
काठमाडौं । सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । सोमबार कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।
कम्पनीले गत पुस २९ गतेदेखि माघ ४ गतेसम्म सर्वसाधारणका लागि निष्काशन तथा बिक्री गरेको थियो । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
जसमध्ये १ करोड कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र १० लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेर बाँकी रहेको ८२ करोड रुपैयाँ बराबरको ८२ लाख कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ ।
सो सेयर खरिदका लागि २४ लाख ७१ हजार ७ जनाले २ करोड ९० लाख २७ हजार ४३० कित्ता सेयरको लागि आवेदन परेको थियो । जसमध्येमा कम्पनीको आईपीओ सेयर ८ लाख २० हजार जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् ।








प्रतिक्रिया