
एजेन्सी । सन् २०१७ मा राजनीति क्षेत्र बाहिरका व्यक्तित्व डोनल्ड ट्रम्प राष्ट्रपति बनेपछि डेल्सी रोड्रिगेजले एउटा अवसर देखिन् ।
भेनेजुएलाकी तत्कालीन विदेशमन्त्री रोड्रिगेजले सरकारी तेल कम्पनीको सहायक कम्पनी सिटगोलाई राष्ट्रपति ट्रम्पको शपथग्रहण समारोहका लागि ५ लाख डलर चन्दा दिन निर्देशन दिइन् । निकोलस मदुरोको समाजवादी प्रशासन भेनेजुएलाका जनतालाई खाना खुवाउन संघर्ष गरिरहेको बेलामा रोड्रिगेजले अमेरिकी लगानीको ढोका खोल्न सक्ने एउटा सम्झौतामा दाउ खेलिन् ।
त्यही समयको आसपासमा उनले ट्रम्पका पूर्व चुनाव प्रचार प्रबन्धकलाई सिटगोको पैरवीकर्ताका रूपमा नियुक्त गरिएको देखिन् । उनले अमेरिकी संसद्का रिपब्लिकनहरूलाई फकाइन् र एक्सन कम्पनीका प्रमुखसँग भेटघाट निश्चित गर्ने प्रयास गरिन् ।
यो आकर्षण अभियान असफल भयो । पदभार ग्रहण गरेको केही हप्ताभित्रै तत्कालीन सिनेटर मार्को रुबियोको आग्रहमा ट्रम्पले मदुरोले विपक्षीहरूमाथि गरेको दमनको प्रतिक्रियास्वरूप भेनेजुएलाको लोकतन्त्र पुनःस्थापनालाई आफ्नो मुख्य एजेन्डा बनाए । तर, यो पहुँच रोड्रिगेजका लागि फलदायी साबित भयो । त्यसले उनलाई अमेरिकाको व्यापारिक र राजनीतिक वृत्तमा एक प्रमुख अनुहार बनायो र उनको आफ्नै उदयको लागि मार्गप्रशस्त गर्यो ।
‘उनी विचारधाराप्रति वफादार तर व्यावहारिक छिन्,’ रोड्रिगेजको पहुँच विस्तारको समयमा काराकासमा शीर्ष अमेरिकी कूटनीतिकर्मी रहेका सेवानिवृत्त विदेश सेवा अधिकारी ली म्याक्लेनीले एपी समाचार संस्थालाई बताए, ‘भेनेजुएलालाई मृत्युशय्यामा पुगेको तेल अर्थतन्त्र पुनर्जीवित गर्ने बाटो खोज्नु आवश्यक थियो र उनी त्यसका लागि ट्रम्प प्रशासनसँग मिलेर काम गर्न इच्छुक देखिइन् भन्ने कुरा उनलाई थाहा थियो ।’
झन्डै एक दशकपछि भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिको रूपमा रोड्रिगेजले भेनेजुएला व्यापारका लागि खुला छ भन्ने सन्देश दिएर ट्रम्पलाई आश्वस्त पारेको देखिन्छ । शनिबार मदुरोको आश्चर्यजनक पक्राउपछिका दिनहरूमा उनले पालैपालो रोड्रिगेजलाई भलाद्मी अमेरिकी साझेदारको रूपमा प्रशंसा गरेका छन् भने अर्कोतर्फ उनले सत्तारूढ दललाई नियन्त्रणमा राखिनन् र अमेरिकालाई देशको विशाल तेल भण्डारमा पूर्ण पहुँच दिइनन् भने मदुरोको जस्तै नियति भोग्नुपर्ने धम्की समेत दिएका छन् ।
एउटा कुरा जुन दुवैले उल्लेख गरेका छैनन्, त्यो हो निर्वाचन । भेनेजुएलाको संविधानले राष्ट्रपति पद स्थायी रूपमा रिक्त भएको ३० दिनभित्र निर्वाचन हुनुपर्ने व्यवस्था गरेको छ ।
