दण्डक्रम विधिबाट वेदपाठ गरेर भारतीय किशोर देवव्रत रेखेले बनाए इतिहास

350
Shares

एजेन्सी । देवव्रत रेखेले काशीमा ५० दिनसम्म शुद्ध स्मरणशक्ति मात्र उपयोग गर्दै २ हजारवटा वैदिक मन्त्रहरू दण्डक्रम विधिबाट पारायण गरेर इतिहास रचेका छन् ।

गत अक्टोबर १२ देखि नोभेम्बर ३० सम्म काशीमा हिन्दू विचारधाराको अखण्ड, अगाध इतिहास र मानवीय क्षमताको असीम सम्भावनालाई एकसाथ जोड्ने भव्य उत्सव आयोजना भएको थियो ।

महाराष्ट्रका प्रतिभाशाली वेदविद् देवव्रत महेश रेखेले ‘शुक्ल यजुर्वेद’को ‘माध्यन्दिन संहिता’को ‘दण्डक्रम पारायण’ पूरा गरेका हुन् । उनले झण्डै २ हजार मन्त्र ५० दिनसम्म निरन्तर उच्चारण गरे ।

यो उच्चारण पूर्णतः स्मरणशक्ति मात्रबाट गरिएको हो । गुरुकुल परम्परामा वर्षौंको कठोर साधनाबाट मात्र यो सम्भव छ ।

कार्यक्रममा प्रख्यात संस्कृतविद् पद्मश्री गणेश्वर शास्त्री द्रविडका साथै काशी तथा देशका अन्य भागका विद्वान् तथा सन्तहरूको उपस्थितिले शोभा बढाएको थियो । अन्तिम मन्त्रहरूको उच्चारण हुँदा हलभरि भावनात्मक उल्लास छायो र प्रधानमन्त्री नरेन्द्र मोदीसहित सबै कोणबाट प्रशंसा प्राप्त भयो ।

दण्डक्रम पारायण र वेदपाठका विधिहरू
वेदका संहिताहरूमा शब्दावली, व्याकरण र विशेषतः स्वर चिह्नहरू समावेश हुन्छन् ।

प्रत्येक वेद मन्त्र व्याकरण, छन्द र ध्वनिशास्त्र सहितका वेदांगहरूको नियमअनुसार नै उच्चारण हुनुपर्छ । वेदलाई युगौंसम्म मौखिक रूपमा अक्षुण्ण राख्न मन्त्रका शब्दहरूलाई विभिन्न तरिकाले क्रमबद्ध गर्ने जटिल विधिहरू विकसित गरिएका थिए । तिनले मौखिक अभिव्यक्तिमा एक प्रकारको ‘कूटलेखन’ को भूमिका खेल्ने गरेका थिए ।

स्वामी चन्द्रशेखरानन्द सरस्वती ‘महापेरिय’ भन्नुहुन्छ, ‘हाम्रा पूर्वजहरूले लिखित नहुँदा पनि वेदलाई मौलिक रूपमै सुरक्षित राख्न थुप्रै विधिहरू विकास गर्नुभएको थियो । एक अक्षर पनि फेरबदल नहोस्, एक स्वर पनि अशुद्ध नहोस् भनी कठोर नियम बनाउनुभएको थियो । यसो गर्दा मन्त्र उच्चारणका सबै लाभ निरन्तर प्राप्त हुन्थ्यो । शब्दहरू एकअर्कासँग जस्तै माला जसरी गाँसिएका हुन्छन् र तिनलाई अगाडि र पछाडि फर्काएर उच्चारण गर्न सकिन्छ ।’

अहिले आठवटा विधि सहितको वेदपाठ परम्परा प्रचलित छ । दुई सरल (प्राकृत) अर्थात् संहिता र पद तथा ६ कृत्रिम वा विकृत जसको वर्णन यस्तो छ :

‘जटा, माला, शिखा, रेखा, ध्वजो, दण्डो, रथो, घनः ।
अष्टौ विकृतयः प्रोक्ताः क्रमपूर्वा महर्षिभिः ।।’

यी विधिहरू क्रमशः जटिल हुँदै जान्छन् । ऋग्वेद र शुक्ल यजुर्वेदमा दण्डविधि अत्यन्त उपयुक्त भएकाले रेखेले यसै विधिमा पारायण गरे ।

दण्डक्रममा १–२, २–३, ३–२, २–३–४, ४–३, ३–४, ४–५ आदि रूपमा मन्त्रका पदहरू क्रमबद्ध गरिन्छ । यसले झण्डै २५ लाख सम्भावित संयोजनहरू (पद) बनाउँछ जसलाई रेखेले पूर्णतः कण्ठस्थ गरी उच्चारण गरे ।

असाधारण उपलब्धि
एक सफल ‘पारायण’का कठोर नियम हुन्छन् । रेखेले पूरै पाठ स्मरणशक्ति मात्रबाट गर्ने पहिलो नियम पालन गरे । उच्चारणका बीच वा विश्रामका समयमा पनि उनलाई ग्रन्थ हेर्न अनुमति थिएन ।

