महानगरभित्रका शाखा एकीकरण गर्न राष्ट्र बैंकले खोल्यो बाटो

392
Shares

काठमाडौं । राष्ट्र बैंकहरुले बैंक तथा वित्तीय संस्थाहरुलाई महानगरपालिकाभित्रका शाखा बन्द तथा एकीकरण गर्ने बाटो खोलिदिएको छ ।

बैंकको केन्द्रीय कार्यालय, शाखा वा कुनै किसिमको कार्यालय बन्द गर्ने, स्थानान्तरण गर्ने, समायोजन/गाभ्ने तथा ठेगाना परिवर्तन सम्बन्धी व्यवस्थामा संशोधन गरेको हो ।

बैक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको पूर्वस्वीकृतिबिना शाखा वा कुनै पनि किसिमको कार्यालय बन्द गर्न वा स्थानान्तरण गर्न वा गाभ्न नपाउने तर, बैंकहरुले स्वयम्‌ले निर्णय गरी महानगरपालिका भित्र रहेका शाखा समायोजन गर्न सक्ने व्यवस्था गरेको हो ।

तर, शाखा बन्द गर्दा विद्युतीय भुक्तानी कारोबार बढीरहेको तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयमले महानगरपलिकामा रहेका शाखा समायोजन/एकीकरण गर्न सक्ने निर्देशनमा उल्लेख छ ।

सरकारी निकाय वा सार्वजनिक संस्था लक्षित गरी स्थापना भएको शाखाको हकमा उक्त संस्थाको लिखित सहमति पश्चात् मात्र शाखा समायोजन गर्न सकिने संशोधित निर्देशनमा उल्लेख छ ।

शाखा समायोजन गर्नुपूर्व सरोकारवालाको जानकारीका लागि कम्तिमा ९० (नब्बे) दिनको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिका, सम्बन्धित संस्थाको वेबसाइट र उक्त शाखाको सूचनापाटीमा समेत प्रकाशन गर्नुपर्ने व्यवस्था केन्द्रिय बैंकले गरेको छ । दुई वा सोभन्दा बढी शाखाहरु समायोजन हुने अवस्थामा समायोजन हुने शाखाका ग्राहकले उक्त संस्थाको कर्जा चुक्ता गर्न चाहेमा वा अन्य सेवा बन्द गर्न चाहेमा कुनै पनि प्रकारका शुल्क नलिई कर्जा चुक्ता वा सेवा स्थगित गर्न सक्ने व्यवस्था मिलाउनु पर्ने निर्देशनमा उल्लेख छ ।

समायोजन भन्नाले कुनै बैंक तथा वित्तीय संस्थाको दुई वा दुई भन्दा बढी शाखाहरु एक आपसमा गाभिएर एउटा शाखा कायम हुने अवस्था सम्झनु पर्ने निर्देशनमा उल्लेख छ ।