
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङले गुन बिर्सिएर जुन थालमा खायो त्यही थालमा प्वाल पार्न खोजेको भन्दै आक्रोश पोखेका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले कुलमानको बुद्धि फिर्नुपर्ने उल्लेख गरे ।
‘कुलमानले गुन बिर्सिएर जुन थालमा खायो त्यहि थालमा छेद हाल्न खोजेका छन् । तीनले त्यसो नगरुन् भन्न चाहन्छु,’ प्रचण्डले भने, ‘कुलमानको बुद्धि फिरोस् । बैगुनी भएर तीनले पार पाउने छैनन् । नेपाली जनताले यसो गरे भने तीनलाई धेरै माफ दिन्छन् भन्ने पनि लाग्दैन ।’
प्रचण्डले आफूद्ये दुई–दुई पटक प्रधानमन्त्रीको हिसाबमा कुलमानलाई टिपेर ल्याएर प्राधिकरणको नेतृत्वमा स्थान दिएको भए पनि अहिले कुलमानले त्यसको गुन बिर्सिएको आरोप लगाए ।
‘प्रधानमन्त्रीको हैसियतले मैले टिपेर ल्याएँ, यो मान्छे राम्रो छ भनेर’ प्रचण्डले भने, ‘उनले पहिला–पहिला भनेको पनि हो फेरि प्रचण्डले हो मलाई बनाएको भनेर, कुरा बिर्सिएर अहिले लाजमर्नु । म यो भन्दा बढी भन्दिनँ बिचरा ।’
प्रचण्डले वैगुनी पाराले कुलमानले पार नपाउने र जनताले पनि माफ नगर्ने टिप्पणी गरे । ‘यस्तो बैगुनी भएर तिनले पार पाउने छैनन् । नेपाली जनताले यसो गरे भने तिनलाई धेरै माफ दिन्छ जस्तो मलाई लाग्दैन,’ प्रचण्डले भने ।
आफू प्रधानमन्त्री हुँदा नेपाल विद्युत् प्राधिकरणमा नियुक्त गरेको र लोडसेडिङ हटाउन सम्भव भएको तर कुलमानले त्यो कुरा बिर्सिएको प्रचण्डको आरोप छ ।
आफू नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा नलागि कुलमान घिसिङले बिजुलीको चिम चुनाव चिह्न राखेको दल उज्यालो नेपाल पार्टी खोलेपछि प्रचण्ड उनीसँग रिसाएका हुन् ।







प्रतिक्रिया