इरान युद्धले अमेरिकालाई अनेकौं मोर्चामा क्षति गरिरहेको दूतावासहरूको खुलासा

0
Shares

एजेन्सी । पोलिटिको सञ्चारमाध्यमले प्राप्त गरेको अमेरिकी विदेश मन्त्रालयको कूटनीतिक सन्देश (डिप्लोेमेटिक केबल) हरूका अनुसार, इरान युद्धले अमेरिकाको विश्वव्यापी सुरक्षा सम्बन्धलाई जोखिममा पारिरहेको छ र विशेषगरी विश्वका मुस्लिमहरूमाझ यसको प्रतिष्ठामा क्षति पुर्याइरहेको छ ।

बुधबारको मिति उल्लेख गरिएका ती केबलहरूले विश्वका तीन फरक क्षेत्रका देशहरू बहराइन, अजरबैजान र इन्डोनेसियामा अमेरिकाको छविका लागि युद्धले पारेको दुष्परिणामबारे वर्णन गरेका छन् ।

ती देशका राजधानीहरूमा रहेका अमेरिकी कूटनीतिकर्मीहरूले डिजिटल स्पेसमा अत्यन्तै सक्रिय रहेका इरान समर्थक पात्रहरूद्वारा अमेरिका मिडिया क्षेत्रमा घेराबन्दीमा परेको निराशाजनक चित्र प्रस्तुत गरेका छन् ।

अजरबैजानमा निकै सुधार भइरहेको सम्बन्ध अहिले स्थिर भएको छ वा भनौं कमजोर हुँदै गइरहेको छ । बहराइनको सरकारले इरानी ड्रोन र मिसाइलहरू विरुद्ध लड्न अमेरिकाले उसलाई एक्लै छोडेको हो कि भन्ने प्रश्नहरूको सामना गरिरहेको छ । र इन्डोनेसियाका नेताले अमेरिकासँगको सुरक्षा सम्बन्ध घटाउन बढ्दो दबाबको सामना गर्नुपर्ने हुन सक्छ ।

केही केबलहरूले अमेरिकाविरोधी भावनाको वर्णन गरेका छन् जसले तत्काल प्रभाव पारिरहेको छ जबकि अन्यले युद्ध अझै लामो समयसम्म जारी रहेमा सम्बन्धहरू खतरामा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन् । समग्रमा, यी केबलहरूले यस्तो अवस्था चित्रण गर्छन् जहाँ अमेरिकाले त्यहाँका जनता र सम्भावित रूपमा उनीहरूका सरकारहरूको विश्वास गुमाइरहेको छ ।

यी केबलहरूमा ट्रम्प प्रशासनलाई अनलाइन र परम्परागत मिडियामा यस्ता नकारात्मक कथाहरू विरुद्ध लड्न अमेरिकी दूतावासहरूलाई स्वतन्त्रता दिन भनिएको छ ।

इन्डोनेसियाको जकार्तास्थित दूतावासको केबलले तर्क गरेको छ कि भीडभाड भएको डिजिटल स्पेसमा प्रभाव पार्ने चुनौतीको सामना गर्न दूतावासहरूसँग लचिलो, छिटो र सक्रिय सामाजिक सञ्जाल सञ्चालन गर्ने स्वतन्त्रता हुनुपर्छ ।

एक अमेरिकी कूटनीतिकर्मी र पोलिटिकोले प्राप्त गरेका अन्य कागजातहरूका अनुसार, अमेरिकी दूतावासहरूलाई इरान युद्धको बारेमा सार्वजनिक रूपमा सेयर गर्न मौलिक सामग्री नबनाउन निर्देशन दिइएको छ । यसको सट्टा तिनीहरू मुख्यतया ह्वाइट हाउस वा विदेश मन्त्रालयको मुख्यालयबाट स्वीकृत सन्देशहरू मात्र अनलाइनमा पुनः पोस्ट गर्नमा सीमित छन् ।

