
काठमाडौं । बिमा क्षेत्रमा सफलताको शिखर चुम्न धैर्य, निरन्तरता र इमानदार प्रयास चाहिन्छ । यहि उदाहरण बनेका छन् उत्तरी धादीङ, खनियाबास गाउँपालिकाका नारायण बहादुर गुरुङ । आफ्नो सम्पूर्ण जीवन बिमा क्षेत्रमा समर्पित गर्दै उनी सानिमा रिलायन्सबाट पाँच पटक एमडिआरटीको लक्ष्य हासिल गर्दै गर्दा तीन पटक सीईओटी बन्न सफल भए ।
हाल भक्तपुरको कमलविनायकमा बसोबास गर्दै आएका गुरुङ सानिमा रिलायन्स इन्स्योरेन्सको बनेपा क्षेत्रबाट बिमा व्यवसाय गर्दै आएका छन् । हाल सफल अभिकर्ताको परिचय बनाएका गुरुङको बिमा यात्रा भने सहज थिएन । उनी २०६१ सालमा अन्जानमै बिमा क्षेत्रमा प्रवेश गरेका थिए । तर, त्यतिबेला बिमालाई निरन्तरता दिन सकेनन् । जीवनले उनलाई अर्कै मोडमा पु¥यायो झण्डै १० वर्ष बैदेशिक रोजगारका क्रममा गल्फ मुलुकमा विताए ।
धादिङबाट एसएलसी उत्तीर्ण गरेर काठमाडौं छिरेका गुरुङ अध्ययनलाई नै छाडेर विदेशिए । लामो समय विदेशमा पसिना बगाएपछि स्वदेश फर्किएर उनले फेरि पढाइलाई निरन्तरता दिए । अहिले उनी समाजशास्त्रमा स्नातकोत्तर अध्ययनरत छन् । जीवनका उतारचढावबीच पढाइ र पेशालाई सँगसँगै अघि बढाइरहेका गुरुङको यात्रा धेरैका लागि प्रेरणादायी छ ।
उनको वास्तविक अभिकर्ता यात्रा भने काठमाडौंका घरबेटीबाट सुरु भएको हो । अभिकर्ता पेशामा सक्रिय घरबेटीको आग्रहमा उनले लाइसेन्स लिए । घरबेटीको शब्द आज पनि उनलाई स्मरणीय छ ‘तिम्रो कलेज बिहानको रहेछ, पार्ट टाइममा यस्तो गर्न सकिन्छ ।’ गुरुङ भन्छन्, ‘मैले खासै केही बुझ्या त थिइनँ, तर केही हुन्छ भने गरौँ न भन्ने लाग्यो ।’ यही साधारण सोचले उनको जीवनको दिशा नै बदलिदियो ।
गुरुङको पारिवारिक पृष्ठभूमि पनि रोचक छ । उनका बुवा इन्डियन आर्मीमा कार्यरत थिए । त्यसैले उनको जन्म भारतमा भयो । तर अध्ययन भने उत्तरी धादिङको खनियाबास गाउँपालिकास्थित बत्सलादेवी माध्यमिक विद्यालयबाट पूरा गरे । घरमा आमा–बुवा, तीन जना दाजुभाइ र दुई बहिनी गरी ठूलो परिवार । हाल भने उनको परिवार भक्तपुरमै बसोबास गरिरहेको छ ।
विदेशबाट फर्किएपछि भूकम्पपछिसम्म दुई–तीन वर्ष खासै केही नगरी समय बित्यो । ‘के गर्ने, कस्तो गर्ने?’ भन्ने द्विविधाकै बीच उनले फेरि बिमाकै कामलाई पूर्णकालिन रूपमा सुरु गरे । साबिक सानिमा लाइफ इन्स्योरेन्सको सुरुवाती दिनदेखि नै उनी यस यात्रामा जोडिए ।
सानिमामा प्रवेश गर्नुको प्रसंग पनि विशेष छ । उनले काम गरिरहेको अघिल्लो कम्पनीको सम्पूर्ण टिम नै सानिमा लाइफमा प्रवेश ग¥यो । यसले उनलाई नयाँ कम्पनीमा छिट्टै जम्न मद्दत ग¥यो । गुरुङ भन्छन्, ‘नयाँ कम्पनीमा अलिकति दुःख पनि हुन्छ, सेवा–सुविधाका कुरा पनि हुन्छन्, अवसर र चुनौती दुवै हुन्छन् ।’ यही सोचका साथ उनले आफूसँगै टिम निर्माणमा पनि कटिबद्ध भएर काम गरे, जसले सानिमामा उनको जग झनै मजबुत बनायो ।
आजसम्म उनले साढे ७ सयभन्दा बढी बिमा पोलिसी जारी गरिसकेका छन् । बिमामा सक्रिय भएदेखि उनले आफूलाई पूर्णकालिन रूपमा यही क्षेत्रमा समर्पित गरे । ‘बिमा बाहेक अन्य क्षेत्र रोज्ने सोच नै आएन,’ उनी स्पष्ट भन्छन्, ‘मैले अरु केही गर्ने कोसिस नै गरिनँ ।’

