पश्चिम एसियामा अलपत्र परेका नेपालीको उद्धार गर्न आजदेखि विशेष उडान सुरु हुँदै

0
Shares

काठमाडौं । पश्चिम एसियामा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धार गर्नका लागि सरकारले आजदेखि तीन दिने विशेष उडान सञ्चालन गर्ने भएको छ।

द्वन्द्वग्रस्त क्षेत्रमा अलपत्र परेका र स्वदेश फर्किन चाहने नेपालीहरूलाई लक्षित गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यो विशेष सेवा सुरु गरेको हो।

नेपाल वायुसेवा निगमले सार्वजनिक गरेको उडान तालिका अनुसार आज (अप्रिल ३) मा काठमाडौं–दुबई उडान हुनेछ। त्यस्तै, अप्रिल ४ मा दुबई–काठमाडौं र अप्रिल ५ मा काठमाडौं–दमाम–काठमाडौं उडान भर्ने तयारी गरिएको छ।

पश्चिम एसियामा विद्यमान तनाव र असुरक्षाका कारण गत फेब्रुअरी २८ देखि ती क्षेत्रहरूमा नियमित उडानहरू स्थगित रहेका थिए।

नियमित उडान बन्द हुँदा गन्तव्यमा पुग्न नपाएका र स्वदेश फर्किन प्रतीक्षारत नेपालीहरूको समस्यालाई मध्यनजर गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले विशेष पहल गरेका हुन।

गत चैत १७ गते परराष्ट्रमन्त्री खनालको अध्यक्षतामा परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका उच्चपदस्थ अधिकारीहरूबीच बसेको बैठकले यो विशेष उडान गर्ने निर्णय गरेको थियो।

परराष्ट्रमन्त्रीको निर्देशनलगत्तै निगमले उडानको व्यवस्था मिलाएको हो। यस विशेष उडानका लागि आवश्यक बीमा व्यवस्था सहज बनाउन राष्ट्रिय बीमा कम्पनीले प्राविधिक सहयोग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उडान तालिका

मन्त्रालयले विषम परिस्थितिमा पनि समन्वयकारी भूमिका निर्वाह गर्ने र विशेष उडान सञ्चालनमा सहयोग पुर्‍याउने सबै सरोकारवाला निकायहरूलाई धन्यवाद समेत दिएको छ। यो उडानले अलपत्र परेका नेपालीहरूलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।