यी केबलहरू पठाइनुले नै ती देशहरूको अवस्था झन् झन् भयावह हुँदै गएको संकेत गर्छ । यसको कारण के हो भने ट्रम्प प्रशासनले कूटनीतिकर्मीहरूलाई मुख्य विदेशनीति निर्णयहरूबाट किनारा लगाएको, धेरै विदेशी सेवाका सदस्यहरूलाई बर्खास्त गरेको र बाँकी रहेकाहरूलाई वफादारीमा जोड दिएका कारण धेरै अमेरिकी कूटनीतिकर्मीहरू बोल्न डराउन थालेका छन् ।

परिणामस्वरूप, ‘दूतावासहरूले आफ्ना विषयहरू र शब्दहरू छनौट गर्दा धेरै सावधानी अपनाइरहेका छन्,’ प्रतिशोधको डरले नाम नबताउने शर्तमा एक कूटनीतिकर्मीले भने ।

यसको विपरीत, इरानको इस्लामी नेतृत्वले मिडिया क्षेत्रमा अमेरिकालाई कमजोर पार्न विभिन्न प्लेटफर्महरूमा बोट्स, मीम्स र अन्य उपकरणहरू प्रयोग गरिरहेको छ । यसका कूटनीतिकर्मीहरूले तेहरानप्रति सहानुभूति जगाउन धार्मिक, सांस्कृतिक र सामाजिक क्षेत्रका आफ्ना सम्पर्कहरू प्रयोग गरिरहेका छन् ।

यसबारे टिप्पणी माग्दा विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले भने, ‘राष्ट्रपति ट्रम्पका कदमहरूले इरानी शासनलाई आणविक हतियार प्राप्त गर्नबाट रोकेर अमेरिका, भावी पुस्ता र सम्पूर्ण विश्वलाई सुरक्षित बनाउँदैछ । यो वास्तविकता हो र सम्पूर्ण प्रशासन यस प्रयासमा एकमत छ ।’

बहराइन र अमेरिका कट्टर सहयोगी हुन् र यो मध्यपूर्वी देशमा अमेरिकी जलसेनाको पाँचौं फ्लीटको मुख्यालय रहेको सैन्य आधार शिविर छ ।

तर, मनामा (बहराइनको राजधानी) बाट पठाइएको केबलका अनुसार, इरान युद्धले गर्दा अमेरिकाले इजरायलको सुरक्षामा ध्यान केन्द्रित गर्न बहराइनलाई बेवास्ता गरेको भन्ने जनधारणा बनेको छ ।

केही इरान समर्थक सामाजिक सञ्जाल खाताहरूले अमेरिकी सैन्य उपस्थितिले बहराइनलाई निशाना बनाएको र अमेरिकी सेनाले देश छोड्नुपर्ने सुझाव दिएको केबलमा उल्लेख छ ।

‘व्यापक रूपमा सेयर गरिएको एउटा ट्वीटले सोधेको थियो, ‘किन अमेरिकी सेनालाई सर्वसाधारणको बीचमा होटलहरूमा राखिएको छ ? के इजरायलको सुरक्षा र नेतन्याहूको उद्देश्यका लागि खाडीलाई छोडिदिने अमेरिकाले तपाईंहरूलाई (बहराइनी जनतालाई) जोखिममा राख्न योग्य छ ?’ केबलमा भनिएको छ ।

कूटनीतिकर्मीहरूका अनुसार, समस्याको एउटा पाटो यो हो कि इरान युद्धको समयमा अमेरिकाको सन्देश प्रवाह कमजोर रहेको छ जबकि इरान समर्थक सामाजिक सञ्जाल र अन्य सन्देश उपकरणहरू छिटो र रचनात्मक रूपमा चलेका छन् ।

बहराइनी अधिकारीहरू र अन्य सम्पर्कहरूले उनीहरूलाई चिन्ता व्यक्त गर्दै नियमित अमेरिकी सन्देशको अभावमा इरानी प्रचार र स्थानीय तथा अन्तर्राष्ट्रिय मिडियाको अपूर्ण रिपोर्टिङले बहराइनको सुरक्षाप्रति अमेरिकी प्रतिबद्धतामा सार्वजनिक विश्वास घटाउने जोखिम बढाएको भनेका छन् ।

