सिद्धार्थ बैंकले पायो अग्राधिकार सेयर जारी गर्ने अनुमति


काठमाडौं । सिद्धार्थ बैंकले पनि अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंकलाई सोमबार अग्राधिकार सेयर जारी गर्न अनुमति दिएको हो ।

बोर्डले बैंकलाई ३ अर्ब ५० करोड रुपैयाँबराबरको एसबीएल अविमोच्य अञ्चिति अग्राधिकार सेयर जारी गर्ने अनुमति दिएको छ । यसअनुसार बैंकले अब १०० रुपैयाँ अंकित दरका कुल ३ करोड ५० लाख कित्ता अग्राधिकार सेयर जारी गर्नेछ ।

बैंकको यो अग्राधिकार सेयरको लाभांश दर ८.२५ प्रतिशत छ । जुन मुनाफा भएको वर्षमात्र वितरण गरिन्छ । बैंकको अग्राधिकार सेयरको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । यो सँगै अग्राधिकार सेयर जारी गर्न पाउने कम्पनीको संख्या चार पुगेको छ ।

यसअघि वाणिज्य बैंकतर्फ नबिल बैंक र एनएमबि बैंक तथा विकास बैंकतर्फ कामना सेवा विकास बैंकले अग्राधिकार सेयर जारी गर्ने अनुमति पाइसकेका छन् ।

नबिल बैंकले ५ अर्ब रुपैयाँ, एनएमबि बैंकले ३ अर्ब रुपैयाँ र कामना सेवा विकास बैंकले ३५ करोड रुपैयाँबराबरको अग्राधिकार सेयर ल्याउने अनुमति पाएका थिए ।