूल्य तोक्नुको कारण अमेरिकाले दबाब दिएर मात्र थिएन । बरु त्यसबेला विश्वव्यापी बैंकिङ प्रणालीमा डलरको सञ्जाल पहिले नै गहिरोसँग गाडिएको थियो ।
सन् १९५० को दशकदेखि नै लन्डनका बैंकहरूले आफ्नै वासलातमा डलर सिर्जना गर्न थालिसकेका थिए । पेट्रोडलरले यो प्रणाली बनाएको नभई पहिलेदेखि नै रहेको शक्तिशाली प्रणालीले पेट्रोडलरलाई आफूभित्र समाहित गरेको मात्र हो ।
अहिलेको विश्व अर्थतन्त्रलाई चलायमान बनाउने मुख्य तत्त्व युरोडलर हो । युरोडलर भनेको अमेरिका बाहिरका बैंकहरू (लन्डन, टोकियो, फ्रान्कफर्ट, केम्यान टापुसमूह) ले सिर्जना गर्ने अमेरिकी डलर हो ।
यसका लागि अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ वा अमेरिकाको अर्थ मन्त्रालयको अनुमति चाहिँदैन । विश्वको जुनसुकै कुनामा रहेको बैंकले आफ्नो वासलातमा डलर अंकित ऋण वा निक्षेप देखाउन सक्छ ।
तथ्यांक अनुसार, सन् २०२५ को तेस्रो त्रैमासिकसम्ममा अमेरिका बाहिर करिब १४ ट्रिलियन डलर बराबरको डलर क्रेडिट (ऋण) रहेको छ । तुलनात्मक रूपमा अमेरिकाभित्रै रहेका डलर निक्षेपहरू करिब १९ ट्रिलियन डलर छन् । यसको अर्थ, विश्वमा रहेका कुल डलरको करिब ४० प्रतिशत हिस्सा अमेरिका बाहिर सिर्जना हुन्छ ।
कुनै पनि अन्य मुद्रा यस स्तरको नजिक पनि छैनन् । अमेरिका बाहिर युरो करिब ३०० खर्ब मात्र छ भने चिनियाँ युआनको उपस्थिति त झन् नगण्य छ । डलरको वास्तविक शक्ति अमेरिकी ट्रेजरी वा जलसेनामा मात्र नभई लन्डन, टोकियो र सिंगापुरका ती बैंकरहरूमा छ जसले आफ्नो कारोबारको आधार डलरलाई बनाएका छन् ।
विश्वका देशहरूले डलर रोज्नुका दुईवटा प्रमुख कारण छन् । पहिलो हो, विश्वसनीयता । हरेक देश आफ्नो व्यापार यस्तो मुद्रामा गर्न चाहन्छन् जुन उनीहरू आफैंले छाप्न सक्दैनन् र जसको मूल्य उनीहरूले चाहेर पनि घटाउन सक्दैनन् । डलरले त्यो विश्वास प्रदान गर्छ ।
दोस्रो, अन्तिम ऋणदाता । यो सबैभन्दा महत्त्वपूर्ण तर लुकेको पक्ष हो । अमेरिकी फेडरल रिजर्भले अमेरिका बाहिर सिर्जना भएका डलरहरूलाई पनि संकटको बेला बचाउने अघोषित प्रतिबद्धता जनाएको छ ।
फेडले विश्वका पाँचवटा प्रमुख केन्द्रीय बैंकहरू (युरोपेली केन्द्रीय बैंक, बैंक अफ जापान, बैंक अफ इंग्ल्यान्ड, स्विस नेशनल बैंक र बैंक अफ क्यानडा) सँग स्ट्यान्डिङ स्वाप लाइन्स राखेको छ ।
जब विश्वमा संकट आउँछ, फेडले यी बैंकहरूलाई डलर दिन्छ र ती बैंकहरूले आफ्ना व्यावसायिक बैंकहरूलाई डलर उपलब्ध गराउँछन् । यसले गर्दा युरोडलर प्रणाली सुरक्षित रहन्छ ।
