
एजेन्सी । जर्मनीको पश्चिमी भागमा रहेको गेल्सेनकिर्चेन शहरस्थित स्पार्कासे सेभिङ्स बैंकमा चोरीको अनौठो घटना भएको छ ।
त्यस बैंकको ३ हजारभन्दा बढी सेफ डिपोजिट बक्सले भरिएको भल्टलाई फोरेर चोरहरूले ३ करोड युरो बराबरको सम्पत्ति चोरेका छन् । ती बक्सहरूमा त्यस क्षेत्रमा बस्ने विभिन्न परिवारको जीवनभरिको बचत, सुन र बहुमूल्य पुर्ख्यौली सम्पत्तिहरू थिए ।
डिसेम्बर २४ को रात शहरमा क्रिसमस उत्सव मनाउन तयारी चलिरहेको बेलामा चोरहरूले काम थालेका थिए । एउटा ठूलो औद्योगिक स्तरको ड्रिल प्रयोग गरेर उनीहरूले बाक्लो कंक्रिटको पर्खाल भत्काएका थिए । त्यो सम्भवतः भल्टको सुरक्षाको अन्तिम घेरा थियो ।
भल्टसँगै रहेको पार्किङ ग्यारेज र बैंकको सबैभन्दा सुरक्षित कोठाको बीचमा उनीहरूले एउटा गोप्य सुरुङ बनाएका थिए । त्यसबेलासम्म कुनै पनि अलार्म बजेन । कुनै पनि सुरक्षाकर्मी ब्युँझिएनन् र उनीहरूले केही चाल पाएनन् ।
धैर्य, सीप र सटीक योजनाका साथ चोरीको यो षड्यन्त्र बुनिएको थियो ।
डिसेम्बर २९ को बिहान सबेरै बैंकमा फायर अलार्म बजेपछि मात्र प्रहरीले यस चोरीको बारेमा थाहा पाएको थियो । घटनास्थलमा पुगेका दमकलकर्मीहरूले भूमिगत भल्टको पर्खालमा एउटा ठूलो प्वाल फेला पारे ।
भल्टभित्र फुटाइएका बाकसका तखताहरू खाली थिए । लाखौं युरोका नगद, सुनका बिस्कुट, हार, गहना, घडी र अन्य बहुमूल्य सामानहरू रातारात गायब भएका थिए ।
प्रारम्भिक मूल्यांकन अनुसार करिब ३ करोड युरो (५ अर्ब रुपैयाँभन्दा बढी) बराबरको सम्पत्ति हराएको अनुमान गरिएको छ ।
अन्य कतिपयले लुटिएको कुल सम्पत्तिको मूल्य यसभन्दा पनि बढी हुन सक्ने संकेत गरेका छन् । यस चोरीलाई आधुनिक जर्मन इतिहासकै सबैभन्दा ठूलो बैंक डकैतीमध्ये एक मानिएको छ ।
मंगलबार बिहानसम्ममा यसको जानकारी पाएका स्थानीय समुदाय आक्रोशित छन् । सयौं निक्षेपकर्ताहरू जाडोको ठिहीमा बुएर जिल्ला शाखाबाहिर भेला भएर नाराबाजी गर्दै जवाफदेहिता मागिरहेका थिए जुन उनीहरूले अझै पाउन सकेका थिएनन् ।
दंगा नियन्त्रण पोशाकमा रहेका प्रहरीहरूले भीडलाई नियन्त्रणमा राख्ने प्रयास गरिरहेका थिए । मानिसहरू हतास हुँदै कराउँदै थिए, ‘हामी भित्र जान चाहन्छौं ! हामी भित्र जान चाहन्छौं !’
यस्तो तनावपूर्ण अवस्थामा स्पार्कासे बैंकले आफ्ना ढोकाहरू बन्द गरेर हटलाइन स्थापना गरेको छ । प्रभावित ग्राहकहरूलाई उनीहरूको बिमा प्रदायकहरूसँग सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । प्रत्येक बक्सका सामग्रीको १० हजार ३०० युरो बराबरको बिमा गरिएको बैंकले जनाएको छ ।
तर, धेरैजसो स्थानीय परिवारका लागि यो घटना निकै क्रूर रह्यो । उनीहरूले कागजपत्रले भर्पाइ गर्न सक्ने भन्दा धेरै बढी भौतिक क्षति बेहोरेका थिए ।
घटनाको अनुसन्धान गरिरहेका अधिकारीहरूले सानातिना सुराक पछ्याइरहेका छन् । सोमबार बिहान सबेरै नजिकैको पार्किङ ग्यारेजबाट एउटा कालो अडी कार भागिरहेको सीसीटीभी फुटेज उनीहरूको हात परेको छ । सिँढीबाट गह्रौं झोलाहरू बोकेर गइरहेका नकाबधारी व्यक्तिहरू पनि क्यामरामा देखिएका छन् ।
तर, अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । उक्त अडी कारको लाइसेन्स प्लेट पछि २०० किलोमिटर भन्दा टाढा रहेको अर्को सवारीसाधनबाट निकालिएको पत्ता लागेको छ ।








प्रतिक्रिया