यूएईमा ड्रोन अवशेष खस्दा घाइते सातै नेपाली खतरामुक्त, ६ जना अस्पतालबाट डिस्चार्ज

91
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा गघाइते भएका सात नेपाली नागरिकमध्ये ६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । बाँकी एक जनाको अवस्था पनि खतरामुक्त रहेको र उपचार जारी रहेको नेपाली राजदूतावास अबुधाबीले जानकारी दिएको छ ।

दूतावासका अनुसार गत ३ अप्रिल २०२६ मा अबुधाबीको अब्जान क्षेत्रमा भएको एक घटनामा ७ जना नेपाली नागरिकहरू घाइते भएका थिए । तीमध्ये ६ जना सामान्य उपचारपश्चात् अस्पतालबाट घर फर्किसकेका छन् । गम्भीर घाइते भनिएका एक जनाको भने अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था पनि खतरामुक्त रहेको र छिट्टै डिस्चार्ज हुन सक्ने जानकारी अस्पतालबाट प्राप्त भएको दूतावासले उल्लेख गरेको छ ।

घटना लगत्तै दूतावासले सबै घाइतेहरूसँग टेलिफोन सम्पर्क गरेको थियो भने ४ जनासँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्थाबारे जानकारी लिएको थियो ।

घाइतेहरूको उपचार र आवश्यक समन्वयका लागि दूतावासले निरन्तर कार्य गरिरहेको विज्ञप्तिमा जनाइएको छ । यूएई सरकारले उनीहरूको स्वास्थ्य उपचारमा आवश्यक सहयोग गरिरहेको समेत दूतावासले जानकारी दिएको छ ।

मध्यपूर्वमा विकास भइरहेको पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले यूएईमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले यूएई सरकारद्वारा जारी गरिएका सुरक्षा सम्बन्धी मार्गनिर्देशन र सूचनाहरूको पूर्ण पालना गर्न तथा आधिकारिक स्रोतबाट आउने सूचनालाई मात्र विश्वास गर्न अपिल गरेको छ ।

Skip This