सम्पूर्ण अपडेट

प्रतिनिधि सभा निर्वाचनसँगै कोशीबाट श्रम संस्कृति पार्टीको उदय


विराटनगर । जेनजी विद्रोहपछि फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मत परिणामले कोशीबाट श्रम संस्कृति पार्टीको उदय भएको छ ।

यो पार्टीले निर्वाचनमा पहिलो सहभागितामै सुनसरी–१ सहित भोजपुर र खोटाङमा प्रतिनिधि सभा सदस्यमा ठूला दललाई पन्छाउँदै जित दर्ता गरेको छ ।

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका निवर्तमान मेयर हर्क साम्पाङसहित तीनजनाले संसद प्रवेशको टिकट जनताबाट लिइसकेका छन् । कोशी प्रदेशमा आइतबार अपराह्नसम्म रास्वपा बाहेक श्रम संस्कृति पार्टीको हैसियत कांग्रेस र एमाले समान बनेको छ ।

दलका अध्यक्ष साम्पाङ सुनसरी क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई भारी मतान्तरले पराजित गर्दै संसद भवन छिर्ने पक्का भएको छ । साम्पाङले ३५ हजार ७४१ मत ल्याउँदा रास्वपाकी गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् । यहाँ एमालेका टिकाराम लिम्बुले ६ हजार ४६३ र नेपाली कांग्रेसका सुजेन्द्र तामाङले केवल ३ हजार ९७० मत प्राप्त गरेका छन् ।

यो पार्टीले खोटाङ र भोजपुरमा पनि जित हात पारेको छ । खोटाङमा आरेन राईले १६ हजार ६१२ मत ल्याएर प्रतिनिधि सभा सदस्य बन्दा एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत पाए । यहाँ कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत ल्याए ।

त्यसैगरी श्रम संस्कृति पार्टीले भोजपुरमा प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै दलका लागि प्रतिनिधि सभा सदस्य संख्या तीन पुर्‍याएको छ । त्यहाँ यो पार्टीका ध्रुवराज राईले १६ हजार ६६३ मत ल्याएर जित दर्ता गर्दा एमालेका शेरधन राई १४ हजार ७५० मतमा रोकिएका छन् ।

श्रम संस्कृति पार्टीले सुनसरी–१, भोजपुर र खोटाङमा जित दर्ता गर्दै प्रदेशका १४ वटै जिल्लामा प्रभावशाली उपस्थिति जनाउँदै झण्डै आधा दर्जन निर्वाचन क्षेत्रमा ठूला दल कांग्रेस, एमाले, राप्रपा र नेकपालाई मत संख्यामा उछिनेको छ ।

कोशी प्रदेशको २८ निर्वाचन क्षेत्रमध्ये आइतबार अपराह्नसम्म २४ वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये १५ सिटमा रास्वपा, कांग्रेस, एमाले र श्रम संस्कृतिले समान ३–३ सिटमा जित दर्ता गर्दा यो प्रदेशमा नेकपा, राप्रपा लगायतका दलले जितको खाता खोल्न सकेनन् । रास्वपाले झापा, मोरङ र उदयपुरमा क्लीन स्वीप गरेको छ ।

तीन सिट जितसँगै श्रम संस्कृति पार्टीले झापा–१ मा १० हजार ४ मत ल्याएर तेस्रो भएको छ । त्यहाँ रास्वपा पहिलो हुँदा कांग्रेस दोस्रो भएको छ । झापा–२ मा ७ हजार २९१, झापा–३ मा ७ हजार ३३९, ४ मा ७ हजार १६१ र झापा–५ मा ९ हजार २३३ मत ल्याएर यो पार्टीले बलियो उपस्थिति जनाएको छ ।

त्यसैगरी मोरङको क्षेत्र १ मा रास्वपाले जित दर्ता गर्दा श्रम संस्कृति पार्टीले १७ हजार ५२२ मत ल्याएर उपविजेता बन्यो । मोरङ–३ मा यो दलले १६ हजार ५०१ मत ल्याएर तेस्रो बन्यो । त्यसैगरी सुनसरी–१ मा जित दर्ता गर्दा २ मा ६ हजार ३४५ मत सहित तेस्रो बन्यो । यहाँ कांग्रेस दोस्रो छ ।

पाँचथरमा कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी हुँदा श्रम संस्कृतिका हस्तराज शेर्मा १४ हजार ७३४ मत ल्याएर उपविजेता बने । उनी यहाँ २ हजार ४९९ मतले पछि रहे । यो पार्टीले धनकुटामा ११ हजार ९३२ मत ल्याएर तेस्रो हुँदा ताप्लेजुङमा ५ हजार २०९ मतको उपस्थिति देखायो । त्यसैगरी इलाम, ओखलढुङ्गा, तेह्रथुम र संखुवासभामा पनि श्रम संस्कृति पार्टीले यो निर्वाचनमा आफ्नो उपस्थिति देखाएको छ ।

कोशी प्रदेशको झापाका ५ वटै क्षेत्रमा रास्वपाले क्लीन स्वीप गरेको छ । क्षेत्र नम्बर १ मा निशा डाँगी, क्षेत्र नम्बर २ मा इन्दिरा राना, क्षेत्र नम्बर ३ मा प्रकाश पाठक, क्षेत्र नम्बर ४ मा शम्भु प्रसाद ढकाल र क्षेत्र नम्बर ५ मा बालेन्द्र शाहले जित निकाले ।

यस्तै मोरङका ६ वटै क्षेत्रमा पनि रास्वपाले क्लीन स्वीप गरेको छ । मोरङको क्षेत्र नम्बर १ मा यज्ञमणि न्यौपाने, २ मा कृष्ण कार्की, ३ मा गणेश कार्की, ४ मा सन्तोष राजवंशी, ५ मा आशा झा र ६ मा रुविना आचार्यले जित निकालिन् । त्यसैगरी उदयपुरका २ वटै निर्वाचन क्षेत्रमा रास्वपाले जितेको छ । त्यहाँ क्षेत्र नम्बर १ बाट पारशमणि गेलाल र क्षेत्र नम्बर २ बाट सूर्यबहादुर तामाङ निर्वाचित भए ।

यस्तै सुनसरीका ४ मध्ये १ वटा क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी बने । क्षेत्र नम्बर ३ मा रास्वपाका अशोककुमार चौधरी विजयी बने । सुनसरी–१ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङ विजयी हुँदा क्षेत्र नम्बर २ र ४ मा रास्वपाकै उम्मेदवार भारी मतान्तरले अगाडि छन् ।

ताप्लेजुङमा एमालेका क्षितिज थेबेले बाजी मारे । उनले कांग्रेसका गजेन्द्र प्रसाद तुम्याङ लिम्बूलाई पराजित गरेका हुन् । यस्तै पाँचथरमा भने कांग्रेसका नरेन्द्रकुमार केरुङ निर्वाचित भए । उनले निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हस्तराज शेर्मालाई पराजित गरेका हुन् ।

इलाम २ नम्बर निर्वाचन क्षेत्रमा भने एमालेका सुहाङ नेम्वाङ निर्वाचित भए । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका भेषराज आचार्यलाई पराजित गरेका हुन् । त्यस्तै ओखलढुङ्गाबाट रास्वपाका विश्वमणि पोखरेल निर्वाचित हुँदा खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई विजयी बने । धनकुटामा एमालेका राजेन्द्र राई विजयी हुँदा तेह्रथुममा भने कांग्रेसका सन्तोष सुब्बा निर्वाचित भए । सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्कीले बाजी मारे ।