
एजेन्सी । पछिल्ला दिनहरूमा इरानको नेतृत्वभित्र दरार रहेको अड्कलबाजीहरूले तीव्रता पाएका छन् । यसलाई अक्सर कूटनीति पक्षधर र कूटनीति विरोधी खेमाहरू बीचको विभाजनको रूपमा चित्रण गरिएको छ ।
डोनल्ड ट्रम्पले यस भाष्यलाई थप बल दिँदै आन्तरिक कलहकै कारण वार्ताहरू रोकिएको र यसले युद्धविराम लम्ब्याउनुलाई न्यायोचित ठहर्याउने तर्क गरेका छन् ।
यो भाष्य अंग्रेजी, फारसी र अरबी सञ्चारमाध्यमहरूमा व्यापक रूपमा गुञ्जिरहेको छ । जानकार स्रोतहरूलाई उद्धृत गर्दै सैन्य र राजनीतिक सम्भ्रान्त वर्ग वा सुरक्षा संयन्त्रभित्रै तनाव रहेको संकेत गरिएको छ ।
पहिलो नजरमा यो एउटा शास्त्रीय राजनीतिक दाउपेच जस्तो देखिन्छ ।
कूटनीतिक गतिरोधको दोष तेहरानमाथि थोपर्दै वाशिङटनले जिम्मेवारी सार्छ । यसले गर्दा स्वदेश र विदेशमा आफ्नो कमजोरी वा अनिर्णयको छविलाई कम गर्न सकिन्छ ।
तर तेहरानमा धेरै विश्लेषकहरूले यसलाई फरक रूपमा बुझ्छन् ।
शब्दको बचाउ भन्दा पनि उनीहरूले यस भाष्यलाई व्यापक रणनीतिक अभियानको हिस्सा मान्छन् जसले तनाव व्यवस्थापनबाट टकरावको एक नयाँ चरणमा प्रवेश गरेको संकेत गर्छ ।
इरानी टिप्पणीकारहरू बीचको एउटा प्रमुख धारणाले यस भाष्यलाई इजरायली भ्रामक प्रचार प्रयाससँग जोड्छ ।
यसको उद्देश्य एउटै मात्र नभई बहुआयामिक छः
१. प्रभावः
इजरायलले फेरि एकपटक ट्रम्पको सोच र निर्णयलाई प्रभाव पार्ने प्रयास गरिरहेको तर्क इरानीहरू गर्छन् । पहिले युद्ध सुरु गर्न प्रोत्साहित गरेको इजरायलले अहिले उनलाई युद्ध पुनः सुरु गर्न उकासिरहेको हुन सक्छ ।
यसको मुख्य निशाना सम्झौताको विरोध गर्ने इरानी सम्भ्रान्त वर्ग भनिए पनि वास्तवमा यो सम्पूर्ण नेतृत्व विरुद्धको एक नयाँ घातक आक्रमणको तयारी हुन सक्छ ।
२. कूटनीतिमा अवरोधः
इरानभित्र फुट रहेको देखाएर यस भाष्यले तेहरानको वार्ता गर्ने क्षमता र एकरूपतामाथिको विश्वासलाई कमजोर बनाउँछ । यसले कुनै पनि सम्झौता तर्फको प्रगतिलाई कठिन बनाउँछ ।
३. आन्तरिक अस्थिरताः
सम्भ्रान्त वर्गबीच कलह रहेको दाबीलाई बढावा दिँदा प्रणालीभित्रै अविश्वास गहिरिन सक्छ जसले निर्णायक क्षणमा निर्णय लिन जटिल बनाउँछ ।
केही विश्लेषकहरू अझ अगाडि बढेर यसलाई अमेरिकाको एक व्यापक हाइब्रिड रणनीतिमा भएको परिवर्तनको रूपमा हेर्छन् ।
यस बुझाइअनुसार, बल प्रयोगबाट प्राप्त गर्न सकिने मुख्य सैन्य उद्देश्यहरू पहिले नै हासिल भइसकेका छन् ।
अमेरिकाको आन्तरिक बाध्यता र इरानले देखाएको प्रतिरोध क्षमतालाई ध्यानमा राख्दै यो रणनीति अहिले विकसित भइरहेको छ ।
