निर्देशित कर्जामा समस्या बढेपछि बैंकका सीईओहरुसँग छलफल गर्दै गभर्नर


काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई छलफलको लागि बोलाएको छ । नियमन विभागको आयोजनामा गभर्नर सहितको उपस्थितिमा राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गर्न लागेको हो ।

बुधबार दिउँसो २ बजे काठमाडौंको एक पाँचतारे होटलमा राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सबै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई छलफलमा बोलाएको विभागका एक कर्मचारीले बताए । राष्ट्र बैंकले तोकेको क्षेत्रमा गरेको लगानी अर्थात् निर्देशित कर्जामा निष्क्रिय कर्जा उच्च देखिएपछि सोही विषयमा छलफल गर्न गभर्नर कै अग्रसरतामा बैंकका सीईओसँग छलफल हुन लागेको हो ।

गभर्नर डा. विश्वनाथ पौडेल गभर्नर नियुक्त भएसँगै निरन्तर रुपमा फिल्ड भिजिटमा निस्किरहेका छन् । उनले स्थानीय स्तरमा नै गएर बैंकको शाखा प्रबन्धक सहित ऋणीसँग प्रत्यक्ष रुपमा जोडिने कर्मचारी, कृषि र साना तथा मझौला व्यवसायीसँग छलफल गरिरहेका छन् । गत असारमा मौद्रिक नीति सार्वजनिक गर्नुअघि गभर्नर पौडेलले पश्चिम नेपालमा मध्यपहाडी राजमार्गको यात्रा गरेका थिए । यस्तै मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा अघि पनि गभर्नर पौडेलले पूर्वी पहाडी क्षेत्र र तराईको समेत भ्रमण गरेका थिए ।

यो साता पनि गभर्नर पौडेल भिजिटमा नै निस्किएका थिए । उनले स्थानीय तहको भ्रमणपछि निर्देशित कर्जा, विशेष गरी कृषि कर्जामा बढीको निष्क्रिय कर्जा र कृषि कर्जालाई कसरी अगाडि बढाउने भनेर छलफल गर्न लागेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । केही समय अघि गभर्नरले एक कार्यक्रममा बैंकहरुले कर्जाको प्रोडक्ट नै परिवर्तन गर्नुपर्ने र स्थानीय रुपमा काम गरेको कर्मचारीसँग छलफल गरेर कर्जाको प्रोडक्ट डिजाइन गर्नुपर्ने बताएका थिए । उनले बैंकका सीईओहरुलाई सम्बोधन गरेर यसमा ध्यान दिन आह्वान गरेका थिए ।

स्थानीय कृषक व्यवसायी लगायतका उद्यम व्यवसायीलाई अहिलेको कर्जा प्रोडक्ट उपयुक्त नभएको भन्दै त्यसका लागि सीईओहरुसँग छलफल गर्ने बताएका थिए । त्यसको २ साता नहुँदै कृषि र निर्देशित कर्जाको विषयमा गभर्नर पौडेलले सीईओहरुसँग छलफल गर्न लागेका हुन् । निर्देशित कर्जामा बढिरहेको निष्क्रिय कर्जा र यसलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा नै छलफल केन्द्रित हुने नियमन विभागले जनाएको छ ।

Skip This