सार्वजनिक संस्थानको क्रेडिट रेटिङ अनुसार जोखिम भार, आयात कर्जामा सहजीकरण

56
Shares


काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रस्ट रिसिस्ट (आयात) कर्जाको जोखिम भार घटाएको छ । केन्द्रीय बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाहरुको लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै आयात कर्जामा १२० प्रतिशत रहेको जोखिम भार १०० प्रतिशत बनाएको हो ।

कोभिडपछि आयातमा अध्याधिक वृद्धि हुँदा आयात नियन्त्रण गर्न आर्थिक वर्ष २०७८/७९ मा केन्द्रीय बैंकले आयात कर्जाको जोखिम भार बढाएको थियो । १०० प्रतिशत रहेको जोखिम भार त्यतिबेला बढाएर १२० प्रतिशत बनाएको थियो ।

यस्तै केन्द्रीय बैंकले सार्वजनिक संस्थानको कर्जामा रेटिङ भएको कर्जामा रेटिङ एजेन्सीले औंल्याएको जोखिम अनुसार जोखिम भार निर्धारण हुने भएको छ ।

रेटिङ भएको कर्जामा १०० प्रतिशत जोखिम भार रहने भए पनि अब भने रेटिङ एजेन्सीले औंल्याएको जोखिमको आधारमा जोखिम भार निर्धारण हुने भएको हो ।

‘त्रिपल ए’ रेटिङ भएको कर्जामा ५० प्रतिशत मात्रै जोखिम भार गणाना गर्दा हुने भएको छ । त्यस्तै ‘डबल ए प्लस’ देखि ‘डबल ए माइनस’ रेटिङ भएको कर्जामा ७० प्रतिशत जोखिम भार गणना हुने भएको छ । त्यस्तै ‘ए प्लस’ देखि ‘ए माइनस’ रेटिङ भएमा ८० प्रतिशत र त्यसभन्दा कमजोर रेटिङ र रेटिङ नभएको कर्जामा भने शत् प्रतिशत जोखिम भार गणना गर्नुपर्ने भएको छ।