पुस महिनाका लागि बैंकहरुको ब्याजदर सार्वजनिक, कुनको कति?

266
Shares

काठमाडौं । ब्याजदर घटाउनेक्रमलाई वाणिज्य बैंकहरुले निरन्तरता दिएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि सार्वजनिक गरेको मुद्दति निक्षेपको ब्याजदर पनि घटाएर सार्वजनिक गर्दै ब्याजदर घटाउनेक्रमलाई निरन्तरता दिएका हुन् ।

बैंकहरुले पुस महिनाका लागि पनि ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ ।

पुस महिनाका लागि ५ वाणिज्य बैंकहरूले संस्थागत मुद्दतिको अधिकतम ब्याजदर घटाउँदा १५ बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन् ।

बैंकहरुले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरूको अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशतविन्दु कायम भएको छ । मंसिर महिनामा सो दर ५.०४०५ प्रतिशतविन्दु थियो । अहिले औसत ब्याजदर ०।.२०६५ प्रतिशतविन्दुले घटेको छ ।

१३ बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशतविन्दुले घटाएका छन् । प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशतले र कुमारी बैंकले ०.३८ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन् ।

७ वाणिज्य बैंकहरूले (सिटिजन्स, माछापुच्छ्रे, एनआईसी एशिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंक) मंसिर महिनाकै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् ।

पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले अधिकतम ५.५ प्रतिशतसम्म ब्याज दिनेछन् । सबैभन्दा कम ब्याजदर प्राइम कमर्सियल बैंकले ४.२५ प्रतिशत कायम गरेको छ ।

यसैगरी, संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि मंसिरको तुलनामा पुसमा ०.१३ प्रतिशतविन्दुले घटेको छ ।