नेपाल राष्ट्र बैंक ऋणपत्र मार्फत १ वर्षका लागि थप २५ अर्ब तरलता प्रशोचन हुँदै


काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गर्न दोस्रो पटक ‘नेपाल राष्ट्र बैंक ऋणपत्र निष्कासन’ गर्ने भएको छ । बुधबार केन्द्रीय बैंकले १ वर्ष अवधिको २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ख’ नाम दिइएको उक्त ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ । ऋणपत्रमा न्युनतम ५ करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् ।

यसअघि सोमबार केन्द्रीय बैंकले २५ अर्ब रूपैयाँ बराबरकै ऋणपत्र निष्काशन गरिसकेको छ । यससँगै यो उपकरणबाट कुल ५० अर्बको तरलता प्रशोचन गरिएको छ ।

बहुब्याजदरमा बोलकबोल गर्न सकिने ऋणपत्रमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले मात्रै आवेदन दिने सक्नेछन् ।

ऋणपत्रमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।

बैंकहरुमा तरलता कमी भएमा उक्त ऋणपत्र राखेर राष्ट्र बैंकबाट तरलता लिन पाउनेछन् ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले निरन्तर तरलता प्रशोचन गरीरहेको छ । स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरण बोलकबोल मार्फत निरन्तर तरलता प्रशोचन गरीरहेको छ ।

गत साता राष्ट्र बैंक सञ्चालक समितिले ऋणपत्र निष्कासन स्वीकृत गरेसँगै यो साताबाट राष्ट्र बैंकले दिर्घकालिन अवधि (१ वर्ष) को राष्ट्र बैंक ऋणपत्र मार्फत तरलता प्रशोचन गर्न सुरु गरेको हो ।

Skip This