
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ लाई सफलतापूर्वक सम्पन्न गर्नका लागि ठूलो संख्यामा करारमा कर्माचार माग गरेको छ। कार्यालयले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै देशभर सञ्चालन हुने आर्थिक गणनाको स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण कार्यका लागि कुल ४ हजार ४ सय ३९ जना कर्मचारी भर्ना गर्न लागेको जानकारी दिएको हो। यसअन्तर्गत ५ सय २६ जना सुपरिवेक्षक र ३ हजार ९ सय १३ जना गणक गरी दुई पदका लागि दरखास्त आह्वान गरिएको छ।
योग्यताका हकमा सुपरिवेक्षक पदका लागि आवेदन दिन चाहने उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान राखिएको छ। त्यसैगरी, गणक पदका लागि भने १०+२ वा प्रमाणपत्र तह उत्तीर्ण गरेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।
यो रोजगारी साढे दुई महिनाको छोटो अवधिका लागि मात्र हुने भए पनि सरकारले आकर्षक पारिश्रमिकको व्यवस्था गरेको छ। सूचनाअनुसार सुपरिवेक्षकले मासिक ३४ हजार ७३० रुपैयाँ र गणकले मासिक ३२ हजार ९०२ रुपैयाँ तलब पाउनेछन्।
इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले सूचना प्रकाशित भएको २१ दिनभित्र अनलाइन माध्यमबाट आफ्नो दरखास्त पेस गरिसक्नुपर्नेछ। आवेदन दिनका लागि राष्ट्रिय तथ्याङ्क कार्यालयको आधिकारिक वेबसाइटमा गएर फारम भर्न सकिनेछ।
प्राप्त दरखास्तहरूमध्येबाट सुरुमा सर्टलिस्ट तयार पारिने र त्यसपछि अन्तर्वार्ताका माध्यमबाट योग्य उम्मेदवारहरूको अन्तिम छनोट गरिने कार्यालयले जनाएको छ। रित नपुगी आएका वा म्याद नाघेर प्राप्त भएका दरखास्तहरूमाथि भने कुनै कारबाही नहुने कार्यालयले स्पष्ट पारेको छ।








प्रतिक्रिया