
एजेन्सी । जर्मनीका राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमायरले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको नेतृत्वमा रहेको अमेरिकी विदेशनीतिको कडा आलोचना गरेका छन् ।
ट्रम्पको विदेशनीतिका कारण विश्व व्यवस्था लुटेराहरूको अखडामा परिणत भएको र त्यसो हुन नदिन उनले विश्वका सबै मुलुकलाई आग्रह गरेका छन् । विवेकहीनहरूले जे चाह्यो, त्यही हत्याउन पाइने अवस्था आउन दिन नहुने उनको भनाइ छ ।
असामान्य रूपमा कडा टिप्पणी गर्दै विदेशमन्त्री समेत रहिसकेका स्टाइनमायरले विश्वव्यापी लोकतन्त्रमाथि यसअघि कहिल्यै नभएको आक्रमण भइरहेको बताए ।
जर्मनीको राष्ट्रपतिको भूमिका धेरै हदसम्म आलंकारिक हुन्छ तर उनका शब्दहरूले विशेष महत्त्व राख्छन् ।
राजनीतिकर्मीहरूको तुलनामा उनलाई आफ्ना विचारहरू व्यक्त गर्ने बढी स्वतन्त्रता हुन्छ ।
रुसले क्राइमियालाई आफ्नो कब्जामा लिएको र युक्रेनमा गरेको पूर्ण स्तरको आक्रमणलाई एउटा निर्णायक मोडका रूपमा वर्णन गर्दै स्टाइनमायरले अमेरिकी व्यवहारले दोस्रो ऐतिहासिक विग्रहको प्रतिनिधित्व गरेको बताए ।
‘त्यसपछि हाम्रो सबैभन्दा महत्त्वपूर्ण साझेदार अमेरिकाद्वारा मूल्यमान्यताहरूको उल्लंघन भएको छ । त्यही मूल्यमान्यताले यो विश्व व्यवस्था निर्माण गर्न मद्दत गरेको थियो,’ बुधबार ढिलो गरी एक गोष्ठीमा सहभागी भएका स्टाइनमायरले भने, ‘यस विश्वलाई लुटेराहरूको अखडामा परिणत हुनबाट जोगाउनुपर्छ । त्यहाँ सबैभन्दा विवेकहीनहरूले जे चाहन्छन् त्यही हत्याउँछ । त्यहाँ क्षेत्रहरू वा सम्पूर्ण देशहरूलाई केही ठूला शक्तिहरूको सम्पत्तिको रूपमा व्यवहार गरिन्छ ।’
बिहीबार सार्वजनिक प्रसारक एआरडीले गरेको एक सर्वेक्षणले ७६ प्रतिशत जर्मनहरूले अब अमेरिका जर्मनीले भरोसा गर्न सक्ने साझेदार नभएको महसुस गरेको देखाएको छ । यो जुन २०२५ देखि ३ प्रतिशत विन्दुको वृद्धि हो ।
१५ प्रतिशतले मात्र जर्मनीले अब अमेरिकालाई विश्वास गर्न सक्छ भन्ने महसुस गरेका छन् । दृष्टिकोण सम्बन्धी नियमित सर्वेक्षणमा रेकर्ड गरिएको यो सबैभन्दा न्यून स्तर हो ।
यसको विपरीत झन्डै तीन–चौथाइले फ्रान्स र बेलायतमाथि भरोसा गर्न सकिने महसुस गरे ।
सर्वेक्षणले ६९ प्रतिशत जर्मनहरू युरोपको सुरक्षाप्रति चिन्तित रहेको पायो र लगभग त्यति नै संख्याले नेटो साझेदारहरूले गठबन्धनको सबैभन्दा शक्तिशाली सदस्य अमेरिकाको सुरक्षामा भर पर्न नसक्ने ठानेका थिए ।








प्रतिक्रिया