आइतबार अस्पतालमा ओपीडी सेवा दिन सकिन्न : चिकित्सक संघ

385
Shares

काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रबार जारी निर्देशन अनुसार आइतबार ओपीडी सेवा दिन नसकिने जनाएको छ ।

संघका महासचिव डा सन्जिव तिवारीले विज्ञप्ति जारी गर्दै सरकारले हप्ताको २ दिन शनिबार र आइतबार सरकारी बिदा दिने निर्णय गरेको भए पनि अस्पतालले आइतबारको हकमा आफ्नो जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउन अनुरोध गरिएकामा जनशक्ति नथपिएकाले आइतबार सेवा दिन नसकिने बताएका हुन् ।

संघले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले ९–५ ड्युटी बाहेक अनकल, राउन्ड, इमरजेन्सीलगायतका लगायतका सेवा २४ सै घण्टा प्रदान गरिरहेको बताउँदै यस्तो समय गणना नहुनु अन्यायपूर्ण रहेको जनाएको छ ।

स्वास्थ्य संस्थामा जनशक्तिको वैज्ञानिक व्यवस्थापन नभएसम्म मन्त्रालयको आइतबार सेवा दिने अनुरोध कार्यान्वयन गर्न नसकिने संघको दाबी छ ।

अस्पतालका कर्मचारीलाई हप्तामा शनिबारबाहेक अर्को एक दिन बिदा दिने व्यवस्था गन र बिदा दिन नसक्ने अवस्थामा सट्टा बिदा उपलब्ध गराउन भनिएकोमा विगतमा सट्टा बिदा उपयोग गर्नबाट वन्चित गरिएको संघले बताएको छ ।

संघले इन्धन अभावका कारण हप्ताको २ दिन बिदा दिने निर्णय गरिएकोमा स्वास्थ्य संस्थाको हकमा ओपीडी समय थप बढाई इन्धनको थप अपव्यय गरिनु अत्यन्त अव्यवहारिक रहेको जनाएको छ ।

शनिबार र आइतबार २ दिन बिदा दिने निर्णय कार्यान्वयन नहुनुले स्वास्थ्य संस्थाहरूमा थप अन्योल सिर्जना हुने हुनाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोध फिर्ता लिन संघले अनुरोध गरेको छ ।

न्यून सेवा सुविधा दिई जबरजस्ती सेवामा खटाउने परिपाटी अन्त्य नभए चिकित्सक तथा स्वास्थ्यकर्मी संघर्षमा उत्रिन बाध्य हुने संघले चेतावनी दिएको छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई आइतबार पनि ओपीडी सेवा सञ्चालनको व्यवस्था मिलाउन भनेको थियो ।

सरकारले शनिबार र आइतबार सातामा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अस्पतालहरूले आइतबार ओपीडी सेवा बन्द गरेसँगै मन्त्रालयले विज्ञप्तिमार्फत् निर्देशन जारी गरेको थियो ।