रोड्रिगेजको राजनीतिक उदयको यो विवरण एपीले १० जना पूर्व अमेरिकी र भेनेजुएलाका अधिकारीहरूका साथै दुवै देशका व्यवसायीहरूसँगको अन्तर्वार्ताबाट तयार पारेको हो । उनीहरूले रोड्रिगेजसँग व्यापक लेनदेन गरेका छन् र कतिपय अवस्थामा उनलाई बाल्यकालदेखि नै चिनेका छन् ।
धेरैजसोले प्रतिशोधको डरले गर्दा नाम नबताउने शर्तमा कुरा गरेका छन् । उनीहरूले रोड्रिगेजलाई अध्ययनशील, चलाख, कहिलेकाहीँ आकर्षक तर असहमति नसहने एक कठोर खेलाडीको रूपमा वर्णन गरे । रोड्रिगेजले एपीको अन्तर्वार्ता अनुरोधको जवाफ दिइनन् ।

रोड्रिगेज ह्युगो चाभेजले सुरु गरेको वामपन्थी आन्दोलनमा ढिलो गरी प्रवेश गरिन् । जेठा दाइ जर्ज रोड्रिगेजले उनलाई सहारा दिए । जर्जले नेशनल एसेम्बलीको प्रमुखको हैसियतमा सोमबार उनलाई अन्तरिम राष्ट्रपतिको रूपमा शपथ खुवाएका थिए ।
बाल्यकालको एउटा दुःखद घटनाले यी दाजुबहिनीमा कठोर वामपन्थी दृष्टिकोण दिलायो । त्यो उनीहरूको जीवनभर कायम रह्यो । सन् १९७६ मा शीतयुद्ध चलिरहेको बेलामा अमेरिकाका तेल कम्पनी, अमेरिकी राजनीतिक सल्लाहकार र पेन्टागनका सल्लाहकारहरूले भेनेजुएलामा ठूलो प्रभाव जमाएका थिए ।
त्यही बेलामा खासै नाम नसुनिएको एउटा शहरी छापामार समूहले मिडवेस्टका एक व्यवसायीलाई अपहरण गर्यो । रोड्रिगेजका पिता समाजवादी नेता थिए । उनलाई सोधपुछका लागि पक्राउ गरियो र हिरासतमा यातनाका कारण उनको मृत्यु भयो ।
रोड्रिगेजले आफ्ना भेटघाटहरूमा सो हत्याको कुरा उठाउने गरेको र ७ वर्षको उमेरमा आफू टुहुरो हुनुमा तीतोपनका साथ अमेरिकालाई दोष दिने गरेको म्याक्लेनी सम्झन्छन् । त्यस अपराधले त्यतिबेलाकै अर्का वामपन्थी नेता मदुरोलाई पनि कट्टर बनायो ।
वर्षौंपछि जर्ज रोड्रिगेज चाभेजको मातहतमा एक शीर्ष निर्वाचन अधिकारी थिए । उनले आफ्नी बहिनीका लागि राष्ट्रपतिको कार्यालयमा एउटा पद सुरक्षित गरिदिए ।
तर, सुरुमा उनको प्रगति सुस्त भयो र उनले सहकर्मीहरूसँग संघर्ष गर्नुपर्यो । उनीहरू उनलाई अति जान्ने सुन्ने अहंकारीका रूपमा हेर्थे ।
सन् २००६ मा अन्तर्राष्ट्रिय भ्रमणको क्रममा चाभेजले उनलाई राष्ट्रपतिको विमानबाट बाहिर निकाल्दै मस्कोबाट एक्लै घर फर्कन आदेश दिएका थिए । त्यस भ्रमणमा रहेका दुई पूर्व अधिकारीका अनुसार, चाभेज प्रतिनिधिमण्डलको बैठकको तालिका भताभुंग भएकोमा रिसाएका थिए । भ्रमण एजेन्डाको जिम्मेवारी सम्हालेकी रोड्रिगेजसँग उनको विवाद निम्त्याएको थियो ।