विश्लेषकहरूका अनुसार, यो उदाउँदो दृष्टिकोण तीन स्तम्भहरूमा आधारित देखिन्छः निरन्तर आर्थिक दबाब (विशेषगरी जलसैनिक नाकाबन्दी), परिधीय पक्षहरू मार्फत अप्रत्यक्ष अस्थिरता र आन्तरिक एकतालाई लक्षित गर्ने सूचना युद्ध ।
इरानी सञ्चारमाध्यमका रिपोर्टहरूले पश्चिमी र दक्षिणपूर्वी सीमाहरूमा विद्रोही समूहहरूको गतिविधि बढेको संकेत गरेका छन् जसलाई अक्सर (सही वा गलत रूपमा) बाह्य समर्थनको परिणाम मानिन्छ ।
यस रूपरेखा भित्र सम्भ्रान्त खण्डीकरणको भाष्यले फोर्स मल्टिप्यालयरको रूपमा काम गर्छ । यसले नेतृत्व तहमा अविश्वास बढाउँछ, रणनीतिक समन्वयलाई जटिल बनाउँछ र बाह्य रूपमा प्रणालीगत कमजोरी प्रदर्शन गर्छ ।
साथै, यस्ता सन्देशहरू जनतालाई लक्षित गरी प्रवाह गरिन सक्छ जसले राज्य कमजोर हुँदै गएको धारणालाई बलियो बनाउँछ र सम्भावित रूपमा विद्रोहका लागि प्रोत्साहित गर्छ ।
यसले एक समन्वयित अभियानको संकेत गर्छ जसमा आर्थिक दबाब, सुरक्षा तनाव र सूचना युद्ध पर्छन् । उच्च–तीव्रताको द्वन्द्वमा नगइकन बिस्तारै इरानको आन्तरिक एकतालाई क्षय गर्ने योजना बनाइएको छ ।
इरानी नेतृत्वले यसलाई गम्भीरतापूर्वक लिएको देखिन्छ ।
सरकारका तीनै अंगका प्रमुखहरूले एकतामा जोड दिँदै समन्वित विज्ञप्तिहरू जारी गरेका छन् ।
यस सन्देशलाई आईआरजीसी कमान्डरहरू लगायत सैन्य नेतृत्व र सुरक्षा परिषद्का कार्यवाहक सचिवले समेत सुदृढ पारेका छन् ।
यसको स्पष्ट उद्देश्य संवेदनशील समयमा विभाजनको धारणालाई चिर्नु हो ।
तर, मैले मेरो पछिल्लो टाइम लेखमा उल्लेख गरेझैं इरानको नेतृत्वले कट्टरपन्थी विचारधारा भएका तत्त्वहरूको प्रभाव व्यवस्थापन गर्ने निरन्तर चुनौतीको सामना गरिरहेको छ, विशेषगरी संसद् र सरकारी सञ्चारमाध्यममा रहेका समूहहरू ।
यी क्षेत्रहरू शासनको स्थिरताका लागि महत्त्वपूर्ण छन् ।
द्वन्द्वको खतरा कायम रहेको बेला नेतृत्वले उनीहरूसँग प्रत्यक्ष टकराव गरेर उनीहरूलाई चिढ्याउन सक्दैन ।
बाहिरबाट हेर्दा यो तनाव खण्डीकरण जस्तो देखिन सक्छ । तर, आन्तरिक रूपमा यसले प्रतिस्पर्धात्मक प्रवृत्तिहरूलाई प्रतिबिम्बित गर्छ । निर्णयकर्ताहरू बीचको निर्णायक फुटलाई होइन ।
अर्को शब्दमा भन्नुपर्दा जे सम्भ्रान्त वर्गको फुट जस्तो देखिन्छ त्यो वास्तवमा एक व्यवस्थापन गरिएको सन्तुलन हुन सक्छ । यो यस्तो संक्रमणकालीन प्रणाली हो जसले आफ्ना विभिन्न समूहहरू बीचको स्वार्थलाई सन्तुलनमा राख्दै अमेरिकासँग कूटनीतिक समाधानका लागि प्रयास गरिरहेको छ ।











प्रतिक्रिया