विजय लघुवित्तको एफपीओमा आवेदन खुला


काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले सोमबार (पुस २१ गते)देखि एफपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले संस्थापक सर्वसाधारण सेयरधनीहरुको सेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्काशन गरेको हो ।

साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पुँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व ७४.३९ः२५.६१ रहेको थियो ।

सोही अनुपात समायोजन लघुवित्तले एफपीओ निष्काशन गर्न लागेको हो ।

लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण सेयरहरु थप सार्वजनिक निष्काशन गर्न लागेको हो ।

निष्काशन बन्द छिटोमा पुस २४ गते हुनेछ भने ढिलोमा माघ ५ गते हुनेछ । सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी एटदरेट प्रदान गरेको छ । यसले लघुवित्तको समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।