‘चाभेजले उनको बारेमा कसरी कुरा गर्थे त्यो देख्दा पीडा हुन्थ्यो,’ तीमध्ये एक पूर्व अधिकारीले भने, ‘उनले महिलाहरूको बारेमा कहिल्यै नराम्रो कुरा गर्दैनथे तर घर फर्कने पूरै उडानभरि उनले रोड्रिगेज अहंकारी, घमण्डी र अक्षम भएको भनिरहे ।’
केही दिनपछि उनलाई जागिरबाट निकालियो र चाभेजको पालामा उनले फेरि कहिल्यै अर्को उच्चस्तरीय पद पाइनन् ।
वर्षौंपछि सन् २०१३ मा चाभेजको क्यान्सरबाट मृत्यु भएपछि र मदुरोले सत्ता सम्हालेपछि उनले रोड्रिगेजको करियरलाई पुनर्जीवित गरिदिए ।
बेलायत र फ्रान्समा शिक्षित वकिल रोड्रिगेज अंग्रेजी बोल्छिन् र उनले अमेरिकामा धेरै समय बिताएकी छन् । यसले उनलाई चाभिज्मो (चाभेजले सुरु गरेको आन्दोलन) भित्रको आन्तरिक शक्ति संघर्षमा फाइदा गरायो । त्यसका धेरै गुटमा लोकतान्त्रिक समाजवादीहरू छन् । चाभेजले सन् १९९२ को असफल कू प्रयासमा नेतृत्व गरेका सैन्य कट्टरपन्थी र भ्रष्ट पात्रहरू सामेल छन् । तीमध्ये कतिपयको लागूऔषध ओसारपसारसँग सम्बन्ध छ ।
उनको सांसारिक दृष्टिकोण र परिष्कृत सोचले रोड्रिगेजलाई तथाकथित बोलिगार्क्स अर्थात् चाभेजको बोलिभेरियन क्रान्तिको समयमा धन आर्जन गर्ने नयाँ सम्भ्रान्त वर्गको प्रिय बनायो । तीमध्ये एक भित्री पात्र मिडिया टाइकुन राउल गोरिनले पहिलो कार्यकालको ट्रम्प प्रशासनसँग सम्बन्ध सुधार्न रोड्रिगेजको अनौपचारिक प्रयासहरूमा मिलेर काम गरे ।
अप्रिल २०१८ मा टेक्ससका रिपब्लिकन प्रतिनिधि पिट सेसन्सलाई मदुरोसँगको भेटका लागि काराकासको गोप्य भ्रमण गराउन उनले मद्दत गरे । त्यसको केही महिनापछि अमेरिकाका संघीय अभियोजकहरूले गोरिनविरुद्ध सम्पत्ति शुद्धीकरणका दुईवटा अभियोगहरूमध्ये पहिलो अभियोग सार्वजनिक गरे ।
मदुरोले सन् २०१८ मा रोड्रिगेजलाई उपराष्ट्रपति पदमा बढुवा गरेपछि उनले भेनेजुएलाको तेल अर्थतन्त्रको ठूलो हिस्सामा नियन्त्रण जमाइन् । तेल–राज्य व्यवस्थापनमा सहयोगका लागि उनले विश्व बजारको अनुभव भएका विदेशी सल्लाहकारहरू ल्याइन् ।
तीमध्ये इक्वेडरका दुई पूर्व अर्थमन्त्रीहरू थिए जसले अर्का वामपन्थी राफायल कोरेआको मातहतमा डलरमा आधारित, निर्यातमुखी अर्थतन्त्र चलाउन मद्दत गरेका थिए । अर्का प्रमुख सहयोगी फ्रान्सेली वकिल डेभिड सैयद हुन् । उनले वर्षौंदेखि भेनेजुएलाको विदेशी ऋण पुनःसंरचना गर्ने प्रयास गरिरहेका छन् । विशेषगरी कठिन अमेरिकी प्रतिबन्धहरूका कारण त्यसले वाल स्ट्रिटका लगानीकर्ताहरूलाई भुक्तानी पाउन असम्भव बनाएको छ ।
‘उनले आफ्नो राजनीतिक करियरका लागि आफ्नो व्यक्तिगत जीवन त्यागिन्,’ एक पूर्व साथीले भने ।

