
काठमाडौं, २८ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत काठमाडौंको भृकुटीमण्डपमा जारी बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन् ।
महामन्त्री शर्माले पेस गरेको प्रतिवेदनलाई ‘बदलिएको देश/बदल्नुपर्ने कांग्रेस : सद्भाव, सुशासन र समुन्नत नवीन यात्रा’ शीर्षक दिइएको छ । प्रतिवेदनमा बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशअनुसार कांग्रेसलाई संगठनात्मक, वैचारिक र कार्यशैलीगत रूपमा कसरी रूपान्तरण गर्नुपर्ने भन्ने विषय समेटिएको छ ।
बन्द सत्रमा महामन्त्री गगन थापाले राजनीतिक तथा नीति सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
विशेष महाधिवेशनको बन्द सत्र श्यामकुमार खड्काको अध्यक्षतामा सञ्चालन भइरहेको छ । सत्रले वर्तमान केन्द्रीय समिति विघटन गर्ने र १५औँ महाधिवेशन सम्पन्न नहुन्जेल नयाँ कार्यसमिति गठन गर्ने लगायतका प्रस्तावहरू पेस गरेको छ ।
यसअघि बन्द सत्रको हलले ध्वनि मतबाट महाधिवेशनको कार्यविधि अनुमोदन गरेको छ । कांग्रेस नेतृत्वले विशेष महाधिवेशनमार्फत संगठनलाई थप सुदृढ, लोकतान्त्रिक र समसामयिक बनाउने लक्ष्य लिएको जनाएको छ ।








प्रतिक्रिया