इरान युद्धमा असहयोग गरेको भन्दै अमेरिकाद्वारा नेटो सहयोगीहरूलाई दण्ड दिने तयारी

392
Shares

एजेन्सी । इरानसँग जारी युद्धका क्रममा अमेरिकी सैन्य अभियानलाई सहयोग नगर्ने नेटो सहयोगी राष्ट्रहरूलाई दण्ड दिनेबारे अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले गम्भीर छलफल सुरु गरेको छ ।

रोयटर्सले प्राप्त गरेको पेन्टागनको एउटा आन्तरिक ईमेल अनुसार, अमेरिकाले स्पेनलाई नेटो गठबन्धनबाट निलम्बन गर्ने र फकल्यान्ड टापुमाथि बेलायतको दाबीलाई दिँदै आएको समर्थन फिर्ता लिनेसम्मका विकल्पहरूमा विचार गरिरहेको छ ।

पेन्टागनका उच्च अधिकारीहरूबीच सर्कुलेट गरिएको उक्त ईमेलमा केही सहयोगी राष्ट्रहरूले पहुँच, आधार र ओभरफ्लाइट अधिकार दिन अस्वीकार गरेकोमा कडा असन्तुष्टि व्यक्त गरिएको छ । एक अज्ञात अमेरिकी अधिकारीका अनुसार, इरान युद्धका लागि आफ्नो क्षेत्र र सैन्य अखडा प्रयोग गर्न नदिनुलाई पेन्टागनले नेटोको आधारभूत सिद्धान्तकै उल्लंघन मानेको छ । ‘नेटोका लागि यो न्यूनतम आधारभूत आवश्यकता हो,’ ईमेलमा उल्लेख छ ।

स्पेनको समाजवादी नेतृत्वले आफ्नो देशमा रहेका दुई महत्त्वपूर्ण अमेरिकी सैन्य आधारहरू र हवाई क्षेत्र इरानमाथि आक्रमण गर्न प्रयोग गर्न नदिने घोषणा गरेपछि अमेरिका चिढिएको छ । ईमेलमा स्पेनलाई गठबन्धनबाट निलम्बन गर्दा सैन्य रूपमा खासै असर नपरे पनि यसले सांकेतिक रूपमा ठूलो प्रभाव पार्ने तर्क गरिएको छ ।

त्यस्तै, बेलायतको हकमा अमेरिकाले फकल्यान्ड टापुमा अर्जेन्टिनाको दाबीलाई समर्थन गर्न सक्ने विकल्प अघि सारेको छ । अर्जेन्टिनाका बहालवाला राष्ट्रपति हाभियर मिलेई डोनल्ड ट्रम्पका नजिकका सहयोगी मानिन्छन् । ट्रम्पले बेलायती प्रधानमन्त्री किर स्टार्मरलाई इरान युद्धमा सामेल हुन नचाहेको भन्दै कायरको संज्ञा समेत दिएका छन् ।

ट्रम्पले हर्मुज जलयोजक खोल्नका लागि आफ्नो जलसेना नपठाएको भन्दै नेटो सहयोगीहरूको कडा आलोचना गर्दै आएका छन् । रोयटर्ससँगको एक अन्तर्वार्तामा उनले अमेरिका नेटोबाट बाहिरिन सक्ने सम्भावनालाई समेत नकारेनन् ।

पेन्टागनका प्रेस सचिव किङ्स्ले विल्सनले भनेका छन्, ‘राष्ट्रपति ट्रम्पले भनेझैं अमेरिकाले आफ्ना नेटो सहयोगीहरूका लागि जे जति गरेको छ, त्यसको बदलामा उनीहरू हाम्रो साथमा उभिएनन् । रक्षा मन्त्रालयले राष्ट्रपतिलाई यस्ता विकल्पहरू दिनेछ जसले हाम्रा सहयोगीहरू अब कागजी बाघ मात्र नरहेर आफ्नो भूमिका निर्वाह गरून् ।’

युरोपेली राष्ट्रहरू बेलायत र फ्रान्सले भने अमेरिकी नेतृत्वको जलसैनिक नाकाबन्दीमा सामेल हुनु भनेको प्रत्यक्ष युद्धमा होमिनु सरह हुने तर्क गरेका छन् । उनीहरूले युद्धविराम भएपछि मात्र जलयोजक सुरक्षित राख्न सहयोग गर्ने बताएका छन् ।

तर, अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले भनेका छन्, ‘मुलुकहरू आवश्यक परेको बेला साथ दिन तयार छैनन् भने त्यस्तो गठबन्धनको कुनै अर्थ रहँदैन ।’

यस आन्तरिक खिचातानीले ७६ वर्ष पुरानो नेटो गठबन्धनको भविष्यमाथि नै ठूलो संकट पैदा गरिदिएको छ । अमेरिकाले साँच्चै आफ्ना सहयोगीहरूलाई दण्डित गर्ने बाटो रोज्यो भने यसले शीतयुद्धपछिको विश्व सुरक्षा संरचनालाई पूर्ण रूपमा बदल्न सक्ने विश्लेषकहरूको ठहर छ ।