२० वर्षको इतिहासमा पहिलोपटक भ्रष्टाचारका धेरै र ठूला मुद्दा अदालत पुगेः सञ्चारमन्त्री


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले २० वर्षको इतिहासमा पहिलोपटक भ्रष्टाचारका ठूला र धेरै मुद्दाहरु अदालत पुगेको बताएका छन् ।

देशको अर्थतन्त्र उकास्ने उद्देश्यसहित नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा मन्त्री खरेलले यस्तो बताएका हुन्।

‘निर्वाचन नहुने त्रासकाबीच अब निर्वाचन हुन्छ भन्नेमा सबै ढुक्क हुने स्थिति बनेको छ । अब निर्वाचन हुँदैन भने आशंका सायदै कसैमा छैन होला,’ खरेलले भने, ‘निर्वाचनको वातावरण बनाइरहेको यहि बीचमा सायद २० वर्षको इतिहासमै पहिलोटक यति धेरै ठुला र धेरै भ्रष्टाचारका मुद्दा अदालत पुगेका छन् ।’

उनले सरकारले कुनै पनि संवैधानिक निकायलाई हस्तक्षप नगरी काम गर्न दिएको र त्यसले सुशासन कायम गर्ने आधार पनि राम्रो बन्दै गएको बताए । वर्तमान सरकारले सुशासन कायम गर्नका लागि निरन्तर काम गरिरहेको उनको भनाइ छ ।

‘सिंहदरबार, संसद र निजी क्षेत्र जल्दा हामी सबैको मन रोयो । यसको साथमा ३८ अर्ब भन्दा बढीको तपाईंहरुको सम्पत्ति जल्दा नेपालीको मन रोयो,’ खरेलले भने, ‘तर, म निजी क्षेत्रका छाता संगठनलाई धन्यवाद भन्न चाहन्छु किनभने तपाईंहरुले लगानीकर्ताको मनोबल कमजोर हुन दिनु भएको छैन ।’ उनले निजी क्षेत्रलाई कमजोर बनाउने काम सरकारले कहिले नगर्ने बताए ।

Skip This