
काठमाडौं । पश्चिम एसियाको तनावका कारण एक महिनाको अवधिमा काठमाडौं आवागमन हुनुपर्ने कम्तीमा डेढ लाख यात्रु रोकिएका छन् ।
काठमाडौंबाट हुने २७० उडान र सोही सङ्ख्यामा हुने अवतरण प्रभावित हुँदा कम्तीमा डेढ लाख यात्रु रोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्कले देखाएको छ ।
विमानस्थल कार्यालयका अनुसार पश्चिम एसिया तनावका कारण दैनिक ३० वटासम्म उडान रद्द हुन पुगेका छन् । पछिल्लो समय पनि दैनिक २० वटासम्म उडान रद्द भइरहेका छन् ।
काठमाडौंबाट मध्यपूर्वी क्षेत्रमा उडान गर्ने जजीरा एयरवेज, कुवेत एयरवेज, नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्ससहितका वायुसेवाका उडान रद्द भएका हुन् । यी वायुसेवाका शनिबार मात्रै पनि १६ वटा उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
पछिल्लो एक महिनामा विशेष उडानमार्फत २३७ वटा उडान भएको र त्यसबाट ६३ हजार यात्रुले मात्रै सेवा पाएको विमानस्थल कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
तथ्याङ्क अनुसार फ्लाई दुबई, एयर अरेबिया, हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले गरेका उडानबाट पछिल्लो एक महिनामा जम्मा २६७ वटा उडान भएका छन् । यी उडानमार्फत ३२ हजार १९९ यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका र ३१ हजार ४२१ जनाले अवतरण गरेको तथ्याङ्कमा उल्लेख छ ।










प्रतिक्रिया