मदुरोले अमेरिकाको अदालतमा आफू निर्दोष भएको दाबी गरे


एजेन्सी । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई सोमबार दिउँसो न्युयोर्क शहरको संघीय अदालतमा पहिलोपटक उपस्थित गराइएको छ । त्यहाँ उनीहरू दुवैले आफूमाथि लगाइएका सबै आरोपहरूमा दोषी नरहेको बयान दिएका छन् ।

मदुरोले लागूऔषध–आतंकवाद षड्यन्त्र, कोकिन आयात षड्यन्त्र र हतियार सम्बन्धी आरोपहरूको सामना गरिरहेका छन् । फ्लोरेस र मदुरोका छोरा लगायत अन्य वरिष्ठ भेनेजुएलाली अधिकारीहरूले पनि आरोपहरूको सामना गरिरहेका छन् ।

अमेरिकाको जिल्ला न्यायाधीश एल्विन के. हेलरस्टाइनको इजलासमा मुद्दा चलिरहेको छ । सोमबारको सुनुवाइ एक घण्टाभन्दा कम समय चलेको थियो । त्यसमा मदुरो र फ्लोरेस दुवैले आफ्ना बयानहरू पेश गरे ।

अमेरिकाले काराकासमा आक्रमण गरी मदुरो र उनकी पत्नीलाई कब्जामा लिएर आरोपहरूको सामना गर्न शनिबार अमेरिका ल्याएयता मदुरो र फ्लोरेस सार्वजनिक रूपमा देखिएको यो पहिलोपटक हो ।

मदुरो अदालत कक्षमा प्रवेश गर्दा त्यहाँ उपस्थित मानिसहरूलाई नयाँ वर्षको शुभकामना भन्दै अभिवादन गरे ।

कारबाहीका क्रममा उनले आफूलाई भेनेजुएलाको राष्ट्रपतिका साथै युद्धबन्दीका रूपमा चिनाए । फ्लोरेसले आफूलाई भेनेजुएलाको प्रथम महिलाको रूपमा चिनाइन् । उनको दाहिने आँखा सुन्निएको देखिन्थ्यो र निधारमा पट्टी बाँधिएको थियो । त्यो अमेरिकी सैन्य कारबाहीका क्रममा लागेको चोट हुन सक्ने अनुमान गरिएको छ ।

मदुरोका प्रतिरक्षक वकिलले कोखाको करङ भाँचिएको वा चोट लागेको हुन सक्ने भन्दै एक्स–रे र चिकित्सा उपचारको माग गरेका छन् । उनीहरूका अनुसार, सैन्य कारबाहीका क्रममा मदुरोलाई चोटपटक लागेको थियो ।

अदालतमा एक व्यक्तिले उभिएर चिच्याउँदै भने, ‘तिमीले भेनेजुएलाली जनताको नाममा मूल्य चुकाउनुपर्नेछ ।’

मदुरो ती व्यक्तितर्फ फर्किए र जवाफ दिए, ‘म भगवानलाई मान्ने मान्छे हुँ ।’

सुनुवाइको अर्को मिति मार्च १७ का लागि तोकिएको छ ।

अदालतबाहिर भीड जम्मा भएको थियो र मानिसहरू निकै भावुक देखिन्थे । प्रदर्शनकारीहरूले ड्रम बजाए र भेनेजुएलाको राष्ट्रिय गान गाए ।

ट्रम्प प्रशासनको कदमको विरोध गर्ने कतिपयले मदुरोलाई रिहा गर्नुपर्ने माग गरे । अरू कतिपयले मदुरोको शासनकालमा भेनेजुएलाली जनताले भोग्नुपरेको कठोर अवस्थाको निन्दा गरे ।

न्युयोर्क शहरको डेनियल प्याट्रिक मोयनिहान युनाइटेड स्टेट्स कोर्टहाउस बाहिर कतिपय प्रदर्शनकारीहरूले मदुरोको समर्थनमा प्लेकार्डहरू प्रदर्शन गरे र भेनेजुएलाको झण्डा फहराए ।

सोही दिन अमेरिकाको न्याय विभागले २५ पृष्ठको अभियोगपत्र सार्वजनिक गर्यो जसमा मदुरो र उनका सहयोगीहरूलाई भेनेजुएलाको सुरक्षा निकायको संरक्षणमा हजारौं टन कोकिन अमेरिका आयात गरेको आरोप लगाइएको छ । अभियोगपत्रमा मदुरोले लागूऔषध तस्करहरूलाई कूटनीतिक राहदानी उपलब्ध गराएको र क्यारिबियाली तथा मध्य अमेरिकाका विन्दुहरू हुँदै अमेरिकामा कोकिन पठाउन लागूऔषध कार्टेलहरूसँग साझेदारी गरेको दाबी गरिएको छ । अभियोगपत्रमा मदुरोले सन् १९९९ देखि नै अमेरिकामा लागूऔषध तस्करी सुरु गरेको दाबी छ ।

दोषी ठहरिएमा मदुरो र उनकी पत्नीले आजीवन कारावासको सजाय भोग्नुपर्ने हुन सक्छ ।

मदुरोको तर्फबाट अमेरिकाका प्रख्यात वकिल ब्यारी जे. पोलाकले प्रतिनिधित्व गरिरहेका छन् । उनका उच्चस्तरीय पक्षहरूमा जुलियन असान्ज र एनरोनका कार्यकारीहरू समावेश छन् । पोलाकले टिप्पणीका लागि गरिएको अनुरोधमा तुरुन्तै कुनै प्रतिक्रिया दिएनन् ।

फ्लोरेसको प्रतिरक्षा ह्युस्टनमा बस्ने वकिल मार्क डनेलीले गरिरहेका छन् । उनी ह्वाइट कलर फौजदारी प्रतिरक्षामा विज्ञ हुन् ।

डनेलीका अनुसार, पक्ष (फ्लोरेस) राम्रो मुडमा छिन् । ‘हामी सरकारसँग भएका प्रमाणहरूको समीक्षा गर्न र तिनलाई चुनौती दिन उत्सुक छौं । हामी अहिले नै हाम्रो पक्ष प्रस्तुत गर्न चाहन्छौं तर हामी उपयुक्त समयमा अदालतमा त्यसो गर्न पर्खनेछौं । प्रथम महिलालाई अगाडिको बाटो लामो छ भन्ने थाहा छ र उनी तयार छिन्,’ उनले थपे ।