
सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीका नेता डा।भीम रावलले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् ।
शनिबार सुर्खेतमा आयोजित नेकपाको एकता सन्देश सभामा बोल्दै उनले नयाँ पुस्ता (जेनजी) को आवाज सुन्नुको साटो दमनमा उत्रिएको र आन्दोलन चर्किएपछि भागेको आरोप लगाए ।
सिंहदरबारमा आगलागी भएको सन्दर्भ कोट्याउँदै रावलले प्रश्न गरे, ‘सिंहदरबारमा आगो लाग्दा प्रधानमन्त्री को थियो ?’
देश सङ्कटमा पर्दा वा आगो लागेका बेला भाग्ने प्रवृत्ति नेतामा हुन नहुने उनको तर्क थियो ।
ओलीप्रति आक्रामक रूपमा प्रस्तुत भएका रावलले भने, ‘केपी ओलीलाई देशको नेता हुँ भन्नु लाज लाग्नुपर्ने हो । देशमा आगो लागेका बेला भाग्ने ? जेनजीका माग सुन्नुपर्नेमा उल्टै दमन गर्ने अनि आन्दोलन भएपछि भाग्ने ? हाम्रा कलिला युवाहरूको आवाजले केपीजी भाग्नुभयो, यो लज्जास्पद र शर्मनाक भयो । अझ अहिले पनि म शक्तिशाली हुँ भन्न सुहाउँदैन ।’
नेता रावलले आफ्नो सम्बोधनका क्रममा कर्णाली प्रदेशका जल्दा बल्दा समस्याहरू पनि उठाए । उनले कर्णाली राजमार्गको दयनीय अवस्था सुधार हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । कर्णालीको स्याउ, यार्सागुम्बा र जडीबुटीको सही सदुपयोग र बजारीकरण हुन नसकेको उनको भनाइ थियो ।
विशेष गरी अपर कर्णाली जलविद्युत आयोजनाको सन्दर्भमा बोल्दै उनले भारतीय कम्पनी जीएमआरको आलोचना गरे ।
‘अपर कर्णालीलाई जीएमआरको जिम्मा लगाइयो तर अहिलेसम्म काम भएको छैन,’ उनले भने, ‘काम नगरी ओगटेर राख्नु भनेको कर्णाली र सुदूरपश्चिमका जनतालाई धोका दिनु हो ।’







प्रतिक्रिया