वायुसेवा निगम सुधार्न सर्वसाधारणले दिए २५ सयवटा सुझाव

567
Shares

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम सुधार गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा वैशाख २ पछिको एक सातामै उत्साहजनक रूपमा सुझाव पेश भइरहेका छन् ।

मन्त्रालयले वायुसेवा निगमको सुधारका लागि नागरिक स्तरबाट सुझाव मागेको थियो। उक्त सुझावमा आन्तरिक वायुसेवा कम्पनी, वायुसेवा निगमकै कर्मचारी, विदेशमा रहेका नेपालीदेखि आम सर्वसाधारणसम्मले लिखित रूपमा सुझाव दिएका छन् ।

पर्यटन मन्त्रालयका सहसचिव मुकेश डंगोलको संयोजकत्वमा गठित निगम सुधार अध्ययन समितिले नागरिक स्तरबाट उपयुक्त सुझाव मागेको हो । यस्तो सुझाव सामाजिक सञ्जालअन्तर्गत फेसबुक, ह्वाट्सएप र इमेलमार्फत आएको करिब २ हजार ५ सय वटा पुगेको पर्यटन मन्त्रालयका सूचना अधिकारी तथा वायुसेवा निगम सुधारका लागि अध्ययन गर्न गठित समितिका सदस्य–सचिव गोकर्णप्रसाद उपाध्यायले बताए ।

उनका अनुसार सबैजसो सुझावको प्रतिक्रिया मन्त्रालयले दिएको छ । अध्ययन समितिले अब प्राप्त सुझावलाई स्क्रिनिङ गरेर हेर्दै छ । उपयुक्त सुझावलाई अध्ययन समितिले प्रतिवेदनमा नै राख्ने भएको छ ।

निगमप्रति आम नागरिकको चासो र उत्साहले राष्ट्रिय ध्वजाबाहक सुधार हुनुपर्छ र होस् भन्ने देखिएको पनि उनको बुझाइ छ । नयाँ सरकार आएपछि सकारात्मक ऊर्जाका साथ निगमको विषयमा यति धेरै सुझाव आएको हुनसक्ने बुझाइ पनि पर्यटन मन्त्रालयका अधिकारीको छ ।

निगम सुधार गर्न बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले ९ पेज लामो सुझाव दिएका छन् । बस्नेतले निगम सुधार गर्न सकिने अवस्था, लगानीको उपयुक्त मोडालिटी र बुध्द एयरलाई समेत सेयर स्वामित्व दिने गरी निगमको पुनर्संरचना गर्न सुझाव दिएका छन् ।