जसपा नेपाल र लोसपाबीच एकता गर्ने निर्णय


काठमाडौं । समानुपातिक तर्फको बन्दसूची बुझाउन निर्वाचन आयोगले दिएको समय एक दिन बाँकी रहँदा तराई(मधेशमा बलियो प्रभाव राख्ने दुई शक्तिबीच एकता घोषणा भएको छ ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालबीच आइतबार साँझ एकता घोषणा भएको हो ।

नेताहरूका अनुसार केही महिनाको आन्तरिक गृहकार्य पछि एकता घोषणा भएको हो ।

‘दुवै पार्टीका पदाधिकारीहरूको काठमाडौंमा बसेको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरूलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गरी जसपा नेपाल र लोसपा नेपाल पार्टी एकीकण गर्ने निर्णय गरियो,’ एकताबद्धमा भनिएको छ ।

एकताबारे थप जानकारी भने वक्तव्यमा उल्लेख छैन । विशेषगरी एकीकृत पार्टीको नाम, चिन्ह र नेतृत्वबारे केही नखुलाई वक्तव्य जारी गरिएको छ ।

‘हामी आ–आफ्ना अडानबाट जति पछि हट्न सकिन्छ, त्यति हटेर एक हुने भन्ने निष्कर्षमा पुगेका छौं । त्यसैले धेरै कुरा टुंगिन बाँकी रहँदै एकता घोषणा गरेका हौं,’ उपेन्द्र यादव निकट स्रोतले भन्यो । दुवै पार्टी यसअघि एउटै बनिसकेको पृष्ठभूमि भएकाले पनि बाँकी निर्णयमा समस्या नपर्ने उक्त स्रोतको तर्क छ ।

‘महन्थ ठाकुर सर्वोच्च नेता भएर पार्टी एकता भइसकेकै हो, चुनाव चिन्ह र नाम पनि विगतमा एउटै भएकै हो,’ उपेन्द्र निकट एक नेताले सुनाए । यद्यपि यो एकतापछि भने नाम के राख्ने भन्ने टुंगिन बाँकी रहेको नेताहरू बताउँछन् ।

तर चुनाव चिन्हमा भने सहमति जुटिसकेको नेता मनिष सुमन बताउँछन् ।

‘चुनाव चिन्ह छाता नै हुन्छ, भोलि त्यही चिन्हमा बन्दसूची बुझाउँछौं,’ उनी भन्छन् ।

२०७७ वैशाखमा पनि यी दुई पार्टीबीच एकता भएको थियो, त्यो बेला चिन्ह छाता नै थियो ।