उच्चारण अत्यन्त कठोर थियो । शब्द वा स्वरमा एक मात्र गल्ती भए पनि पूरा प्रयास असफल मानिने र सुरुदेखि फेरि थाल्नुपर्ने थियो । रेखेले ५० दिनसम्म दैनिक ४–५ घण्टा अविराम रूपमा वेद उच्चारण गरेर यो उपलब्धि हासिल गरे ।

आधुनिक इतिहास हेर्दा यस्ता प्रकारका उपलब्धि केवल तीनपटक मात्र देखिएको छ । करिब २०० वर्षअघि नासिकमा नारायण शास्त्रीले १०० दिनमा यो पारायण पूरा गरेका थिए । गत वर्ष अयोध्यामा सामूहिक रूपमा ऋग्वेदको पारायण ३०० दिनमा सम्पन्न भएको थियो । रेखेको एकल पारायण यस शताब्दीको एक मात्र घटना हो ।

वेद र धर्मको संरक्षण
वेदहरू हिन्दू धर्म र धर्मशास्त्रको आधार हुन् । प्राचीन ग्रन्थअनुसार, ऋषिहरूले ध्यानमा दिव्य नादका रूपमा वेद सुनेका थिए र युगौंसम्म मौखिक परम्परामा संरक्षित गर्दै वेदव्यासले चार संहितामा संकलन गरेका थिए ।

‘वेदोऽखिलो धर्ममूलम्’ अर्थात् वेद नै धर्मको मूल स्रोत हो ।

देवस्तुतिदेखि आरोग्य मन्त्रसम्म, अस्तित्वका परम सत्यदेखि जीवनका नीतिसूत्रसम्म वेदले पाँच हजार वर्षभन्दा बढी समयदेखि हिन्दू सभ्यतालाई टिकाइराखेको छ । यस्ता मन्त्रहरूको अपवित्रता रहित परम्पराको निरन्तरता रेखेजस्ता विद्वान् तथा समर्पित परिवारको प्रयासले सम्भव भएको हो ।

वैदिक साहित्यले भौतिक संसारको शिक्षा पनि दिन्छ । नैतिक आदर्श, परिवारको मूल्यमान्यता, वैज्ञानिक ज्ञान, प्राचीन ज्यामितीय निर्माण, ‘पाइथागोरस प्रमेय’ सहितका गणितीय सिद्धान्त, वास्तुकला सबै वेदांग र सूत्रमा सुरक्षित छन् ।

यस्ता परम्पराहरूको संरक्षणका लागि दण्डक्रमजस्ता प्रयास अत्यन्त महत्त्वपूर्ण छन् ।

मानवीय क्षमताको उत्सव
आजको स्वचालन र कृत्रिम बुद्धिमत्ताको युगमा रेखेले हासिल गरेको उपलब्धिले मानवीय बुद्धि र क्षमताको असीम सम्भावनालाई पुनः पुष्टि गरेको छ । वेदपाठले स्मरणशक्ति, ध्यान, संज्ञानात्मक क्षमता र मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ ।

जटिल क्रममा आधारित पाठ र कण्ठस्थ प्रक्रिया अभ्यास गर्ने वेदविद्हरूमा मस्तिष्कको संरचना घनत्व बढ्ने, स्मरणशक्ति, ध्यान र बुद्धि तीक्ष्ण हुने वैज्ञानिक रूपमा देखिएको छ ।

हिन्दू परम्परा यस्तो मानसिक साधनाबाट भरिपूर्ण छ । सरल पारायणदेखि जटिल ‘अवधान’ सम्मले एकैसाथ धेरै कार्यमा ध्यान केन्द्रित गर्ने कला विकसित गर्छ । यसले मनुष्यलाई दिव्यताको मार्गमा उकास्ने अभ्यासहरू निर्माण गरेको छ ।

परम्पराको संरक्षण
पतञ्जलिका अनुसार, ऋग्वेदका २१ शाखा, यजुर्वेदका १००, सामवेदका १ हजार र अथर्ववेदका ९ शाखा थिए । तर, तीमध्ये धेरै हराइसकेका छन् । मौखिक परम्पराको पुनःस्थापना कठिन छ । त्यसैले बाँकी रहेका परम्परा र संरचनाहरूलाई संरक्षण अत्यावश्यक छ ।

रेखे जस्ता व्यक्तिहरू समाज र परिवार दुवैका उत्पादन हुन् । पिता नै उनका गुरु हुन् र माता प्रेरणाको प्रमुख स्रोत । आगामी पुस्तामा यस्ता मूल्यहरू कायम गर्न आवश्यक छ । भविष्यमा पनि वेदविद् र प्रतिभाहरू जन्माउनका लागि यी मूल्यहरूको निरन्तरता आवश्यक छ ।

हराउँदै गइरहेका वेद पाठशाला र गुरुकुल संरचना जोगाउन लगानी र संरक्षण अत्यावश्यक छ । यसरी मात्र भारतवर्षको पवित्र भूमि भौतिक र आध्यात्मिक उन्नतिको नयाँ शिखरमा पुग्न सक्छ ।

स्वराज्य पत्रिकामा प्रकाशित समृद्ध जोशीको लेखको अनुवाद