जापानमा नेपालको पर्यटन प्रवर्द्धन: टोकियो र ओसाकामा बीटुबी कार्यक्रम सम्पन्न

49
Shares

काठमाडाैं। नेपालले जापानको पर्यटन बजारमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउँदै टोकियो र ओसाकामा दुई चरणको नेपाल पर्यटन प्रवर्द्धन तथा व्यापार (बीटुबी) आदानप्रदान कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न गरेको छ।

पहिलो कार्यक्रम सन् २०२६ अप्रिल २ मा टोकियोस्थित रिगा रोयल होटलमा आयोजना गरिएको थियो भने दोस्रो कार्यक्रम अप्रिल ५ मा ओसाकास्थित रिगा रोयल होटलमै सम्पन्न भएको थियो।

पाटा नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल वायुसेवा निगम, पाटा जापान च्याप्टर र पाटा चाइनिज ताइपेई च्याप्टरको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो। यो पहल नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरसँग पनि जुरेको छ।

टोकियोको कार्यक्रममा करिब ९० जना र ओसाकामा ६० जनाभन्दा बढीको सहभागिता रहेको थियो। नेपालबाट १२ वटा अग्रणी पर्यटन तथा आतिथ्य क्षेत्रका कम्पनीहरूको प्रतिनिधित्व गर्दै २३ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको थियो।

कार्यक्रममा नेपालले साहसिक पर्यटन, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, आध्यात्मिक अनुभव र विलासितापूर्ण सेवासहितका विविध पर्यटकीय उत्पादनहरू प्रस्तुत गरेको थियो।

जापानको ‘ट्राभल ट्रेड’ क्षेत्रबाट देखिएको उल्लेखनीय सहभागिता कार्यक्रमको मुख्य आकर्षण रह्यो। जेटीबीतथा जापान एसोसिएसन अफ ट्राभल एजेन्ट्सलगायत प्रमुख ट्राभल कम्पनी, टुर अपरेटर तथा पर्यटन व्यवसायीहरूको सक्रिय उपस्थितिले जापानी पर्यटकका लागि नेपालप्रति बढ्दो आकर्षण झल्काएको छ।

औपचारिक सत्रको प्रारम्भ नेपाल र जापानको राष्ट्रिय गानबाट गरिएको थियो, जसले दुई देशबीचको दीर्घकालीन मित्रता र आपसी सम्मानलाई उजागर गर्‍यो। कार्यक्रममा पाटा जापान च्याप्टर, पाटा चाइनिज ताइपेई च्याप्टर, पाटा नेपाल च्याप्टर तथा टोकियोस्थित नेपाली दूतावासका प्रतिनिधिहरूले सम्बोधन गरेका थिए।

नेपाल पर्यटन बोर्डले डेस्टिनेसन नेपाल सम्बन्धी प्रस्तुतीकरण दिँदै नेपाललाई विविध अनुभव प्रदान गर्ने गन्तव्यका रूपमा स्थापित गरेको छ।

आगामी छैटौँ हिमालयन ट्राभल मार्ट र नेपाल वायुसेवा निगमसम्बन्धी प्रस्तुतीकरणले हवाई सम्पर्क सञ्चाल र पर्यटन–व्यापारका अवसरहरू वृद्धि हुने विषयमा प्रकाश पारेको थियो। नेपालको सांस्कृतिक झलक र पर्यटकीय उत्पादनसम्बन्धी सामग्रीहरूले सहभागीहरूलाई गन्तव्यबारे थप गहिरो जानकारी प्रदान गरेका थिए।

टोकियो र ओसाका दुवै स्थानमा आयोजना गरिएको बीटुबी सत्रले नेपाली विक्रेता तथा जापान र चाइनिज ताइपेईका क्रेताहरूबीच प्रत्यक्ष संवादको सशक्त माध्यम प्रदान गरेको थियो। यसले व्यापारिक साझेदारी सुदृढ गर्ने र नेपालमा पर्यटक आगमन वृद्धि गर्ने नयाँ सम्भावनाहरू सिर्जना गरेको छ।

कार्यक्रममा पाटा नेपालका महासचिव तथा नेपाल पर्यटन बोर्ड कार्यसमिति सदस्य नरेन्द्र भट्टले जापान नेपालका लागि महत्त्वपूर्ण स्रोत बजार भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले विश्वास निर्माण र व्यावसायिक सम्बन्ध मजबुत बनाउन भूमिका खेल्ने बताए। उनले जापानी पर्यटन व्यवसायीहरूको सक्रिय सहभागिताबाट उत्साहित भएको बताउँदै आगामी दिनमा सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गरे।

पाटा जापान च्याप्टरका अध्यक्ष टोनी इशिदाले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै यस्ता सहकार्यले पर्यटन सम्बन्ध अझ सुदृढ हुने बताए। त्यस्तै, पाटा चाइनिज ताइपेई च्याप्टरका अध्यक्ष बेन लियाओले त्रिपक्षीय सहकार्यलाई स्वागत गर्दै यस कार्यक्रमलाई सकारात्मक सुरुवातका रूपमा व्याख्या गरे। उनले निकट भविष्यमा नेपाल र जापानका प्रतिनिधिहरूलाई ताइवान भ्रमणको निम्तो समेत दिएका छन्।

दुवै कार्यक्रमको समापन नेटवर्किङ सत्रमार्फत गरिएको थियो, जसले व्यावसायिक सम्बन्ध विस्तार गर्नुका साथै जनस्तरको सम्बन्धलाई समेत मजबुत बनाएको छ। टोकियो र ओसाकामा सम्पन्न यी कार्यक्रमले जापानी बजारमा नेपालको बढ्दो आकर्षण पुष्टि गर्नुका साथै दुई देशका पर्यटन उद्योगबीचको सहकार्यलाई थप उचाइमा पुर्‍याएको छ।