बहराइनको परम्परागत मिडियाको रिपोर्टिङ सरकारद्वारा कडा रूपमा नियन्त्रित हुन्छ । उसले इरानी ड्रोन र मिसाइलहरू रोक्न बहराइनी सेनाले गरेको काममा बढी ध्यान दियो तर अमेरिकी सहयोगको उल्लेख गरेन । आधिकारिक बहराइनी सरकारी बयानहरूले पनि अमेरिकाले त्यहाँको सशस्त्र बललाई दिएको उपकरण र तालिमलाई स्वीकार नगरेको केबलमा उल्लेख छ ।

तर, केबलले के पनि नोट गरेको छ भने बहराइनले अमेरिकाको नाम उल्लेख नगर्नुको पछाडि अमेरिकी कर्मचारी र सामग्रीको परिचालन सुरक्षा कायम राख्ने इच्छा पनि हुन सक्छ ।

केबलले दूतावास आफैं सन्देश प्रवाहमा असफल भएको प्रत्यक्ष रूपमा नभने पनि बेलायती दूतावासको सक्रिय सामाजिक सञ्जाल उपस्थितिले बेलायती सहयोगको स्तरबारे एउटा भ्रमपूर्ण धारणा बनाएको र अमेरिका पछि हटिरहेको ठाउँमा बेलायत अघि बढिरहेको छाप पारेको कुरा औंल्याएको छ ।

बाकु (अजरबैजानको राजधानी) स्थित अमेरिकी दूतावासको केबलका अनुसार, गत अगस्टमा ट्रम्पले अजरबैजान र आर्मेनिया बीचको शान्ति शिखर सम्मेलनको नेतृत्व गरेपछि अमेरिकाले अजरबैजानसँगको सम्बन्धमा गरेको प्रगतिलाई इरान युद्धले क्षति पुर्याइरहेको हुन सक्छ ।

त्यस शिखर सम्मेलनपछि सरकारी समर्थक सञ्चारमाध्यमहरूको बाहुल्य रहेको अजरबैजानी मिडियाले अमेरिकालाई सकारात्मक कभरेज दिन थालेका थिए । मुस्लिम बहुल अजरबैजानी जनसंख्यामा अमेरिका समर्थक भावना बढ्दै गएको संकेत पनि देखिएका थिए ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा आक्रमण गरेको पहिलो महिनामा अजरबैजानी मिडियाले सरकारी अडान अनुरूप धेरै हदसम्म तटस्थ स्वर कायम राखेका थिए ।

मार्च ५ मा अजरबैजानमा भएको भनिएको इरानी ड्रोन आक्रमणले इरानलाई आतंकवादको आरोप लगाउँदै उग्र राष्ट्रवादी टिप्पणीहरू समेत निम्त्याएको थियो ।

तर अप्रिलमा अजरबैजानी मिडिया अमेरिकाप्रति बढी आलोचक हुन थालेका छन् । ‘धेरैजसो स्थानीय सञ्चारमाध्यमले द्वन्द्व सुरु गरेकोमा र यसलाई अन्त्य गर्ने स्पष्ट रणनीति वा लक्ष्य नभएकोमा अमेरिका र इजरायललाई दोष दिएका छन्,’ केबलमा भनिएको छ ।

केही अजरबैजानी प्रेसले यस महिना ट्रम्प र उनको परिवारको आलोचना समावेश भएका अन्तर्राष्ट्रिय समाचारहरू पुनः छापेका छन् । केबलका अनुसार, यस्तो पुनः प्रकाशन अक्सर सरकारले प्रत्यक्ष रूपमा त्यस्तै भाषा प्रयोग गर्नुअघि जनताको प्रतिक्रिया बुझ्न छोडिएको परीक्षण बेलुन हो ।