सन् २००८ को वित्तीय संकटमा फेडले ५५४ अर्ब डलर र २०२० को कोभिड संकटमा ३५८ अर्ब डलर स्वाप लाइनमार्फत बजारमा पठाएको थियो । यही संयन्त्रले डलरलाई विश्वभर जीवित राखेको हो ।
यहाँ दक्षिण एसियाली लगानीकर्ता र नीति निर्माताहरूले बुझ्नुपर्ने कुरा के छ भने भारत (र नेपाल पनि) फेडको यो स्थायी स्वाप लाइनको सूचीमा छैनन् । सन् २००८ र २०२० दुवै संकटमा भारतले फेडबाट यस्तो सुविधा पाएन ।
चीन, रुस, साउदी अरब, दक्षिण अफ्रिका, इन्डोनेसिया र टर्की जस्ता देशहरू पनि यो सुरक्षा घेराभन्दा बाहिर छन् । फेडले केवल आफ्ना रणनीतिक साझेदार मानिएका देशहरूका डलरलाई मात्र संरक्षण गर्छ । बाँकी देशहरूले आफ्नो मुद्रा जोगाउन आफ्नै विदेशी मुद्रा सञ्चिति खर्च गर्नुपर्ने हुन्छ ।
अहिले भारतीय रिजर्भ बैंकले भारु जोगाउन आफ्नै सञ्चिति प्रयोग गरिरहेको छ । बैंकहरूको नेट ओपन पोजिसनमा सीमा तोक्ने र बजारमा हस्तक्षेप गर्ने जस्ता कार्यहरू आरबीआईले त्यसैले गरिरहेको छ किनकि उसलाई थाहा छ संकट पर्दा फेडले उसलाई बचाउन स्वाप लाइन खोल्ने छैन ।
ब्रिक्स देशहरूले आफ्नै मुद्रामा व्यापार गर्ने जतिसुकै हेडलाइन बनाए पनि उनीहरूको मुद्रा डलर जस्तो गहिरो, व्यापक र संरक्षित छैन । त्यसैले भारु वा नेपाली रुपैयाँमा देखिने दबाब संरचनात्मक हो जुन कुनै नयाँ व्यापारिक सम्झौताले मात्र समाधान हुँदैन ।
डलरको वर्चस्वमाथिको वास्तविक खतरा हर्मुज जलयोजकको युद्ध वा पेट्रो–युआनमा छैन । यो खतरा जम्मा एउटा प्रश्नमा लुकेको छ, ‘के फेडको अर्को अध्यक्षले आगामी संकटमा यी स्वाप लाइनहरू विस्तार गर्नेछन् ?’
फेडले आफ्ना साझेदारहरूलाई डलर दिन बन्द गरेमा मात्र यो प्रणाली ध्वस्त हुनेछ । डलरको भविष्य रियाद वा तेहरानमा होइन वाशिङटन डीसीको फेडरल ओपन मार्केट कमिटीको बैठकमा तय हुन्छ ।
‘डलर मर्दैछ’ भन्ने समाचार पढ्दा आफैंलाई सोध्नुहोस्, के लेखकले तेल र विदेशी मुद्रा सञ्चितिको कुरा गरिरहेको छ कि अन्तर्राष्ट्रिय बैंकहरूको वासलातको ?
उनीहरूले केवल तेल र जलसेनाको कुरा गरिरहेका छन् भने होहल्ला मात्र सुनिरहेका छन् । उनीहरूले युरोडलर र फेडको स्वाप लाइनको कुरा गरिरहेका छन् भने उनीहरूले डलरको ’वास्तविक शक्ति’ लाई बुझिरहेका छन् ।
डलरको अन्त्य तत्कालै सम्भव देखिँदैन किनकि विश्वको बैंकिङ संरचनाको नसा–नसामा डलर यसरी बसेको छ कि त्यसलाई उखेलेर फाल्दा पूरै विश्व अर्थतन्त्र नै छिन्नभिन्न हुने डर छ ।
तर, भारत र नेपाल जस्ता देशहरू यस ‘सुरक्षित घेरा’ भन्दा बाहिर छन् । उनीहरूका लागि भने डलरको शक्ति वरदानभन्दा बढी चुनौती बनिरहने निश्चित छ ।









प्रतिक्रिया