इरानले खसाएको अमेरिकी लडाकु विमानका पाइलटलाई उद्धार गरेको ट्रम्पको दाबी

168
Shares

एजेन्सी । इरानमा आफ्नो लडाकु विमान खसालिएपछि बेपत्ता भएका अमेरिकी चालक दलका एक सदस्यलाई अमेरिकी सेनाले उद्धार गरेको राष्ट्रपति डोनल्ड ट्रम्पले आइतबार बिहान ट्रुथ सोसल पोस्ट मार्फत जानकारी दिएका छन् ।

‘हामीले उनलाई फेला पार्याैं ! मेरा आदरणीय अमेरिकी साथीहरू, पछिल्ला केही घण्टाहरूमा अमेरिकी सेनाले अमेरिकी इतिहासकै सबैभन्दा साहसी खोज तथा उद्धार अभियानहरूमध्ये एक सफलतापूर्वक सम्पन्न गरेको छ । हाम्रा एक उत्कृष्ट अधिकारी, जो एक अत्यन्त सम्मानित कर्नल हुनुहुन्छ, अहिले सुरक्षित र सकुशल हुनुहुन्छ भन्ने जानकारी दिन पाउँदा म निकै उत्साहित छु !’ ट्रम्पले लेखेका छन् ।

ती सैनिक घाइते भएको र उनी चाँडै ठीक हुने उनले थप लेखेका छन् ।

शुक्रबार त्यस क्षेत्रमा एउटा एफ–१५ई स्ट्राइक ईगल लडाकु विमान खसालिएपछि यो उच्च जोखिमपूर्ण खोजी कार्य सुरु भएको थियो । विमान दुर्घटना भएको केही समयपछि नै चालक दलका अर्का एक सदस्यको उद्धार गरिएको थियो र उनको अहिले उपचार भइरहेको छ भनी सीएनएनले यसअघि नै उल्लेख गरेको थियो ।

राष्ट्रपति डोनल्ड ट्रम्पले बेपत्ता चालक दलका सदस्यलाई फिर्ता ल्याउन अमेरिकी सेनाले सबैभन्दा घातक हतियारले सुसज्जित दर्जनौं विमानहरू पठाएको बताएका छन् ।

‘उनी घाइते भएका छन् तर उनी चाँडै निको हुनेछन् । यो चमत्कारपूर्ण खोज तथा उद्धार अभियान हिजो अर्को एक साहसी पाइलटको सफल उद्धारको निरन्तरता हो जसको पुष्टि हामीले हिजो गरेका थिएनौं किनभने हामी हाम्रो दोस्रो उद्धार अभियानलाई जोखिममा पार्न चाहँदैनथ्यौं,’ ट्रम्पले लेखे ।

‘सैन्य इतिहासमा सम्भवतः यो पहिलोपटक हो जहाँ दुई अमेरिकी पाइलटहरूलाई शत्रुको इलाकाभित्रैबाट छुट्टाछुट्टै उद्धार गरिएको छ । हामी कुनै पनि अमेरिकी योद्धालाई कहिल्यै शत्रुको कब्जामा एक्लै छोड्ने छैनौं !’

इरानी सेनाले कसरी एफ–१५ विमान खसाल्यो भन्ने कुरा उल्लेख नगरी ट्रम्पले यो दोहोरो उद्धारले इरानी आकाशमा हवाई प्रभुत्व र श्रेष्ठता प्रमाणित गरेको दाबी गरे ।

‘यो यस्तो क्षण हो जसमा रिपब्लिकन, डेमोक्रेट र अरू सबै लगायत सम्पूर्ण अमेरिकीहरूले गर्व गर्नुपर्छ र एकजुट हुनुपर्छ । हामीसँग साँच्चै विश्वकै इतिहासमा सबैभन्दा उत्कृष्ट, व्यावसायिक र घातक सेना छ । ईश्वरले अमेरिकाको कल्याण गरून्, हाम्रा सैनिकहरूको रक्षा गरून्, र सबैलाई ईस्टरको शुभकामना !’ ईस्टर आइतवारको मध्यरात भएको केही मिनेटपछि ट्रम्पले बताए ।

Skip This