
अहिले सेयर बजारमा एक प्रकारको त्रासको वातावरण फैलाउन खोजिएको छ । सरकार साँच्चै नै धरपकडमा उत्रिएको हो कि भन्ने भ्रम कतिपयमा देखिन्छ, तर म प्रष्ट पार्न चाहन्छु । सरकारले साना लगानीकर्तालाई दु:ख दिने वा कुनै कारबाही गर्ने उद्देश्य राखेको छैन ।
बजारमा साना लगानीकर्तालाई प्यानिक गराउने जुन होडबाजी चलेको छ त्यो गलत हो । कतिपयले मूल्य घटाएर किन्न वा बढाएर बेच्नका लागि यस्तो हल्ला फैलाएका हुन सक्छन्, त्यस्ता हाउगुजीबाट कुनै पनि लगानीकर्ता नअत्तालिऊन् ।
हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै सुशासनको एजेन्डा लिएर आएको हो । सुशासनको सन्दर्भमा हामी अलिकति पनि तलमाथि गर्दैनौं ।
अहिले मेरो मुख्य प्राथमिकता नेपाललाई अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट जोगाउनु हो । ग्रे लिस्टमा पर्नु भनेको देशको बदनामी हुनु र लगानीको वातावरण बिग्रनु हो । यसबाट बच्नका लागि सम्पत्ति शुद्धीकरण र वित्तीय अपराधमा भएका पुराना अनुसन्धानहरूलाई हामीले कानुन अनुसार टुंगोमा पुर्याउन खोजेका हौं । यो कुनै व्यक्ति वा संस्थालाई छानी-छानी दुःख दिन गरिएको सैन्य अपरेसन होइन । प्रमाणका आधारमा कानुन कार्यान्वयन गर्ने प्रक्रिया मात्र हो ।
जहाँसम्म सेयर बजारको कुरा छ, यो नेपालका अन्य क्षेत्रभन्दा बढी व्यवस्थित र पारदर्शी छ । सेयर बजार त हाम्रा लागि एउटा नजिर र उदाहरण हो । यो पेपरलेस छ, प्रविधिमैत्री छ र सबै कारोबार बैंकमार्फत् हुने भएकाले पारदर्शी छ ।
कसले सेयर किन्यो वा बेच्यो भन्ने कुरा हामीले चाहेको खण्डमा सजिलै ट्र्याक गर्न सक्छौं । प्रधानमन्त्रीको चाहना पनि मालपोत लगायतका अन्य सरकारी सेवाहरूलाई सेयर बजार जस्तै पारदर्शी र डिजिटल बनाउने नै छ । स्टक मार्केटमा आएर सम्पत्ति कहाँबाट ल्यायौ ? भनेर साना लगानीकर्तालाई सोध्ने वा धरपकड गर्ने हाम्रो कुनै नीति छैन ।
तपाईंहरु ढुक्क भए हुन्छ, सरकारले निजी क्षेत्रलाई हतोत्साहित बनाउँदैन । हामी खुला बजार अर्थनीतिमा विश्वास गर्छौं, तर त्यसको अर्थ छाडा अर्थतन्त्र भने होइन । यदि कसैले बजारमा म्यानिपुलेसन, इन्साइडर ट्रेडिङ वा अन्य कुनै अनैतिक काम गर्छ भने मात्र विद्यमान कानुन अनुसार कारबाही हुन्छ ।
वित्तीय अपराध (ह्वाइट कलर क्राइम) लाई हतकडी लगाएर तमासा गर्नुभन्दा पनि आर्थिक जरिवाना गरेर समाधान गर्ने हाम्रो ध्येय हो । निजी क्षेत्रलाई मुद्दा खेप्न दिने तर जेलमै लगेर कोचेर बदनामी नगर्ने पक्षमा हामी छौं ।
हाम्रो बाचापत्रको बुँदा ३३ र ३४ कार्यान्वयन हो । यसमा लगानीकर्ताले अध्ययन हुन्छ र सेयर बजारप्रति हामी कति उदार छौं भन्ने पनि स्पष्ट छ ।
अहिले बजार घटेको अवस्थामा अतालिनु आवश्यक छैन । हामीले आर्थिक राजकाजको जहाज नै मोड्ने तयारी गरेका छौं ।आउँदो बजेटमार्फत हामी वि.सं. २०४८ साल पछिको सबैभन्दा ठूलो सुधार ल्याउँछाैं । यसपालिको बजेट पहिलेको भन्दा फरक हुने छ भने बजेट अत्यन्तै निजी क्षेत्रमैत्री र उद्यममैत्री हुनेछ ।
हाम्रो लक्ष्य आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रलाई १०० अर्ब डलरको बनाउनु हो । यसका लागि रोजगारी सिर्जना गर्ने र प्रतिव्यक्ति आय बढाउने हाम्रो संकल्प छ । अहिले एक साताको उतारचढावलाई हेरेर आत्तिनु पर्दैन । सेयर बजारका लागि सुनौला दिनहरू आउँदैछन् । सरकार तिमीहरूको मनोबल उठाउन र लगानीको सुरक्षा गर्न प्रतिबद्ध छ ।
(अर्थमन्त्री डा. वाग्लेले नेपाल आर्थिक पत्रकार समाजका प्रतिनिधिसँग व्यक्त गरेको विचारको सम्पादित अंश)








प्रतिक्रिया