इरान युद्धमा हालै भएको युद्धविरामले तनावलाई केही हदसम्म शान्त पार्न मद्दत गरेको छ । तर, युद्धविराम अप्रिल २२ मा समाप्त हुने भएकाले धेरै अजरबैजानीहरूले बढ्दो मूल्य र क्षेत्रीय यात्रा अवरोधका बीच यो द्वन्द्वको अन्त्य हुने आशा गरिरहेका छन् ।

केबलले नोट गरेको छ– अजरबैजानमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरू अमेरिका र इजरायली कदमको कडा आलोचक भए पनि त्यस्तो भावनाले अजरबैजानमा इरान समर्थक भावना भने बढाएको छैन । धेरैजसो अजरबैजानी जनता धर्मनिरपेक्ष विचारधाराका छन् र तेहरानको इस्लामी शासनलाई मन पराउँदैनन् ।

जकार्तास्थित अमेरिकी दूतावासको केबलका अनुसार, इरानले विश्वको सबैभन्दा ठूलो मुस्लिम बहुल लोकतन्त्र इन्डोनेसियामा ठूलो प्रभाव पार्ने अभियान चलाइरहेको छ ।

परम्परागत मिडिया र टेलिग्राम तथा फेसबुक जस्ता प्लेटफर्महरूमा तेहरानले मुस्लिम एक्यबद्धतामा जोड दिइरहेको छ । साथै, इजरायल र अमेरिकालाई साम्राज्यवादीको रूपमा चित्रण गर्दै इन्डोनेसियामा उपनिवेशवाद विरोधी भावनालाई जगाइरहेको छ ।

इरानी प्रयासहरू अक्सर रचनात्मक हुन्छन् । केहीले इरान समर्थक सन्देश प्रवाह गर्न मोर्स कोडको प्रयोग गरिरहेका छन् ।

इरानी दूतावासका पोस्टहरूले अहिले पहिलेको तुलनामा हजारौं बढी भ्युज र सकारात्मक टिप्पणीहरू पाइरहेका छन् जबकि इरानी राजदूतले धेरै इन्डोनेसियाली राजनीतिक र धार्मिक एलिटहरूसँग भेटघाट गर्दै आफ्नो सार्वजनिक सक्रियता बढाएका छन् ।

जकार्ता केबलले तर्क गरेअनुसार युद्ध लम्बियो र अमेरिकाविरोधी भावना बढ्यो भने यसले दुई देशबीचको सहयोगलाई जोखिममा पार्नेछ ।

इरानी सन्देशहरूलाई पूर्ण रूपमा विश्वास गरिने अमेरिकाका लागि सबैभन्दा खतरनाक अल्पकालीन जोखिम होइन । तर, यसले विद्यमान अमेरिकाविरोधी भावनालाई धेरै बढाएर राष्ट्रपति प्राबोवोलाई क्षेत्रीय सुरक्षा सहयोगमा अगाडि बढ्न राजनीतिक रूपमा गाह्रो हुने केबलमा भनिएको छ ।

इन्डोनेसियाले राष्ट्रपति डोनल्ड ट्रम्पलाई खुसी पार्न सुरक्षा सम्बन्धी धेरै कदमहरू चालेको छ । त्यसमा गाजामा सुरक्षाका लागि सेना पठाउने प्रस्ताव र ट्रम्पको बोर्ड अफ पिसमा सामेल हुनु समावेश छ । सोमबार प्राबोवो सुबियान्तोको सरकारले अमेरिकासँग ठूलो रक्षा सहयोग साझेदारीमा हस्ताक्षर गरेको छ ।

केबलले औंल्याएअनुसार, युद्ध सुरु भएदेखि इरानी राजदूतले इन्डोनेसियालाई बोर्ड अफ पिस छोड्न आह्वान गरेका छन् ।

इन्डोनेसियाली सरकार त्यति टाढा जान तयार रहेको कुनै संकेत छैन यद्यपि उसले बोर्डसँग सम्बन्धित अमेरिकासँगको छलफललाई अहिलेका लागि रोकेको बताइएको छ । दूतावासले मिडियाको मोर्चामा जवाफ फर्काउन थप स्वतन्त्रताका लागि सावधानीपूर्वक आग्रह गरेको छ ।

Skip This