
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी खडक राज पौडेलले सम्हालेसँगै ५ दशक अगाडिदेखि नै लागू भएको र विदेशी यात्रुबाट लिँइदै आएको डलर फेयर हटाउने चर्चा सुरु भएको छ ।
हरेक पटक आउने पर्यटन मन्त्रीसँगै आन्तरिक वायुसेवामा डलर फेयर राख्ने कि हटाउने भन्ने बहस हुने गरेको छ । यसपटक पनि मन्त्री पौडेल आएसँगै सोही विषयमा बहस चुलिएको छ ।
आन्तरिक उडानमा विदेशी नागरिक तथा गैरआवासीय नेपालीबाट लिइँदै आएको डलर फेयर पहिलो चरणमा कर्णाली र सुदूरपश्चिम क्षेत्रबाट हटाइने संकेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायको छ । हाल वायुसेवा कम्पनीले कायम राखेको दुई खाले भाडा प्रणाली अन्त्य गर्नुपर्ने तर्क मन्त्रालयका उच्च अधिकारीले दिएका छन् ।
पर्यटन मन्त्रीले डलर फेयर हटाउने निर्णय भने गरेका छैनन् । उनले आन्तरिक वायुसेवासँग छलफल गर्ने, सरोकारवालासँग समन्वय गर्ने र सरकार, वायुसेवा कम्पनी र यात्रुकोसमेत हितमा हुने गरी निर्णय हुने दाबी गरेका छन् । सो विषयमा उनले आधिकारीक धारणा भने दिएका छैनन् ।
सरकारले डलर फेयर हटाए आन्तरिक वायुसेवाले भाडा बढाउनुपर्ने र नेपाली यात्रुलाई नै मार पर्ने भएकोले त्यसो नगर्न निजी वायुसेवा कम्पनीहरुले आग्रह गर्दै आएका छन् । वायुसेवा सञ्चालक संघले डलर फेयरकै कारण नेपाली यात्रुले सस्तो र सहुलियत दरमा हवाई उडान गर्न पाएकाे दाबी गरेका छन् ।
वायुसेवा सञ्चालक संघका अध्यक्ष प्रतापजंग पाण्डेले डलर फेयर हटाउँदा नेपाली यात्रुलाई नै मार पर्ने र वायुसेवाको बढेको लागत यात्रुकै टिकेटमा जोडिन पुग्ने भएकोले सरकारसँग यसलाई नचलाउन आग्रह गरेको बताए ।
वायुसेवा कम्पनीहरुले हरेक गन्तव्यमा नेपाली र विदेशीलाई फरक फरक भाडा लिने गरेका छन् । यस्ताे भाडादर विदेशीलाई डलरमा र नेपालीलाई नेपाली रुपैयाँमै हुने गरेको छ । डलरमा भाडा लिँदा विदेशीको नेपाल भ्रमणको लागत र प्याकेज महंगो भएको तर्क गर्दै यसलाई हटाउने विषय हरेक पटक आउने नयाँ सरकारले गर्ने गरेको छ ।
निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले नेपालको आन्तरिक हवाई उडानमा विदेशी पर्यटकका लागि कायम गरिएको डलर फेयर हटाउने हो भने नेपाली यात्रुको हवाई भाडा ५० प्रतिशतसम्मले वृद्धि हुने बताएका छन् ।
अध्यक्ष बस्नेतले हवाई क्षेत्रले झेलिरहेको आर्थिक संकट र सञ्चालन खर्चको तथ्यांक प्रस्तुत गर्दै सरकारले डलर फेयर हटाए बढ्ने लागत र वायुसेवा कम्पनी धानिनको लागि पनि भाडा बढाउनुपर्ने अवस्था आउने बताए । त्यसो त नेपालमा २०७३ देखि नै हवाई भाडा नबढेको पनि उनको गुनासो छ ।
अध्यक्ष बस्नेतका अनुसार वायुसेवा कम्पनीहरूको कुल खर्चमा इन्धनको हिस्सा अत्यधिक बढेको छ । उनले भने ‘पहिले हवाई इन्धनको मूल्य प्रतिलिटर १२४ रुपैयाँ हुँदा कुल खर्चको ३५ प्रतिशत मात्रै इन्धनमा जान्थ्यो’, तर अहिले इन्धनको मूल्य प्रतिलिटर २५७ रुपैयाँ पुगेपछि वायुसेवाको कुल खर्चमा इन्धनको हिस्सा ५० प्रतिशत पुगेको छ ।’
सञ्चालन खर्च दोब्बर जस्तै बढेको अवस्थामा विदेशी यात्रुले तिर्ने डलर फेयरले नेपाली यात्रुलाई ठूलो राहत दिएको पनि उनको तर्क छ। उनले आन्तरिक वायुसेवाको कुल कारोबारमा डलर फेयरको हिस्सा करिब २५ प्रतिशत रहेको पनि बताए । यही २५ प्रतिशत विदेशी यात्रुले महँगो भाडा तिरेका कारण नेपाली यात्रुलाई सस्तोमा उडाउन सम्भव भएको उनको भनाइ छ ।
अध्यक्ष बस्नेतले डलर फेयर लिन पाएकै कारण नेपाली यात्रुलाई क्रस सब्सिडी (अन्तर अनुदान) दिन सकिरहेको पनि बताए । विदेशी पर्यटकले डलरमा भाडा तिर्दा त्यसले एयरलाइन्सको डलरमा हुने खर्च (स्पेयर पार्ट्स, इन्स्योरेन्स, मेन्टेनेन्स) धान्न मद्दत गर्छ, उनले भने ‘यदि यो डलर फेयर हटाएर नेपाली र विदेशीलाई एउटै भाडा कायम गर्ने हो भने नेपाली यात्रुले अहिले तिरिरहेको भाडामा ५० प्रतिशतसम्म वृद्धि गर्नुको विकल्प रहँदैन ।’
उनले भने, ‘अहिले एयरलाइन्सहरू निकै कठिन अवस्थामा छन्, पश्चिम एसियाको तनावका कारण सिर्जना भएको परिस्थितिले दैनिक १ हजार ५०० सम्म यात्रु घटेका छन् । यस्तोमा डलर फेयर हटाउनु भनेको नेपाली यात्रुलाई अझै महँगो भार थप्नु हो ।’








प्रतिक्रिया