उनले थप शक्ति सञ्चय गरिन् । उनले आफ्ना आन्तरिक प्रतिद्वन्द्वीहरूलाई किनारा लगाइन् । तीमध्ये एक समयका शक्तिशाली तेलमन्त्री तारेक एल आइसामी पनि थिए । उनलाई सन् २०२४ मा रोड्रिगेजको नेतृत्वमा भएको भ्रष्टाचारविरोधी कारबाहीको क्रममा जेल पठाइएको थियो ।
भेनेजुएलाको प्रमुख सञ्चालन अधिकृतका रूपमा आफ्नो वास्तविक भूमिकामा रोड्रिगेज मदुरोभन्दा बढी लचिलो र भरपर्दो साझेदार साबित भइन् । कसै–कसैले उनलाई भेनेजुएलाकी तङ स्याओपिङ समेत भनेका छन् ।
उनले अर्थतन्त्रलाई गति दिने, चाभिज्मोलाई एकताबद्ध गर्ने र ट्रम्पले तोकेका कडा शर्तहरूबाट भेनेजुएलालाई जोगाउने प्रयास गर्दा यस अनुभवले उनलाई राम्रो सहयोग गर्ने ग्रेयलोक क्यापिटल म्यानेजमेन्टका प्रमुख कार्यकारी हान्स ह्युम्सले बताए ।
अहिले नै विपक्षी नेतृत्वको सरकार थोपर्दा इराकमा अमेरिकी सेनाले सद्दाम हुसेनलाई पदच्युत गरेपछि र वर्षौंदेखि निर्वासित नेताहरू सम्मिलित अस्थायी सरकार बनाएपछि भएको रक्तपात जस्तै स्थिति सिर्जना हुन सक्ने उनले बताए ।
‘देशबाहिर धेरै समय बसेका प्रवासीहरूलाई उनीहरूले छोड्नुअघि स्थिति जस्तो थियो अहिले पनि त्यस्तै हुनुपर्छ भनिरहेको हामीले देखेका छौं,’ मदुरो र रोड्रिगेजसँग धेरैपटक भेटघाट गरेका ह्युम्सले बताए, ‘तपाईंलाई यस्ता मानिसहरू चाहिन्छ जसलाई स्थिति पहिले जस्तो थियो त्यसरी होइन, अहिले जस्तो छ त्यसरी कसरी काम गर्ने भन्ने थाहा होस् ।’
रोड्रिगेजको व्यावहारिक नेतृत्व शैलीले भेनेजुएलाको लोकतन्त्रलाई कता लैजान्छ भन्ने कुरा अनिश्चित छ ।
मदुरोको पक्राउपछि ट्रम्पले नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचादोमा भेनेजुएलामाथि शासन गर्न आवश्यक सम्मानको अभाव रहेको टिप्पणी गरेका छन् । माचादोले छानेका उम्मेदवारले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा भारी मतले जितेको अमेरिका र अन्य सरकारहरूको विश्वास छ । उक्त निर्वाचन मदुरोले धाँधली गरेर जितेका थिए ।
चाभिज्मोका विभिन्न गुटहरू सत्तामा रहँदासम्म राष्ट्रपतिका लागि पश्चिमी गोलार्धबाट आपराधिक गिरोह, लागूऔषध तस्कर र मध्यपूर्वी आतंकवादीहरूलाई हटाउने लक्ष्य पूरा गर्न असम्भव रहेको पहिलो ट्रम्प प्रशासनको समयमा भेनेजुएलाका लागि विशेषदूत रहेका इलियट अब्राम्सले बताए ।
‘ट्रम्पले भनेका कुनै पनि कुराले उनको प्रशासनले डेल्सीबाट छिट्टै संक्रमणको परिकल्पना गरिरहेको संकेत गर्दैन । कसैले पनि निर्वाचनको बारेमा कुरा गरिरहेको छैन,’ अब्राम्सले बताए, ‘डेल्सीले सबै कुरा चलाइरहेकी छिन् जस्तो उनीहरूलाई लाग्छ भने उनीहरू पूर्ण रूपमा गलत छन् ।’








प्रतिक्रिया