लहानमा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

0
Shares

सिराहा । लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर-आत्माराम मुरारका ब्लड बैंक’ निर्माण हुने भएको छ ।

रगतको अभावमा बिरामीले भोग्नु परिरहेको सास्तीलाई दृष्टिगत गर्दै लहान नगरपालिका, लायन्स क्लब र स्थानीय दाताका परिवारबीच सोमबार त्रिपक्षीय समन्वयमा यो परियोजना अघि बढाइएको हो ।

ब्लड बैंक स्थापनाका लागि लहान नगरपालिका र लायन्स क्लबबीच औपचारिक सम्झौता भएको छ । यसका लागि लहान १० स्थित निर्माणाधीन नगर अस्पतालसँगै जोडिएको तीन कट्ठा जग्गा उपलब्ध गराउने सहमति भएको हो ।

भौतिक संरचना निर्माणका लागि लहानका प्रतिष्ठित उद्योगपति एवं समाजसेवी मुरारका परिवारले ४० लाख सहयोग गर्ने भएका छन् । उक्त भवनको नाम स्वर्गीय प्रमेश्वर मुरारका र आत्माराम मुरारकाको स्मृतिमा राखिनेछ ।

यसैगरी, लायन्स क्लबले ब्लड बैंकका लागि आवश्यक पर्ने एक करोड ५० लाखभन्दा बढी मूल्यका अत्याधुनिक प्राविधिक उपकरणहरू उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

नगरप्रमुख महेशप्रसाद चौधरीले ब्लड बैंकको स्थापना यस क्षेत्रको स्वास्थ्य उपचारमा एउटा ठूलो उपलब्धि हुने बताए ।

‘लहान आसपासका सय किलोमिटर क्षेत्रसम्म भरपर्दो ब्लड बैंक नहुँदा आकस्मिक उपचारमा ठूलो समस्या थियो’, उनले भने, ‘हाम्रो प्राथमिकता नागरिकको स्वास्थ्य हो र यो ब्लड बैंकको स्थापनाले आपतकालीन अवस्थामा रगत खोज्दै भौतारिनुपर्ने समस्यालाई जरैदेखि समाधान गर्नेछ ।’

दाता पक्षका तर्फबाट मुरारीलाल मुरारकाले आफ्ना पिता र काकाको नाममा स्वास्थ्य क्षेत्रमा सेवा गर्न पाउनु गौरवको विषय भएको बताए ।

उनका अनुसार स्वर्गीय प्रमेश्वर मुरारका र आत्माराम मुरारकाले लहानको प्रादेशिक अस्पताल, जेएस मुरारका बहुमुखी क्याम्पस, विज्ञान प्रयोगशाला र माडबाडी सेवा सदनजस्ता संस्थाको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए ।

‘हाम्रो परिवारले शिक्षा र स्वास्थ्यलाई सधैँ प्राथमिकतामा राख्दै आएको छ’, मुरारकाले भने, ‘अन्तरराष्ट्रियस्तरको ब्लड बैंक निर्माणपछि हामी अन्य सामाजिक क्षेत्रमा पनि सहयोग जारी राख्नेछौँ ।’

यो केन्द्र सञ्चालनमा आएपछि लहानसहित छिमेकी जिल्ला सप्तरी, धनुषा र उदयपुरका बिरामीले प्रत्यक्ष लाभ पाउनेछन् ।