आर्थिक गतिविधि बढ्दा ५ वर्षपछि विराटनगर भन्सार लक्ष्यअनुसार राजस्व उठाउन सफल


विराटनगर । चुनावी सरगर्मी बढेसँगै कोशी प्रदेशको प्रमुख व्यापारिक नाका विराटनगर–जोगवनीमा आर्थिक कारोबारमा सुधार आएको छ।

यसको प्रत्यक्ष प्रभाव विराटनगर भन्सारको राजस्व असुलीमा परेको छ। यो भन्सारले विगत पाँच वर्षदेखि हरेक वर्ष मात्र नभएर हरेक महिना लक्ष्यअनुसार राजस्व असुली गर्न सकेको थिएन । तर, गत माघ महिनामा भने विराटनगर भन्सारले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । यसलाई भन्सार प्रशासनले जेनजी आन्दोलनपछि व्यापारिक कारोबारमा सामान्य सुधार हुनु र चुनावी गतिविधिको प्रभाव भनेको छ ।

पाँच वर्षपछि विराटनगर भन्सारले गत माघ महिनामा लक्ष्यभन्दा बढी राजस्व असुली गर्न सफल भएको छ । प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार जेनजी आन्दोलनपछि पहिलो पटक व्यापारमा सामान्य सुधार आउनु र चुनावी गतिविधिको प्रभावका कारण औद्योगिक उत्पादन र कच्चा पदार्थको आयात–निर्यात कारोबारमा सुधार आउँदा राजस्व असुलीमा पनि सुधार देखिएको हो ।

व्यापारिक र दैनिक उपभोग्य सामान तस्करीबाट भित्रिने क्रम रोकिएको छैन । त्यस्ता सामानको आयात सामान्य नै छ। तर, पछिल्लो समय औद्योगिक कच्चा पदार्थ, फलामजन्य वस्तु, कच्चा तेललगायतका सामानको आयातमा सुधार हुँदा राजस्व संकलनमा पनि सुधार आएको श्रेष्ठको भनाइ छ।

दैनिक औसत १२ करोड राजस्व असुली लक्ष्य तोकिएको विराटनगर भन्सारले गत माघमा ३ अर्ब २३ करोड ६० लाख ८३ हजार राजस्व असुली लक्ष्य हुँदा १०२ प्रतिशत अर्थात् ३ अर्ब ३३ करोड १३ लाख एक हजार राजस्व असुली गरेको छ । यो प्रगति विगत पाँच वर्षयताकै पहिलो सफलता भएको विराटनगर भन्सारको भनाइ छ ।

यो भन्सार कार्यालयले गत पुसमा लक्ष्यको ९३, मंसिरमा ८३, कात्तिकमा ५५, असोजमा ८२, भदौमा ८० र साउनमा ७८ प्रतिशत मात्र राजस्व असुली गरेको थियो। चालू वर्ष यो कार्यालयको राजस्व असुली लक्ष्य ४१ अर्ब ३४ करोड ७९ लाख ६० हजार तोकिएको छ।
त्यसैगरी आर्थिक वर्ष २०७७/७८ मा ८८.४५ प्रतिशत, आर्थिक वर्ष २०७८/७९ मा ८१.४१, आर्थिक वर्ष २०७९/८० मा ५५.२०, आर्थिक वर्ष २०८०/८१ मा ५९.७२ र आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ८०.९२ प्रतिशत मात्र यो भन्सार कार्यालयले राजस्व असुली गरेको थियो ।

पछिल्लो समय औद्योगिक उत्पादन कम्तीमा २० प्रतिशतले बढ्दा कच्चा पदार्थको आयातमा सामान्य वृद्धि भई भन्सार राजस्व असुलीमा सुधार आएको उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीको बुझाइ छ।

जेनजी आन्दोलनको प्रभाव र राज्यको गलत औद्योगिक नीतिका कारण सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगको उत्पादन बढीमा ५०–६० प्रतिशत मात्र थियो । पछिल्लो समय अवस्थामा सामान्य सुधार आउनुका साथै निर्वाचन गतिविधिका कारण औद्योगिक उत्पादनमा २० प्रतिशतसम्मले वृद्धि भएको राठीको अध्ययन छ।

दैनिक उपभोग्य वस्तुको तस्करी अत्यधिक छ । तस्करी रोकिने हो भने राजस्व असुलीमा थप सुधार आउने पक्का छ। तर, राज्यका संयन्त्रहरुकै सेटिङमा वर्षौंदेखि हुँदै आएको तस्करी चुनावका नाममा झन् बढेको एक व्यवसायीले बताए ।

‘तस्करी नियमित छ र चुनावका नाममा झन् बढ्दो छ,’ उनले भने, ‘सुरक्षा निकाय निर्वाचनमा केन्द्रित हुँदा हरेक निर्वाचनमा तस्करी बढ्छ, जसमा सुरक्षा निकायकै ‘सेटिङ’ हुने गर्छ ।’