
विराटनगर । जोगवनीस्थित भारतीय भन्सारमा रहेको ल्याण्ड पोर्ट अफ इन्डिया (एलपीआई) को कमजोर व्यवस्थापनका कारण विराटनगर भन्सारबाट हुने आयात-निर्यात प्रभावित भएको छ ।
ल्याण्ड पोर्ट अफ इन्डिया (एलपीआई) ले समयमा मालवाहक ढुवानीका साधन नछाड्दा आयात-निर्यात प्रभावित हुनुका साथै ढुवानी व्यवसायीहरू महँगो डिटेन्सन शुल्क तिर्न बाध्य भएको भन्सार स्रोतको गुनासो छ । जोगवनी नाकाबाट दैनिक औसत तीन सय मालवाहक ट्रक र कन्टेनर विराटनगर भित्रिने गरेका छन् ।
सुनसरी-मोरङ औद्योगिक क्षेत्रका उद्योगका लागि भारत र तेस्रो मुलुकबाट औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामान बोकेर आएका ट्रक र कन्टेनर मात्र नभएर नेपालबाट निकासीका लागि औद्योगिक उत्पादन बोकेर त्यहाँ पुगेका हरेक ढुवानीका साधन भारतीय भन्सार चेकजाँचका लागि उक्त एलपीआईमा पार्किङ गर्नुपर्ने बाध्यता छ।
भारतीय भन्सारले चेकजाँच गरिसकेपछि ल्याण्ड पोर्ट अफ इन्डिया (एलपीआई) ले पार्किङ शुल्क बुझेको रसिद दिएपछि मात्र त्यहाँबाट नेपालको भन्सारमा ढुवानीका साधन आउन पाउने प्रावधान छ ।
त्यहाँ पार्किङ गर्दा एउटा मालवाहक ढुवानीका साधनले एक दिनको कम्तीमा ५६० देखि ११२२ भारतीय रुपैयाँसम्म शुल्क तिर्नुपर्छ । एलपीआई भारतीय गृह मन्त्रालय मातहतको निकाय हो । नेपालतर्फ पनि गृह मन्त्रालय मातहतकै ट्रान्स नेपालले पार्किङको व्यवस्था गर्दै आएको छ ।
भन्सारले चेकजाँच गरिसकेपछि ल्याण्ड पोर्ट अफ इन्डिया (एलपीआई) बाट मालवाहक ट्रक र कन्टेनर निकाल्नै हम्मे पर्छ । एलपीआईको कमजोर व्यवस्थापनका कारण भन्सार चेकजाँच भइसकेका ढुवानीका साधनलाई शुल्क तिरेको रसिद पाउनै सकस पर्छ । एक भन्सार एजेन्टका अनुसार एलपीआईमा कर्मचारीको व्यवस्थापन नै छैन । तीन-चार सय ढुवानीको पार्किङ शुल्क बुझ्ने एक कर्मचारी मात्र छन् । ती कर्मचारी पनि समयमा काम गरिदिँदैनन् ।
भन्सार चेकजाँच भइसकेको गाडी पार्किङबाट निकाल्न कम्तीमा पनि ५-६ घण्टा लाग्ने गरेको छ । पार्किङ शुल्क तिर्न मात्र घण्टौं लाइन लाग्नुपर्ने बाध्यता छ । घण्टौं लाइन लागेर पार्किङ शुल्क तिरेर गाडी नेपाल ल्याउने तरखर गर्दा कर्मचारीले गेट नै बन्द गर्ने गरेको ती एजेन्टको गुनासो छ ।
एलपीआईको कमजोर व्यवस्थापनका कारण पार्किङका लागि ढुवानीका साधन छिराउनै हम्मे पर्छ । छिराएपछि निकाल्न सकस हुन्छ । ती एजेन्टले भने, ‘एलपीआईका कर्मचारीले समयमा काम गरिदिँदैनन् । बेलुका ८ बजे नै गेट बन्द गरेर भोलिपल्ट बिहान ८ बजे मात्र गेट खोल्छन् ।’
त्यस्तो अवस्थामा भन्सार चेकजाँच भएका गाडी रातभरि भारतीय क्षेत्रमै बस्नुपर्ने बाध्यता छ । यसरी बस्दा ढुवानीकर्ताले गाडीको डिटेन्सन शुल्क तिर्नुपर्ने हुन्छ । उनका अनुसार डिटेन्सन शुल्क प्रतिगाडी भारु ४ देखि ५ हजारसम्म तिर्नुपर्ने बाध्यता छ । त्यसैगरी प्रति कन्टेनर डिटेन्सन शुल्क ५० डलरसम्म लाग्ने गरेको छ ।
पश्चिम एसिया युद्धका कारण भारत र तेस्रो मुलुकबाट जोगवनी नाका हुँदै औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामान बोकेर आउने ट्रक र कन्टेनर घट्दो छ । आएका ट्रक कन्टेनर पनि भारतीय भन्सारमा रहेको ल्याण्ड पोर्ट अफ इन्डिया (एलपीआई) को कमजोर व्यवस्थापनले नेपाल भित्र्याउन सकस पर्दा यो नाकाको आयात-निर्यात नै प्रभावित बनेको विराटनगर भन्सार प्रमुख उमेश श्रेष्ठको प्रतिक्रिया छ ।
‘भन्सार चेकजाँच भइसकेका मालवाहक साधन ल्याण्ड पोर्ट अफ इन्डिया (एलपीआई) बाट निकाल्नै सकिँदैन,’ श्रेष्ठले भने, ‘चेकजाँच भइसकेका ट्रक कन्टेनर पनि एलपीआईकै कमजोरीका कारण रातभरि भारतमै राख्नुपर्ने बाध्यताले जोगवनी नाकाबाट हुने आयात-निर्यात मात्र नभएर विराटनगर भन्सारको दैनिकीसमेत प्रभावित बनेको अवस्था छ ।’








प्रतिक्रिया