
काठमाडौं । सरकारले आजदेखि निर्वाचन अवधिभर मादक पदार्थको बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । निर्वाचन सुरु हुनभन्दा ७ दिन अघिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुँदासम्म मदिराको विक्री विरणमा लगाउन सक्ने प्रतिबन्धको व्यवस्था अनुसार उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो।
यही फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ। निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ को दफा ३ अनुसार गठित समितिको बैठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न उक्त निर्णय गरेको जनाएको छ।
निर्वाचन आयोगका अनुसार सुरक्षा अवस्थाको मूल्यांकन, सुरक्षा व्यवस्थासम्बन्धी मार्गदर्शन तथा सिफारिसका आधारमा आवश्यक अन्य निर्णयहरू पनि समितिबाट भई कार्यान्वयनमा आइसकेका छन्।
समितिको निर्णयअनुसार फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध हुनेछ। यस अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई निर्देशन दिएको छ।
जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति र संयन्त्र परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहिता, २०८२ अनुसार निषेध गरिएका गतिविधि हुन नदिने र उल्लङ्घन भएमा तत्काल कानुनबमोजिम कारबाही गरी आयोगलाई जानकारी गराउने व्यवस्था गरिएको छ।
मतदानको दिन अत्यावश्यक सेवा, कूटनीतिक नियोग तथा निर्वाचन प्रयोजनका लागि पास प्राप्त सवारीसाधनबाहेक अन्य सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। यो व्यवस्था फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्म लागू हुनेछ।
अत्यावश्यक सेवाअन्तर्गत एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारीसाधन, विद्युत्, खानेपानी तथा ढल मर्मत, साथै दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारीसाधन समावेश छन्।
मदिराको आयात अस्वभाविक रुपमा बढ्यो
चुनावले अर्थतन्त्रलाई चलायमान गराउँछ र अर्थतन्त्रका विविध पाटोमा चुनावले गर्ने योगदानमध्ये मदिराको खपतमा पनि वृद्धि हुने गरेको उदाहरण पछिल्लो सात महिनाको मदिरा आयातले देखाएको छ ।
नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को सात महिना (साउन–माघ)सम्ममा ६० लाख लिटर मदिरा भित्रिएको छ । उक्त मदिरा आयात ६ अर्ब ४१ करोड रुपैयाँ भन्सार मूल्यको रहेको छ । नेपालमा भित्रिएको मदिराबाट सरकारले १० अर्ब ३५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
चुनावी महिना भएकाले फागुनमा यसको खपत अझ बढी भएको हुनसक्छ । फागुन महिनामा मदिरा आयात पनि बढेको हुनसक्ने भए पनि त्यसको तथ्यांक भने चैतमा मात्रै सार्वजनिक हुन्छ ।
पछिल्लो सात महिनामा ३ अर्ब ८४ करोड रुपैयाँले मदिरा आयात बढेको छ । गत वर्षको सोही अवधिमा २० लाख लिटर मदिरा २ अर्ब ५६ करोड रुपैयाँ भन्सार मूल्यको भित्रिएको थियो । गत वर्ष माघसम्म सरकारले उक्त मदिराबाट ३ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन गरेको तथ्यांकले देखाउँछ ।
पछिल्लो सात महिनामा भित्रिएको मदिरा गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा ३ अर्ब ८४ करोड रुपैयाँले बढी हो । यो अवधिमा मदिराको परिमाण २० लाख लिटरबाट बढेर ६० लाख लिटर पुगेको छ । यसले गत वर्षको सोही अवधिको तुलनामा मदिरा आयात तीन गुणाले बढेको देखाउँछ । यो तथ्यांक चुनावअघिको महिनासम्मको हो ।
चुनावअघिको एक महिनामा मात्रै पनि नेपालमा मदिरा आयात उल्लेख्य रूपमा बढ्ने गरेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २० लाख लिटर मदिरा आयात भएकोमा माघ महिनामा मात्रै ४० लाख लिटर मदिरा भित्रिएको छ ।
पुससम्म जम्मा १ अर्ब ६३ करोड रुपैयाँको मदिरा आयात भएकोमा माघमा मात्रै ४ अर्ब ७८ करोड रुपैयाँको मदिरा आयात भएको तथ्यांकले देखाएको छ । माघसम्म भित्रिएको मदिराबाट सरकारले १० अर्ब ३५ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।
गत वर्ष २०८१ को पुससम्म जम्मा १७ लाख लिटर मदिरा आयात भएको थियो । गत वर्ष माघमा २ लाख ३८ हजार लिटर मदिरा आयात भएको थियो । उक्त महिनामा ६४ करोड रुपैयाँ बराबरको मदिरा आयात भएको थियो ।
गत वर्षको तुलनामा यस वर्ष बढेको मदिरा आयात र खपतले चुनावी वर्षमा मदिराको प्रयोग उल्लेख्य रूपमा बढ्ने गरेको पुष्टि गरेको छ ।
अर्थतन्त्र चलायन बनाउन चुनाव कुर्नुपर्ने बाध्यता नै विडम्बना
नेपालमा चुनाव अर्थतन्त्र चलायमान हुन चुनाव कुर्नुपर्ने बाध्यता नै विडम्बना भएको अर्थशास्त्री डिल्लीराज खनालले बताए । उनले भने ‘पहिलो कुरो त नेपालको अर्थतन्त्र चलायमान गराउन चुनाव पर्खनुपर्ने, यही बेला मात्रै बेस्सरी खर्च हुने र अन्य समयमा अर्थतन्त्रको गति नै सुस्त हुनु नै बिडम्बना हो ।’
चुनाव भइदियो भने अर्थतन्त्र उकास्न सकिन्छ कि भनेर बस्नुभन्दा नियमति रुपमा चलायनमा गराउने बनाउनसक्नु महत्वपूर्ण हुन्छ । चुनावमा बहिरबाट पैसा आउने, लुकाएको धन बाहिरिने, बैंकबाट पैसा बाहिरिने, चन्ददेखि लिएर खर्च हुने अन्य क्षेत्रमा त्यतिनै बढेको देखिन्छ । पछिल्लो समय चुनावमा खर्च बढेको मदिरामा पनि हो । अर्थशास्त्री खनालका अनुसार मदिरामा बढी खर्च हुने भएकोले पनि भन्सार विभागको तथ्यांकले इम्पोर्ट स्वीइङ भएको देखाएको हो ।
अर्को विषय नेपालीको मदिरा खपत गर्ने क्षमता पनि बढाएको छ । खर्च गर्ने क्षमता बढेसँगै मदिरा आयातको तथ्यांक बढेको देखाएको छ । नेपालमा गत वर्षको तुलनमा मदिरा आयात बढ्नुलाई चुनावकै कारण भएको हो । गत वर्षको तुलनामा चुनाव अगाडि बढेको मदिरा आयात चुनाव पछि फेरि घट्ने दाबी उनको छ ।









प्रतिक्रिया