हाल उनको टिममा १५० भन्दा बढी अभिकर्ता आबद्ध छन् । तीमध्ये केही अत्यन्त सक्रिय छन् भने केही निष्क्रिय पनि । तर गुरुङको विश्वास भने स्पष्ट छ ुसही मार्गदर्शन, अनुशासन र निरन्तरताले बिमा क्षेत्रमा जुनसुकै व्यक्तिले पनि सफलता हासिल गर्न सक्छ ।
गाउँबाट शहर, विदेशदेखि स्वदेश, संघर्षदेखि सफलतास नारायण बहादुर गुरुङको कथा केवल व्यक्तिगत उपलब्धि मात्र होइन, नेपाली बिमा क्षेत्रमा सम्भावनाको सशक्त उदाहरण हो ।
बिमालाई दैनिक जीवनसँग जोडेर बुझाउने अभियान
नारायण बहादुर गुरुङ बिमालाई केवल वित्तीय उत्पादन होइन, भोलिको सुरक्षित जीवनको आधारका रूपमा प्रस्तुत गर्ने व्यक्तित्वका रूपमा परिचित छन् । बिमा क्षेत्रमा लामो अनुभव सँगालेका गुरुङले आफ्ना व्यक्तिगत सम्बन्ध, व्यवहारिक सोच र निरन्तर मेहनतका आधारमा उल्लेखनीय उपलब्धि हासिल गरेका छन् ।
उनले बिमा व्यवसायको सुरुवात चिनेजानेकै आफ्ना नातेदार, पारिवारिक नातागोता र साथीभाइबाट गरेका थिए । सुरुमा सीमित दायराबाट अगाडि बढे पनि कामप्रति देखाएको इमान्दारिता र परिणामले गर्दा एक परिवारबाट अर्को परिवार, एक सदस्यबाट अर्को सदस्य थपिँदै गयो । अहिले हेर्दा अचम्म लाग्ने उदाहरण पनि छन् ।
गुरुङका अनुसार एउटै परिवारका चार सदस्यले १३ वटा सम्म बिमा पोलिसी लिएका छन् । समय, आम्दानी र आवश्यकताअनुसार उनीहरूले बिमालाई निरन्तरता दिँदै आएका छन् । बजारमा अन्य लगानीका विकल्पबाट अपेक्षित प्रतिफल नआएको अवस्थामा बिमालाई सुरक्षित र भरपर्दो विकल्पका रूपमा लिन थालिएको उनी बताउँछन् ।
गुरुङ बिमा ‘गरौँ, गराऔँ’ भन्ने शैलीमा भन्दा पनि जीवनसँग जोडेर बुझाउने प्रयास गर्छन् । उनी भन्छन्, ‘म बिमालाई सामान्य भाषामा, सोझो पाराले बुझाउँछु। गाँस, बास, कपासपछि स्वास्थ्य र शिक्षा प्राथमिकतामा राख्नुपर्छ। स्वास्थ्य र शिक्षाका लागि बचत अनिवार्य हुन्छ।’ नेपाली समाजको संरचनालाई उदाहरण दिँदै उनी थप्छन्, ‘हाम्रो समाजमा छोराछोरीको बिहे, परिवारको दायित्व जस्ता धेरै जिम्मेवारी हुन्छन्। यिनै दैनिक जीवनसँग जोडिने विषयलाई समेटेर म बिमाको आवश्यकता बुझाउँछु ।’
उनको व्यवसायिक यात्राको अर्को महत्वपूर्ण पक्ष अन्तर्राष्ट्रिय स्तरको मान्यता एमडिआरटी हो । गुरुङले सानिमा रिलायन्सबाट निरन्तर ५ पटक एमडिआरटी हासिल गरिसकेका छन् । यसमध्ये ३ पटक सीओटी र २ पटक एमडिआरटी छन् । सानिमा रिलायन्स लाइफमा आबद्ध हुनु अघि काम गरेको कम्पनीमा पनि उनी एमडिआरटी क्वालिफाइड भए तापनि औपचारिक दाबी नगरेको उनी बताउँछन् ।

सन् २०२२ देखि २०२६ सम्म, यो पटकसहित उनले ५ पटक एमडिआरटीमा दर्ता गरिसकेका छन् । सीओटी उपलब्धि भने २०२२, २०२५ र २०२६ मा हासिल गरेका हुन् ।
व्यवसायिक प्रदर्शनका आधारमा सानिमा रिलायन्स लाइफमा उनी अग्रणीमध्ये एक मानिन्छन् । कम्पनीभित्र रोल मोडलका रूपमा आफूलाई प्रस्तुत गरिरहेका छन् । एमडिआरटी सम्मेलनमा सहभागी हुन उनले सन् २०२२ मा आवेदन दिएका थिए, तर अष्ट्रेलियाको भिसा नपाएको अनुभव पनि उनीसँग छ । साथै, एमडिआरटीको विश्वव्यापी मान्यताका लागि बुझाउनुपर्ने शुल्क नेपालजस्तो मुलुकका लागि खर्चिलो हुने उनी बताउँछन् ।
गुरुङको दृष्टिमा बिमा भनेको केवल जोखिम व्यवस्थापन मात्र होइन, भोलिको बचत र परिवारको आर्थिक सुरक्षाको माध्यम हो ।
‘केही परिआयो, भव्यतव्य भयो भने तपाईंको अनुपस्थितिमा परिवारले आर्थिक जोखिमबाट राहत पाउँछ,’ उनी भन्छन्। साथै, उनले समाजमा बचत संस्कृतिको आवश्यकता औंल्याउँछन् । “थोरै कमाए थोरै बचत, धेरै कमाए धेरै बचत गर्ने बानी बसाल्नुपर्छ । यहाँ बचत भनेको पैसाको मात्र होइन, समय र अन्य स्रोतको पनि हो,’ उनी जोड दिन्छन् ।
बिमालाई जीवनशैलीसँग जोडेर बुझाउने यही सोच र निरन्तरताले नारायण बहादुर गुरुङलाई बिमा क्षेत्रमा प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित गरेको छ ।









प्रतिक्रिया